बाहिरी चक्रपथमा २२ सालको नापी लफडा, तयारी अन्तिम चरणमा

  २०७३ पुष २४ गते १६:४०     नारायण पौडेल

काठमाडौं, २४ पुस । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टका रुपमा अघि बढाउने भनिएको चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरमा नापीको समस्या देखिएको छ । बि.स. २०२२ सालको नापी अनुसार स्थानियले जमिन भोगचलन गर्दै आएको र पछिल्लो नापी प्रणाली अनुसार नक्सा मिलान नभएपछि आयोजनाको काम अघि बढ्न नसकेको हो ।

outter_ring_road_2

‘२२ सालको नापीले बनाएको नक्सालाई अहिलेको प्रबिधीले म्याच गरेन, कसैको जमिन कहाँ पुर्यो भने कसैको जमिनै घटेको पनि देखियो, त्यसको मिलान गर्ने काम भैरहेको छ’, बाहिरी चक्रपथ सडक आयोजनाका अधिकृत ध्रुबप्रसाद सापकोटाले भने ।

पुरानो नापीका कारण किर्तिपुर पाँगा, बालकुमारी, मच्छेगाउँ, बलम्बु ४ ख, मातातिर्थ ४ ग, थानकोट महादेवस्थान २ ग र तीनथाना १ ख को जमिन एकिन गर्न मुस्किल भएको हो । ‘जहाँ जहाँ नक्सा एकिन गर्न मुस्किल भएको हो, त्यहाँ काम भैरहेको छ, त्यो सुल्झिने वित्तिकै सूचना निकालेर जमिन रोक्का गर्छाै’, आयोजना प्रमुख दिकप श्रेष्ठले विकासन्युजसँग भने ।

outer_ringroad-1

निर्माणाधिन बाहिरी चक्रपथ सडकको चोभार सतुंगल खण्ड

कुल ७१ दशमलब ९३ किलोमिटर लामो बाहिरी चक्रपथको पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल क्षेत्रको निर्माण आरम्भ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आयोजनाले सो खण्डको डिपिआर स्विकृतीका लागि मन्त्रालयमा पठाईसकेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको आयोजनाले जग्गा एकिकरणको काम गर्नेछ भने सडक बिभागले सडक निर्माणको काम गर्नेछ ।आयोजनाले चालु आर्थिक बर्षका लागि एक करोड बजेट पाएको छ । ‘एक करोड बजेट बिनियोजन भएको छ, त्यसले काम सुरु गछौं, अर्थमन्त्रालयले २५ करोडसम्म दिन सक्छौं भनेको छ’, आयोजना प्रमुख श्रेष्ठले भने ।

उता, सडक विभागले पनि सोही आयोजनाका लागि ४ करोड बजेट पाएको छ । विभागका उप महानिर्देशक दयाकान्त झाले जग्गा अधिग्रहणको काम सुरु हुने वित्तिकै आफुहरुले सडक निर्माण थाल्ने बताए ।

बाहिरी चक्रपथ आयोजनाको ५८ किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) सन २००६ सालमै तयार भएको थियो । टोखादेखि गोकर्णेश्वरसम्मको १२ किलोमिटर क्षेत्रको डिपिआर भने अझै बन्न सकेको छैन् । आयोजनाले एक महिना भित्रै चोभारदेखि सतुंगल क्षेत्रमा जग्गाको कित्ताकाट तथा नयाँ भवन निर्माणमा रोक लगाउन लागेको हो ।

सो खण्डको ८ हजार ९ सय ५६ रोपनी जमिन अधिग्रहण गर्नेछ । सो क्षेत्रफलमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमटिर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ । ‘पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको चोभार सतुंगल क्षेत्रले कुल आयोजनाको २६ दशमलब ४९ प्रतिशत हिस्सा ओगट्छ, भूकम्पले कम क्षति गरेको भुभागका रुपमा यो क्षेत्रबाट काम थाल्न लागिएको हो’, आयोजनाका शाखा अधिकृत सापकोटाले विकासन्युजसँग भने ।

कस्तो हुनेछ सडक ?
बाहिरी चक्रपथ आयोजनाको मुल सडक ५० मिटर चौडा हुनेछ । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०÷२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । यसरी तयार पारिएको खाली जमिनमा जग्गा एकिकरणको काम गरिनेछ । जस अनुसार जमिन अधिग्रहणमा परेका सबै नागरिकले केहि हिस्सा बाटोका लागि योगदान गर्नुपर्नेछ भने बाँकी जमिन फिर्ता प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.