मेलम्ची खानेपानी वितरणका लागि पाइप बिच्छ्याउने काम तीव्र, ७० प्रतिशत काम सम्पन्न

  २०७३ पुष २६ गते १३:५८     विकासन्युज

melamchi_1काठमाडौं, २६ पुस । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाका सडक तथा गल्लीमा पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी बडादसैँसम्म मेलम्ची खानेपानी उपत्यकामा ल्याउने सरकारको योजना छ । उपत्यकामा हरेक घरमा खानेपानी पुर्याउनका लागि छ सय ७० किमि पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म चार सय ७० किमी सडकमा पाइप बिच्छ्याइएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले जानकारी दिएका छन् ।

मेलम्चीबाट सुरुङ हुँदै आएको खानेपानी सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधित भएपछि ६१ किमी मुख्य लाइन निर्माण गर्नुपर्ने हुन्छ । उपत्यकाका ११ ट्यांकीसम्म पानी लैजानका लागि ६१ किमी आवश्यक पर्ने भए पनि हालसम्म ३५ किमी मात्र काम सम्पन्न भएको प्रबन्धक खनालले बताए।

निर्देशनालयले पानी वितरणलाई सहज बनाउनका लागि उपत्यकाका ११ स्थानमा पानी ट्यांकी निर्माण गरेको छ । आरुबारी, महाङ्काल चौर, पानीपोखरी, बाँसबारी, बालाजु, खुमलटार, कटुन्जे, कीर्तिपुर र ठिमीमा नयाँ ट्यांकी तथा अनामनगर र मीनभवनमा रहेको पुरानो ट्यांकीलाई पनि प्रयोग गरिने छ ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले उपत्यकामा असोजभित्र खानेपानी ल्याउने गरी मन्त्रालय जुटिरहेको बताएका छन् । उनले भने, “लामो समयदेखिको उपत्यकावासीको चाहना पूरा गर्न हामी दिनरात खटिरहेका छौँ ।”रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.