५०० र १००० दरका भारु साट्न भारतीय टोली नेपाल आउँदै

  २०७३ माघ २४ गते १७:१९     विकासन्युज

ic_1000_500काठमाडौं । ५०० र १००० दरका भारु साट्नेबारे अध्ययन गर्न भारतीय टोली नेपाल आउने भएको छ । रिजर्भ बैंक अफ इण्डियाको नेतृत्वमा आउने टोलीमा भारत सरकारको समेत प्रतिनिधित्व रहनेछ । ‘नेपालीसँग भएको बैधानिक भारु कसरी साट्ने भन्नेबारे अध्ययन गर्न आरबीआईको टोली चाँडै नेपाल आउँदैछ’, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भने ।

उनले नेपाली टोलीले भारु सटहीको मोडालिटी र नेपालको तयारीबारे भारतलाई ब्रिफिङ गरिसकेको बताउँदै अब भारतीय टोली आफैं अध्ययन गर्न लागेको बताएका हुन् । ‘५०० र १००० दरका भारतीय नोट प्रतिबन्ध लगाउने निर्णय भारत सरकारको हो, त्यसमा आरबीआईको भूमिका छैन, अब उनीहरु आफैं आएर अध्ययन गर्ने भनेका छन्, त्यसको तयारी भैरहेको छ’, गभर्नर डा. नेपालले भने । तर भारतीय टोली कहिले आउने भन्नेबारे चाही उनले केहि बताउन चाहेनन् ।

गभर्नर डा. नेपालले आरबीआई गभर्नर अर्जित पटेलसँग आफ्नो दैनिक दुई चार पटक छलफल भैरहेको पनि जानकारी दिए ।‘अर्जित पटेल मेरा मित्र पनि हुन, उनी आरबीआईको डेप्युटी गभर्नर हुँदा देखि नै मेरो राम्रो सम्बन्ध थियो, अहिले पनि दैनिक दुई चार पटक फोनमा कुरा हुन्छ, भारत सकारात्मक रहेको उनले बताईरहेका छन’, डा. नेपालले व्यवस्थापिका समितिको लेखा समिति बैठकमा भने ।

उनले नेपाली जनताले बैधानिक रुपमा आर्जन गरेको भारतीय रुपैंयाँ सटहीको व्यवस्था गर्न केन्द्रिय बैंकले सबै खाले प्रयास गरेको जानकारी पनि दिएका थिए । केहि समय अघि मात्रै नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तमणी सिवाकोटी नेतृत्वको नेपाली टोलीले भारत पुगेर भारु सटहीबारे जानकारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.