प्याब्सन अध्यक्षकै विद्यालयमा नियमविपरीत विदेशी नागरिक प्रिन्सिपल

  २०७३ माघ ११ गते २०:२१     प्रकाश सिलवाल

काठमाडौँ, ११ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष प्रमुख रहेको विद्यालयमै नियमविपरीत विदेशी नागरिकलाई प्रिन्सिपलको जिम्मेवारी दिएको पाइएको छ ।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले तीन दशकअघि खोलेकोे डिल्लीबजारस्थित सूर्योदय आवासीय माध्यामिक विद्यालय, प्याब्सनका पूर्वअध्यक्ष भोजबहादुर शाह संस्थापक रहेको मैतीदेवीस्थित ‘आनन्दभूमि हाई स्कुल’ र प्रेम वलीको ‘ब्ल्यु स्काई पब्लिक स्कुल’ समायोजन गरी नयाँ नामाकरण गरिएको ‘एसएबी पब्लिक स्कुल’मा संयुक्त राज्य अमेरिकाको कोलोराडो निवासी मार्क वाइबर्स गत वर्षदेखि प्रिन्सिपलको भूमिकामा छन् । विद्यालयमा केसी प्रमुख कार्यकारी तथा शाह र वली निर्देशक छन् । सो विद्यालय हाल सूर्योदय एजुकेसन फाउन्डेसनअन्तर्गत सोही स्थानमा सञ्चालित छ ।

लक्ष्यबहादुर केसीLakshya-bahadur-kc

सरकारी कामकाजका लागि साविक सूर्योदयका प्रिन्सिपल केसी नै प्रिन्सिपल रहेको देखाए पनि विद्यालयमा मार्कलाई ‘प्रिन्सिपलको कार्यकक्ष’ र ‘नेमप्लेट’सहित राखिएको छ । विद्यालय समायोजन घोषणाबारे गत चैत २३ गते जारीे प्रेस विज्ञप्तिमा मार्कले प्रिन्सिपलका हैसियतमा हस्ताक्षर गरेका छन् । प्रेस विज्ञप्तिको दोस्रो बुँदामा ‘अन्तर्राष्ट्रिय अध्ययन अध्यापन एवम् शिक्षण सिकाइमा सहजता कायम गर्न अमेरिकी नागरिक मार्क विबर्सलाई प्रिन्सिपलको भूमिका दिँदै उहाँकै शैक्षिक नेतृत्वमा विद्यालयलाई अगाडि बढाइने’ भनी उल्लेख गरिएको थियो ।

दुई वर्षअघि स्वयम्सेवकका रुपमा नेपाल आएका मार्कलाई विद्यालयको शिक्षण पद्धति र अङ्ग्रेजी सुधारका लागि सो जिम्मेवारीमा राखिए पनि त्यो विद्यमान ऐन÷नियमअनुकूल देखिँदैन ।

सरकारले विद्यार्थी कम हुँदै गएका सामुदायिक विद्यालयबीच समायोजनको कार्यक्रम अघि बढाएका बेला निजी (संस्थागत) साना एवम् मझौला विद्यालयबीचको समायोजन कार्य प्रयोगका हिसाबले नमुनायोग्य मानिए पनि यस्तो एकतामा विदेशी लगानी, व्यवस्थापन र शिक्षक भित्र्याउने प्रवृत्ति हुर्कन थालेको सरकारी अधिकारीले जनाएका छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले विदेशी शिक्षक राख्न प्राज्ञिक कामका लागि शिक्षा मन्त्रालयको र कर्मचारीका रुपमा राख्न श्रम विभागको अनिवार्य श्रम स्वीकृति (वर्क परमिट) लिनुपर्ने व्यवस्था रहेको बताए ।

काठमाडौँका जिल्ला शिक्षा अधिकारी जय आचार्य केही निजी विद्यालयले समायोजन गरी नयाँ व्यवस्थापनमा विदेशी नागरिकसहितको सहभागितामा विद्यालय सञ्चालन गर्दा के हुन्छ भनेर सोधे पनि आधिकारिक जानकारी कुनै संस्थाले नदिएको जनाए । उनले कूटनीतिक नियोग मातहत सञ्चालित विद्यालय, विदेशी विश्वविद्यालयसँगको सम्झौता वा ‘वर्क परमिट’ भएको अवस्थामा बाहेक विदेशी प्रिन्सिपल, शिक्षक वा कामदार राख्न नपाउने प्रतिक्रिया दिए ।

सो विद्यालयका प्रमुख कार्यकारी निर्देशक (कार्यकारी अध्यक्ष) केसीले मार्कलाई प्राज्ञिक सल्लाहकार रुपमा ल्याइएको भन्दै उनको वर्क परमिटलगायतको प्रक्रिया सुरु गरिए पनि सरकारी झमेलाका कारण सहमति प्राप्त भइनसकेको दाबी गरे । “विद्यालयको प्रिन्सिपल केसी नै हुनुहुन्छ, अमेरिकी कार्मलाई आलङ्कारिक तथा स्वयम्सेवीरुपमा राखिएको हो । प्रक्रियागत कुनै कमजोरी भए हामी सुधार्छौं, विद्यालयलाई मजबुद र गुणस्तयुक्त बनाउने हाम्रो लक्ष्य हो”, विद्यालयका निर्देशक शाहले भने। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.