३३ किलो सुनको मालिक को हो ? अर्थमन्त्री भन्छन्-‘ह्वेल माछा भए पनि छोडिन्न’

  २०७३ पुष २७ गते १८:१२     विकासन्युज

काठमाडौं, २७ पुस । ‘३३ केजी सुनको मालिक को हो ? यो पहिलो पटक थियो कि अन्तिम पटक, हाम्रा कर्मचारी सरकारको काम गर्दैछन कि अर्कैको ?’ बुधबार यस्तै प्रश्न गर्दै थिए प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा । शर्माको छेवैमा थिए उप प्रधानमन्त्री बिमलेन्द्र नीधि र कृष्णबहादुर महरा ।

gold_programउप प्रधानमन्त्री तथा गृहमन्त्री निधी, उप प्रधान तथा अर्थमन्त्री महरा र पर्यटन मन्त्री जीवन बहादुर शाहीका अगाडी सांसद मात्रै होइन स्वयं कर्मचारी पनि प्रश्न गरिरहेका थिए ।

आखिर ३३ किलो सुनको असली मालिक को हो ? व्यवस्थापिका संसदको अर्थ समितिमा मंगलबारदेखि सुरु भएको थियो ३३ किलो सुन काण्डको बहस जसले बुधबार पनि निरन्तरता पायो ।

तीन जना मन्त्री, अर्थ सचिव, राजश्व सचिव, पर्यटन सचिव, भन्सार विभागका प्रमुख, नागरिक उड्यन प्राधिकरणका प्रमुख र प्रहरीका दुई जना उच्च अधिकारी विज्ञान राज शर्मा र नवराज ढकाल समेत उपस्थित थिए बैठकमा ।

प्रधानमन्त्री कार्यालयका सचिवले मात्रै होइन सबै जसो सांसदहरुले सुनकाण्डको जरो फेला पार्नु पर्ने बताइरहेका थिए । काभ्रेका एमाले सांसद बिदुर सापकोटाले आफूसँग ३५ किलो सुन बोक्ने गाडी नम्बर, सवारी चालक र सुन पुर्याइएको घरको ठेगाना रहेको बताएका थिए । ‘३५ किलो सुन बोक्ने गाडीको नम्बर र त्यो सुन कसको घरमा गयो मलाई त्यो पनि थाहा छ, गाडीको ड्राइभर यतिबेला ज्यानको सुरक्षा खोज्दै भागेका छन्, मैले यस्तो सूचना छ कारवाही गर्नुस भन्दा पनि सुनुवाई भएन, यो कस्तो देश हो ।’

अर्का सांसद हरि ज्ञवालीले सोधे–‘भरियाले सुन बाटोमा फेला पारेको हो र ? नत्र यत्रो परिमाणको सुनको असली मालिक त होला नि ?’ सांसद कमल केडियाले सुन तस्करी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पर्यायवाची शब्द जस्तै बनेकाले नेपालीको बदनामी सुरु भएको बताए ।

सांसद कमला पन्तले पनि सुन तस्करीमा संलग्न उच्चस्तरिय गिरोहको खोजी आत्यावश्यक रहेको बताइन् । पूर्व मन्त्री तथा सांसद सिपी मैनालीले सुन तस्करी रोक्न राजनीतिक प्रतिवद्धता आवश्यक रहेकोमा जोड दिए । सांसद अब्दुल रज्जाकले सुन तस्करीमा वर्तमानदेखि पूर्व मन्त्री समेत जोडिएको भन्दै सबैलाई कारवाहीको माग गरे । उनले भने–‘सुन तस्करीमा अहिलेका मात्रै होइन पुराना मन्त्रीको नाम पनि आइरहेको छ, सबैलाई कारवाही गर्नुपर्छ ।’

अर्थमन्त्री भन्छन–ह्वेल माछा भएपनि छोडिन्न

बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले सुन तस्करीमा संलग्न भूरादेखि ह्वेल माछासम्मलाई नछाड्ने घोषणा गरे । ‘यो काण्डमा सरकार गम्भिर भएको छ, भूरा माछा होस वा ह्वेल माछा नै किन नहोस, जत्रो सुकै माछा भएपनि कारवाही हुन्छ ।’

सिआइबीलाई स्वतन्त्र छानविको सुबिधा

उप प्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधीले सुन पक्रन सफल भएको सिआइबीलाई त्यसको छानविन गर्न दिएको बताए । उनले बिना कुनै हस्तक्षेप सिआइबीलाई काम गर्न दिने र सुन तस्करीको जराे समाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले छानविन र प्राप्त उपलब्धि बारे तत्काल जानकारी दिँदा अपराधीलाई भाग्न सहज हुने भन्दै हाललाई कुनै जानकारी दिने नसकिने समेत स्पष्ट पारेका थिए ।

उच्चस्तरिय छानविन समिति गठन गरः समिति

अर्थ समितिले सुन काण्डको छानविनका लागि उच्चस्तरिय अधिकार सम्पन्न छानविन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.