निजगढ विमानस्थलमा सेना परिचालन हुँदै, पाँच बर्षमा बनाइ सक्ने योजना

  २०७३ माघ ६ गते १४:०८     नारायण पौडेल

Nijgadh-Internationl-Airportकाठमाडौं, ६ माघ । सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थलमा सेना परिचालन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा निजगढ अन्तराष्ट्रिय विमानस्थलको प्रारम्भिक काममा सेना खटाउने तयारी अघि बढेको हो ।

‘जंगल कटान, पहुँच मार्ग निर्माण र विमानस्थल वरिपरि निर्माण हुने सडक बनाउन नेपाली सेनालाई दिने तयारी अघि बढेको छ’, पर्यटन मन्त्री जीवन बहादुर शाहीले विकास समिति बैठकमा भने । उनका अनुसार विमानस्थल निर्माण क्षेत्रमा रहेको वन कटान गर्न, त्यसका लागि आवश्यक पहुँच मार्ग बनाउन र  विमानस्थलले ओगट्ने ८० वर्ग किलोमिटर क्षेत्रको बाहिरी सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिन लागिएको हो ।

हाल विमानस्थल निर्माण क्षेत्रको ११० विगाह जमिनको मुआब्जा वितरण प्रक्रिया सुरु हुन लागेको पनि उनले जानकारी दिए । त्यस्तै, १६०० सुकुम्बासी परिवारको घरबासका लागि पनि सरकारले उपयुक्त व्यवस्थानको तयारी गरिरहेको उनको भनाई थियो ।

मन्त्रालयले निजगढ बिमानस्थलको सम्भाव्यता अध्ययन गरेको कोरियाली कम्पनी ल्याण्ड मार्क वल्र्ड वाइडसँग सम्भाव्यताको रिपोर्ट खरिद गर्ने निर्णय पनि गरेको छ । कम्पनीलाई ३५ करोड(३५ लाख अमेरिकी डलर) तिरेर सम्भाव्यता अध्ययन रिपोर्टको स्वामित्व ग्रहण गरिने उनले बताए ।
sia
तत्कालिन सरकारले २०६६ साल फागुन २३ गतेको निर्णयबाट ल्याण्ड मार्क वल्र्ड वाइड नामक कम्पनीलाई बुट मोडलमा निर्माण गर्न दिने भन्दै विस्तृत सम्भाव्यता अध्ययनको जिम्मेवारी दिएको थियो । कम्पनीले २०६८ साल साउन ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।

पुर्व सम्झौता अनुसार सो कम्पनीसँगको सम्झौता टुंगो नलाग्दासम्म नयाँ प्रक्रिया अघि बढाउन नमिल्ने भएकाले ३५ करोड भुक्तानी गरेर निर्माण अघि बढाउन लागिएको हो । ‘मुआब्जा, बस्ती व्यवस्थापन लगायतका सबै काम गर्न सकिन्छ तर डिपिआर बनाउन सक्ने अधिकार हामीसँग छैन, अब एलएमडब्ल्यु कम्पनीको पैसा तिर्छौ, त्यसको प्रक्रिया अघि बढि सक्यो’, मन्त्री शाहीले भने ।

मन्त्री शाहीले आगामी पाँच बर्षभित्रै निर्माण सम्पन्न गर्ने योजनासहित बुट मोडलमा निजगढ विमानस्थल बनाउनु पर्ने पनि बताए ।‘यो विमानस्थल राष्ट्रिय गौरवको मात्रै होइन, महागौरवका आयोजना हो, यसलाई सरकार आफैंले बनाउने भन्दा पनि बुट मोडलमा दिनु पर्छ र पाँच बर्षभित्रै बनाइसक्नुपर्छ’, मन्त्री शाहीले भने ।

बैठकमा बाराका सांसद पुरुषोत्तम पौडेलले विमानस्थल निर्माणका लागि स्थानिय स्तरबाट पुर्ण सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले अझै निर्माणको मोडालिटीमै समस्या हुनु दुःखद पक्ष भएको समेत बताएका थिए । त्यस्तै, रौतहटका सांसद रामकुमार भट्टराईले पाँच बर्षमा निर्माण सम्पन्न गर्ने ठोस योजना अघि सार्नुपर्नेमा जोड दिएका थिए ।

विकास समितिका सभापति रबिन्द्र अधिकारीले निजगढ विमानस्थलको निर्माणले नै देशमा पर्यटनको ढोका खोल्ने बताए । समितिले सो विमानस्थलको निर्माण तत्काल आरम्भ गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.