एक खर्ब ३० अर्ब ७४ को लागतमा परियोजना ‘आलु जोन’ शुरु

  २०७३ पुष २८ गते १८:२०     विकासन्युज

potatoभक्तपुर, २८ पुस । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) शुरु भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बिहीबार आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा गरेका हुन्। परियोजनाअन्तर्गत यस आवमा जिल्लाका लागि दुई करोड ९५ लाख रुपैयाँको बजेट विनियोजन भएको कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढु्ङ्गानाले जानकारी दिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यसै आवदेखि शुरु भई आगामी २०८२ असारसम्म सञ्चालन हुनेछ ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले देशभर लागू भएको १० वर्षे परियोजनाका लागि कुल एक खर्ब ३० अर्ब ७४ करोड २० लाख रुपैयाँखर्च हुने परियोजना प्रमुख अच्युत ढकालले जानकारी दिएका छन् । चालु आवमा देशभर पाँच अर्ब ७८ करोड ६२ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

“हालसम्म सामूहिक कृषि उत्पादन र बजारीकरण संस्थागत रुपमा नभएकाले आलु जोन कार्यक्रम लागू गरिएको हो,” ढकालले भने । सबै जिल्लामा स्वेच्छिक कृषियोग्य जमिनको एकीकरणमार्फत सामूहिक उत्पादन र बजारीकरणको अवधारणालाई अवलम्बन गरिएको उनको भनाइ छ ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् मुलुकको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने परियोजनाको उद्देश्य रहेको मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक मीनप्रसाद बुढाथोकीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.