कलङ्की–कोटेश्वरका चार पुल निर्माण अन्तिम चरणमा, सडक जस्तै पुल पनि ८ लेनका

  २०७३ माघ ७ गते ११:०९     विकासन्युज

ललितपुर, ७ माघ । निर्माणाधीन कलङ्की–कोटेश्वर सडकमा पर्ने चारवटा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

निर्माणको ९५ प्रतिशत काम सकिएको काठमाडौँ चक्रपथ सडक योजनाले बताएको छ । यो सडक खण्डमा आगामी एक वर्षमा सकिने काममा पुलको कामसमेत रहेको योजनामा कार्यरत इञ्जिनियर रमेश दृष्टिले बताए । उनले भने, ‘रेलिङ राख्ने, फुटपाथ बनाउनेलगायतका काम मात्रै बाँकी छ ।’

कलङ्की (खसीबजार), बल्खु खोला, बागमती खोला र बालकुमारीमा मनोहरा खोलामा गरेर चार स्थानमा पुल निर्माणको काम भइरहेको छ । सडक जस्तै पुल पनि आठलेनको बनाउन लागिएको हो । मुख्य लेन चार र साइड लेन दुई/दुई गरेर आठ लेनको बाटो पुलमा निर्माण भइरहेको छ । पहिले मोटर गुड्ने पुल भएका यी स्थानमा छेउ–छेउबाट थप गरेर आठ लेन गुड्ने बनाउन लागिएको दृष्टि बताए । उनले भने, ‘आठलेन गुड्ने भएपछि पुलमा पनि सडकमा जस्तै जाम हुने छैन ।’

चिनियाँ सहयोगमा निर्माणाधीन चक्रपथको कलङ्की–कोटेश्वर सडकको कुल लागत तीनसय १२ मिलियन युयान रहेको छ । १०.३९ किलोमिटर सडकमा ५ किलोमिटर सडक यो वर्ष र बाँकी ५.३९ किलोमिटर सडक अबको दुई वर्षभित्रमा सम्पन्न हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.