तीन प्रतिष्ठानका उपकुलपतिका लागि ३० को दरखास्त, आवेदकको कार्ययोजना फाइल खोले स्वास्थ्यमन्त्री गगन थापाले

  २०७३ पुष २९ गते १९:१९     विकासन्युज

gagan_thapaकाठमाडौँ, २९ पुस । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति बन्न पहिलो पटक आह्वान गरेको खुला विज्ञापनमा ३० जनाले निवेदन दिएका छन् ।

मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि एक साताअघि खुला दरखास्त आह्वान गरेको थियो । यसअघि उपकुलपतिमा राजनीतिक नियुक्ति हुँदै आएको थियो ।

आवेदन दिएका चार चिकित्सकले दुई प्रतिष्ठानमा र एक चिकित्सकले तीनै प्रतिष्ठानमा दरखास्त दिएको चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछाने बताए ।

सबैभन्दा बढी १५ जनाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सबैभन्दा कम पाँच जनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने १० जनाले दरखास्त दिएका छन् ।

प्र्रतिष्ठानका सहकुलपति तथा सर्च कमिटी संयोजक स्वास्थ्यमन्त्री गगनकुमार थापा, स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा गीताभक्त जोशी सदस्य रहेको कमिटीले सोमबारदेखि दरखास्त दिएकाहरुको कार्ययोजनाबारे छलफल थाल्ने उपसचिव लामिछानेले जानकारी दिए ।

समितिले दरखास्त दिने ३० जनाले पेस गरेको कार्ययोजनाका आधारमा उपयुक्त व्यक्तिलाई उपकुलपतिका लागि सिफारिस गरेपछि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीले उपकुलपतिको अन्तिम निर्णय गर्नुहुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.