सुबिसु क्यान इन्फोटेक २०१७ सम्पन्न, ३ लाखले गरे इन्फोटेकको अवलोकन

  २०७३ माघ १८ गते १७:२७     विकासन्युज

subisu_can_info_tech_finishकाठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २३औं संस्करणको ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मंगलबार सम्पन्न भएको छ । मेला माघ १३ गतेदेखि ६ दिनसम्म सञ्चालन भएको थियो । महासंघले सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ ।

प्रदर्शनीको अन्तिम दिन मंगलबार मात्रै ५५ हजार ७ सय १३ जनाले इन्फोटेकको अवलोकन गरेका छन् । यस वर्ष कुल ३ लाख १० हजार ९८ जनाले इन्फोटेकको अवलोकन गरेका आयोजकले जनाएका छन् ।

प्रदर्शनीमा सेलिब्रेटी, राजनीतिक दलका नेतृत्ववर्ग, नीति निर्मातालगायत बालकदेखि बृद्धसम्मका सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको थियो । अवलोकनकर्ताको उत्साहप्रद सहभागिता, उनीहरुको प्रतिक्रिया र विशिष्ट व्यक्तित्वहरुको अमूल्य सल्लाह, सुझावले इन्फोटेकलाई आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्न ऊर्जा मिलेको छ ।

ई-नेपाल निर्माणलाई मध्यनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पुर्याउने इन्फोटेकले जनाएको छ ।

आयोजकका अनुसार २३औं संस्करणको ईन्फोटेकमार्फत् नेपालमा थुप्रै नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । जसको बारेमा ईन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, ब्याट्री, सोलार, युपीएस, इन्डक्सन चुलो, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन/ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, पावर बैंक, स्मार्टवाच, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो ।

इन्फोटेकमा विशेषगरी मोबाइल ब्राण्डका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण रहेको थियो । ११ भन्दा बढी मोबाइल ब्राण्डले पछिल्ला मोडलका स्मार्टफोनहरु यसै प्रदर्शनीमार्फत् सार्वनजनिक गरेका छन्  । सुबिसुले यसै इन्फोटेकमार्फत् आफ्नो एचडी च्यानल पनि सार्वजनिक गरेको छ । प्रदर्शनीमा सहभागी कम्पनीहरुले इन्फोटेक अवधिभर आफ्ना वस्तु र सेवामा विशेष छुट र उपहार योजना ल्याएका थिए । त्यसैगरी नेपालमै सफ्टवेयर, सोलुसन्स र सर्भिसेसको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको पनि इन्फोटेकमा विशेष उपस्थिति रहेको थियो ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल रहेका थिए ।

साथै हरेक वर्ष हुँदै आइरहेको क्यान आइसिटी कन्फेरेन्सको १७औं संस्करण माघ १६ र १७ गते होटल सोल्टीमा आयोजना गरिएको थियो । यसपटकको संस्करणको विषय ‘दिगो विकासका लागि आइसिटी’
(आइसिटी फोर डी) रहेको थियो । सो विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै शिक्षा क्षेत्र, आइटी व्यवसायी र व्यवस्थापिक सांसदहरुबीच प्यानल डिस्कसन गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.