शीतल निवासलाई विहेको चटारो, राष्ट्रपति र पूर्वराष्ट्रपति सोमबार नाता जोड्दै

  २०७३ माघ २ गते ८:२९     विकासन्युज

2-rastaptiकाठमाडौं २, माघ । शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलार्इ जुराइएको छ ।

निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो ।

दुलाहा बन्न लागेका अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवम् महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुलाहा, दुलहीबीच शीतल निवासमा इन्गेजमेन्ट टिकाटालो भएको थियो ।

विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग केही वर्षदेखि नै चलेको थियो । अध्ययनलगायत कारणले पछि सरेको हो । समावेशीको नमुनासमेत रहेको यस विवाहले पूर्व र वर्तमान राष्ट्रपति परिवारलाई पारिवारिक साइनोमा बाँधेको छ ।

‘विवाहको तयारी लगभग सकिएको छ,’ राष्ट्रपतिका जनसम्पर्क सचिव जीवछ साहले शनिबार कान्तिपुरलाई भने । सोमबार बिहान १० बजे राष्ट्रपति निवासको पुरानो भवनमा वैवाहिक कार्यक्रम राखिएको छ ।

कोसी हलको अघिल्तिरको खाली भागमा जग्गे तयार पारिएको छ । विवाह समारोह झकिझकाउ बनाउने काम भइसकेको छ । तर, स्रोतले दिएको जानकारीअनुसार वैवाहिक कार्यक्रमलाई भने संक्षिप्त र सामान्य नै बनाइएको छ ।

राष्ट्रपति भण्डारीले दुलाहा पक्षलाई पनि बढी तामझाम नगर्न सुझाव दिएको स्रोतले जानकारी दिए । सामाजिक व्यवहार सुधार ऐनमा ५१ जनाभन्दा बढी जन्ती ल्याउन नहुने उल्लेख छ । राष्ट्रपतिका तर्फबाट पनि धेरै निम्तालु छैनन् ।

दुलाहा पक्षलाई पनि ५१ जनाभन्दा बढी जन्ती नल्याउन आग्रह गरिएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र मन्त्रीहरू, राजनीतिक दलका अध्यक्षलाई कार्यक्रममा बोलाइएको छ । निम्तोपत्रमै कुनै नगद वा जिन्सी नल्याउन आग्रहसमेत गरिएको छ । २९ वर्षीय अभिषेक बूढानीलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् ।

इन्जिनियरिङ पढेका अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट समेत उच्च शिक्षा लिएका छन् । निशाकुसुमले भने नयाँदिल्लीबाट एमबीबीएस गरेकी छन् । एमालेका तत्कालीन महासचिव दिवंगत मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी छन् । विवाहकै पूर्वसन्ध्यामा राष्ट्रपति भण्डारीले शनिबार बिहान नक्सालस्थित बालमन्दिरमा आश्रय लिएका बालबच्चालाई भोजन गराएकी थिइन् । उनीहरूलाई शीतल निवासमै बोलाइएको थियो । छोरी निशाकुसुम पनि साथै थिइन् । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.