सेयर बजारले अर्थतन्त्रमा पुर्याएको योगदान गणना गर्दै केन्द्रीय तथ्याङ्क विभाग, आर्थिक गणना गर्न बिजनेश डाइरेक्टरी बनाईदै

  २०७३ पुष २५ गते १३:४६     विकासन्युज

directorio-empresarialकाठमाडौं, २५ पुस । केन्द्रीय तथ्याङ्क विभागले सेयर बजार र यसले अर्थतन्त्रमा परेको योगदानका बारेमा अध्ययन तथा गणना गर्ने भएको छ । राष्ट्र निर्माणमा सेयर बजार तथा ब्रोकरहरुको के कति योगदान रहेको छ भन्ने जानकारी पाउन विभागले गणना गर्न लागेको हो ।

अबको केही दिनमै उक्त गणना शुरु हुने विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए । ‘प्रश्नावली तयार भइसकेको छ, उनले भने ‘ अब विद्युतीय सिष्टम तयार हुने वित्तिकै हामी नेपाल स्टक एक्ञ्चेन्जमा प्रश्नावली पठाउँछौ ।’ यसमा सेयर ब्रोकर कम्पनीहरुले गर्ने कारोबार तथा उनीहरुले गर्ने खर्च तथा कमिशन, कर लगायतका विषयहरु समेत समेटिने छन्,’ उनले भने ।

हामीले सिष्टम बनाएर पठाउने वित्तिकै नेप्सेले केही थप्नु पर्ने विषय भएमा थप गरी सात दिन भित्र ब्रोकरहरुलाई आफूले गरेको कारोबार अपलोड गर्न लगाउने छ । विभागले आगामी आवमा गर्ने भनेको समष्टिगत आर्थिक गणनका आधारहरु तय गर्न सेयर बजार तथा ब्रोकरहरुको अध्ययन तथा गणना गर्न लागेको हो ।

यसअघि यस्तो गणना गरिएको थिएन । विभागले आर्थिक सर्वेक्षणको लागि विगत दुई वर्षदेखि यस्ता क्षेत्रको अध्ययन तथा अनुसन्धान एवम् पहिचान गर्दै गणना गरिरहेको छ ।

विभागले आगामी आर्थिक वर्षमा देशभित्रका सम्पूर्ण आर्थिक क्रियाकलापकाम क्षेत्रलाई समेटेर आर्थिक गणना गर्ने तयारी गरेको छ । विभागले सो गणना अर्थतन्त्रको आकार, स्वरूप तथा संरचनाको यथार्थ विवरण पत्ता लगाउन सो गणना गर्न लागेको हो । ‘कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गणना हुँदै आएका बाहेक अन्य क्षेत्रको समेत गणना गरिनेछ,’ उनले भने ‘गणनामा साना हुन् या ठूला सबै आर्थिक क्रियाकलापको पूर्ण गणना हुनेछ ।’ देशको अर्थतन्त्रको ‘बेञ्चमार्क’ गर्न समष्टिगत आर्थिक सर्वेक्षण गर्ने तयारी गरेको उनले बताए ।

आर्थिक गणनाको लागि प्रश्नावली तयार भइरसकेको उनले जानकारी दिए । विभिन्न चरणमा सरोकारवालहरुसँग छलफल भइसकेको छ भने कतिपयसँग छलफलको क्रममा रहेको छ । समष्टिगत तथ्याङ्क देश निर्माणको आधारशिला भएकाले यसबाट नेपालको वास्तविक अर्थतन्त्रबारे जानकारी विभागका उपमहानिर्देशक डा. रुद्र सुवाल बताउँछन् । यसबाट सबै क्षेत्रको कारोबारको अवस्थासमेत पत्ता लाग्ने उनले बताए ।

विभागले हालसम्म पालोपालो गर्दै गरेको टुक्रे सर्वेक्षणलाई आधार मानेर जीडीपीको गणना गर्दै आएको छ । यस्तो सर्वेक्षणले सबै क्षेत्रलाई समेट्न नसकेकाले समष्टिगत आर्थिक गणना बढी भरपर्दो हुने उनले बताए । जीडीपीमा समग्र आर्थिक क्षेत्रको योगदान के कति छ भनी वास्तविक तथ्याङ्क पत्ता लगाउन सो गणना गर्न लागेको सुवालले बताए । हाल जीडीपी गणनामा उत्पादनमूलक क्षेत्रमात्र समेटिएकाले यस्तो गणना आवश्यक भएको विभागको भनाइ छ । जीडीपी गणनाबारे उब्जिएका विवादहरूको समाधान गर्न विभागले यस्तो गणना गर्न लागेको सुवालले बताए ।

यस्तो गणनामा आर्थिक क्रियाकलाप हुने हरेक क्षेत्रलाई समेटिनेछ । विभागका अनुसार गणनाका लागि सर्वेयरहरू चियारनाङ्लो पसलदेखि ठूलो उत्पादन तथा व्यापारिक केन्द्र, वित्तीय संस्थान, कन्सल्टेन्सीलगायत क्षेत्रमा पुग्नेछन् । जीडीपीमा कृषि तथा वन भनी एउटा क्षेत्रलाई बुझाए पनि यसभित्र धेरै उपक्षेत्रहरूको पनि छुट्टाछुट्टै गणना गरिने बताइएको छ । आर्थिक गणनाबाट ती क्षेत्रको जीडीपीमा रहेको योगदानको स्पष्ट र वास्तविक तथ्याङ्क पत्ता लाग्ने उनले बताए ।

आर्थिक गणना गर्न बिजनेश डाइरेक्टरी

आर्थिक सर्वेक्षणको तयारीका लागि विभागले पहिलो चरणमा ‘बिजनेश डाइरेक्टरी’ निकाल्ने भएको छ । उद्योग प्रतिष्ठानको नाम, ठेगाना, प्रतिष्ठान प्रमुख तथा कार्यालयको सम्पर्क नम्बर तथा प्रतिष्ठानले गर्ने कार्यलगायत सबै जानकारी त्यस्तो डाइरेक्टरीमा समेटिने र जसले गर्दा आर्थिक गणना गर्न सजिलो हुने सुवालले बताए । उनका अनुसार डाइरेक्टरीमा देशमा सञ्चालित सबै क्षेत्रका उद्योग व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क पनि समेटिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.