छिटो विहाव हुने गरेकोले विवाह गर्ने उमेर पुग्दासम्म सम्बन्ध विच्छेद

  २०७३ पुष २० गते ८:३४     विकासन्युज

लिबाङ (रोल्पा) २०, पुस । धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी हुन्।
विवाहपछि एकअर्काका बीचमा अनेक चाहना र बाध्यताहरु सुरु हुन थाले। विवाह भएको करिव २ वर्षमै डाँगीले २०७३ साल मङ्सिर २७ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरिन्।marriage-1

डाँगीका अनुसार २०७१ साल फागनुमा उनका श्रीमान् वैदेशिक रोजगारीका लागि बिदेसिएर फोनबाटै गालीगलौज गर्ने, घरमा खर्च नपठाउने, फोनबाटै मेरो घर तुरुन्त छोड भन्ने जस्ता शब्द प्रयोग गरेर डर धम्की दिने गर्न थालेपछि डाँगी अन्तमा सम्बन्ध विच्छेदको निर्णयमा पुगेकी हुन्। हाल उनले दर्ता गराएको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ।

राङ्सी–५ रोल्पाकी दीपा घर्तीमगरले आजभन्दा ८ वर्ष पहिले १५ वर्षको कलिलो उमेरमा कोर्चाबाङ–७ रोल्पाका खडकबहादुर घर्तीसँग प्रेम विवाह गरेकी थिइन्। १६ वर्षको उमेरमा आमा बनेकी घर्तीले आफ्नो अध्ययनलाई ४र५ कक्षाभन्दा माथि उठाउन सकिनन्। दुबैको मञ्जुरीमा प्रेम विवाह गरेकी घर्तीका पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गए। दिनभरि काम गर्दा पनि श्रीमान्ले पेटभर खान नदिएको, रातदिन कुटपिट गर्ने गरेको, वैदेशिक रोजगारीमा पुगेपछि आफू र आफ्नो बच्चाको बेवास्ता गरेको तथा विभिन्न किसिमका घरेलु हिंसा गरेको भन्दै न्यायको ढोका ढक्ढक्याउन उनी पटक पटक इलाका प्रहरी कार्यालय घर्तीगाउँमा पुगिन्।

पटकपटक घर्तीगाउँ प्रहरीले श्रीमान् श्रीमतीका बीचमा मेलमिलाप गराएर पठायो। तर स्थायी रुपमा उहाँहरुका बीचमा सुमधुर सम्बन्ध कायम हुन सकेन। अन्तमा घर्ती सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा पुगिन्।

त्यसैगरी, कोटगाउँ–७ रोल्पाका १७ वर्षीया कमला बुढा र कोर्चाबाङ गाविस–२ रोल्पाका २० वर्षीय समीर बुढाबीच २०७० साल भदौ २५ प्रेम विवाह सम्पन्न भएको हो। बुढा दम्पतीका बीचमा पनि सुमधुर सम्बन्ध कायम हुन सकेन। विसं २०७१ असोज १० गते पारिवारिक झगडा भएपछि माइतीघरमै बस्दै आएकी श्रीमती कमला बुढाले २०७३ साल साउन १९ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराइन्। राजधानी दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.