वार्षिक ३२ करोड डुवाउँदै चिनियाँ जहाज, एक वर्षमा १०२ उडान, जम्मा ६२२ यात्रुलाई सेवा

  २०७३ पुष २७ गते ९:१९     विकासन्युज

nac-1काठमाडौं २७, पुस । नेपाल वायुसेवा निगमले अनुदान पाएको दुईवटा चिनियाँ जहाजबाट वार्षिक ३२ करोड रुपैयाँ भन्दा बढी घाटा व्यहोरिरहेको छ ।

नेपाल सरकार र चिनियाँ सरकारबीचको दुई पक्षिय सम्झौताबाट भित्रिएको ५८ सिट क्षमताको मोर्डन आर्क (एमए) ६० र १८ सिट क्षमताको वाई १२ ई नामक जहाजले निगमलाई लाभ दिनु त कता हो कता उल्टै जहाज उडाउँदा उडाउँदै पनि वार्षिक घाटा ३२ करोडसम्म घाटा भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चिनियाँ जहाज भित्र्याउन दिएको निर्देशनलाई निगमले घाटा खाएरै भएपनि चिनियाँ जहाज संचालन गर्ने निर्णय गरेको हो । चिनियाँ जहाजकै कारण आन्तरिक उडानतर्फ गत आर्थिक २०७२/७३ मा ३२ करोड ९० लाख रुपैयाँ घाटा गएको छ ।

निगमले घाटामै २ वटा जहाज उडाइरहेको भएपनि सरकारी सम्झौता भैसकेकोले थप चार वटा चिनियाँ जहाज ल्याउने भएको छ । निगमले हाल उडानमा रहेको १८ सिट क्षमताको जहाज एक वर्षमा एक महिना पनि उड्दैन । यो जहाज ल्याएपछि निगमले गत आर्थिक वर्ष २०७२/७३ मा जम्मा १०२ वटा मात्रै उडान गरेको छ । एक वर्षको अवधिमा भएको यो उडानबाट जम्मा ६२२ जना यात्रुले सेवा पाएको निगमले जानकारी दिएको छ । गएको एक वर्षको अवधिमा यो जहाजले जम्मा २६ केजी मात्रै कार्गो बोकेको छ ।
nac-y12
दुई वर्षदेखि उडान गरिरहेको ५८ सिट क्षमताको एमए ६० को पनि हालत उस्तै छ । यो जहाजले पनि एक वर्षको अवधिमा जम्मा ९०६ वटा उडान गरेको छ ।

वाई १२ को तुलनामा यसको उडान दिनमा दुई देखि तीन वटा सम्म भएको छ । यो जहाजले आव २०७२/७३ मा गरेको यो उडानबाट २० हजार ९ सय ६८ जनालाई सेवा दिएको छ । यो उडानबाट २१ हजार नौ सय ६० केजी कार्गोे सेवा पनि दिएको निगमले जानकारी दिएको छ ।

वायुसेवा निगमले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा भने वाई १२ ले ८५ वटा उडान गरेको छ । यो उडानबाट २९५ जनालाई सेवा दिएको छ । एमए ६० ले यो अवधिमा ३०७ वटा उडान गरेर ५ हजार ९०१ जनालाई सेवा दिएको पनि निगमको कमर्सियल विभागले जानकारी दिएको छ ।

निगमका अनुसार चिनियाँ जहाज नेपाली उखान ‘नखाँउ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाउने मुहार’ भनेजस्तै भएको छ । निगमलाई भएकै दुई वटा जहाज खर्च धान्न गाह्रो परेको र निरन्तर घाटामा गइरहेकोले ‘सेतो हात्ती’ भैरहेको उल्लेख छ । भएकै जहाज संचालन गर्न नसकेर निगम डुब्ने अवस्थामा पुग्न लागिसेको समयमा थप चारवटा जहाज ल्याउनुको कुनै तुक नरहेको पनि निगमकै उच्च अधिकारी बताउँछन् । सरकारले निगमलाई अनुदानमा दुईवटा र चिन सरकारकै सहुलियत ऋणमा एक एमए ६० र चार वाई १२ जहाज खरिद गरिदिएको छ ।

निगमलाई डुबाउने नै भएपनि जहाज ल्याउने निर्णय
दुईवटा जहाज संचानलमा घाटामा खाएको र संचालन गर्नै नसक्दा घाँडो बन्न पुगेको भएपनि निगमले अन्तत थप चारवटै चिनियाँ जहाज भित्र्याउँने तयारी भने गरिरहेको छ । निगमले अवको एक डेढ महिनाभित्रमै दुईवटा र त्यसपछि तालिका मिलाएर अर्को दुईवटा चिनियाँ जहाज ल्याउने निर्णय गरेको छ ।

निगम स्रोतले दिएको जानकारी अनुसार चारलाख डलर मूल्यको स्पेयरपार्ट चिनियाँ पक्षले काठमाडौंमा उपलव्ध गराउने, एउटा वाइडबडि र दुईवटा न्यारोबडिको क्षमता भएको एउटा ह्याङ्ग चार अर्ब रुपैयाँसम्ममा निर्माण गरिदिने र निगमले औल्याएका समस्या ९० प्रतिशत समाधान गर्ने सहमति भएपछि थप जहाज ल्याउने निर्णय निगमले गरेको हो ।

निगमका अनुसार प्रशिक्षक पाइलट उपलव्ध गराउने, चिनियाँ भाषाको डकुमेन्ट सबै अंग्रेजीमा उपलब्ध गराउने, वार्षिक रुपमा बीमा शुल्क घटाउने र स्पेयरपार्ट काठमाडौंमा नै उपलब्ध गराउने सहमतिपछि थप चिनियाँ जहाज ल्याउने तालिका बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.