मधेसबिनाको काठमाडौं कल्पना हुनै सक्दैन – प्रधानमन्त्री

  २०७३ माघ ३ गते १४:२०     विकासन्युज

pm_prachandaकाठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसबिनाको काठमाडौँको कल्पना हुनै नसक्ने बताएका छन् । आइतबार राति अबेर दुबईमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुनेमा जोड दिए ।

हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन भने । प्रधानमन्त्रीले भने– “मधेसका लागि काठमाडौँ र काठमाडौंका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएका छन् । मधेसबिनाको काठमाडौँको कल्पना पनि गर्न सकिँदैन । सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि हो ।”

सरकारको चासो आर्थिक समृद्धि र विप्रेषण महत्वपूर्ण आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले भने – “मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु । कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरु छिटो सम्पन्न गर्न सकिन्छ । तपाइँहरुको पसिनाबाट आर्जेको विप्रेषण कसरी सदुपयोग र लगानी गर्न सकिन्छ । यसका लागि मैले निरन्तर प्रयास गरिराखेको छु ।”

नेपालमा प्राकृतिक टावर (सगरमाथा) रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले मानव निर्मित टावर र प्राकृतिक टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको स्पष्ट पारेका छन् ।

प्रवासी नेपालीसँग प्रधानमन्त्रीले नेपाली व्यवसायीसँग अन्तक्र्रिया गरेका थिए । अन्तक्र्रियामा प्रधानमन्त्रीले भने– “तपाइँहरुले नेपालबाट आएर यहाँ व्यवसाय गर्नुभएको छ । हामी नेपालमा पनि लगानीको वातावरण बनाउन प्रयत्नशील छौँ। त्यसका लागि आगामी मार्च २ र ३ मा काठमाडौंमा लगानी सम्मेलन गर्दैछौँ । तपाइँहरुले पनि नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश लैजान अनुरोध गर्छु ।”

प्रधानमन्त्रीले प्रवासी नेपालीका समस्या प्रत्यक्ष बुझ्ने अवसर पाएको जानकारी दिँदै भने – “तपाइँहरुले आफ्ना समस्या र पीडा राखेका छन् । मैले सरकारको तर्फबाट प्रवासी नेपालीका समस्या समाधानमा निरन्तर कोसिस गरिरहेको छु । अध्यागमनलाई व्यवस्थित गर्ने, गलत काम गर्ने कर्मचारीलाई कारबाही गर्ने, दुबईमा कन्सुलर कार्यालय खोल्ने विषयमा छिट्टै निर्णय लिनेछौँ । सरकार तपाइँहरुको साथमा छ, आवश्यक सहयोगका लागि सक्दो कोसिस हुनेछ ।”

कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले नेपालमा विद्युत् बजारको समस्या नरहेको भन्दै उत्पादित विद्युत् नेपालमै खपत गर्न सकिने र साझा सङ्कल्प गर्ने हो भने १५ वर्षभित्र देशलाई समृद्ध बनाउन सकिने बताए।

सो अवसरमा व्यवसायी र प्रवासी नेपाली कामदारहरुले नेपालको आर्थिक विकास र विदेशमा नेपालीले भोग्नुपरेका विविधि समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.