सेवाग्राहीलाई साझा यातायातमा बीस प्रतिशत छुट, शनिबारदेखि लागू हुने

  २०७३ पुष २९ गते १६:५५     विकासन्युज

sajha-yatayatकाठमाडौँ, २९ पुस । साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ । साझाले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमाडौँबाट– वीरगन्ज, भैरहवा र पोखरा बागलुङ रुटमा चल्ने गाडीमा रु २० प्रतिशत भाडा घटाएको हो ।

सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिएका छन् ।

उनका अनुसार नयाँ कायम गरिएको भाडादरमा काठमाडौंदेखि वीरगन्जसम्म यसअघिको ४९० रुपैयाँ बाट घटाएर ३९२ रुपैयाँ, भैरहवाको ५१० रुपैयाँ ट ४०८ रुपैयाँ र पोखराको ३९० रुपैयाँबाट ३१२ रुपैयाँ कायम गरिएको छ । साझाले २०७० वैशाखदेखि १६ वटा र २०७३ मङ्सिर १२ गतेदेखि ३० वटासमेत गरी ४६ वटा बसमार्फत काठमाडौं उपत्यकामा सेवा पुर्याउँदै आएको जनाएको छ ।

साथै साझाले दसैँको अवसरमा गत असोज १६ गतेबाट उपत्यका बाहिरका चार गन्तव्यमा सेवा सुरु गरेकोमा काठमाडौंदेखि गोर्खा रुटमा चल्ने बससेवा विशेष कारणवस हालका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएको छ । साझाले उपत्यका बाहिरका चार रुटमा आठवटा बस सञ्चालन गर्दै आएको थियो । आगामी दिनमा सेवा विस्तार गरी सुविधा सम्पन्न बस थप्ने तयारी भएको साझाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.