पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर सहित)

  २०७३ पुष २७ गते १५:०९     विकासन्युज

prithivi_narayan_mala1काठमाडौ, २७ पुस । शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू-भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उनको २५५ औँ जन्मजयन्ती मनाएको हो ।

विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले समेत उनको सालिकमा फूल गुच्छा चढाएर उनको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो ।

सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए । समाजका संस्थापक अध्यक्ष डा उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको मुलुकमा बस्ने नेपालीले उनलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मान्नपर्ने बताए।

राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै उनको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन्। पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताए ।
prithivi_narayan_mala

 

शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गरेका छन्। पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु बताएका छन्। रासस

prithivi_narayan_mala3

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.