बैशाख ७ गतेदेखि अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला, ३०० वटा स्टल रहने

  २०७३ पुष १३ गते १६:४०     विकासन्युज

काठमाडौं, १३ पुस । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल १३औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि आयोजना गर्ने भएको छ । उक्त मेला आगामी २०७४ साल बैशाख ७ देखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । महासंघले साना उद्योगहरूलाई प्रविधिको खाँचो हुन नदिन र प्रविधि विकास गर्नेहरूलाई प्रोत्साहन गर्न सकिने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको बताएको छ ।

13th_international_industri

मेलामा प्रद्धर्शन गर्न लायकका सबै खोज, अनुसन्धान तथा आविष्कारहरूलाई प्रद्धर्शित गराउने यस पटकको मेलाको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएका छन् । साथै, छिमेकी मुलुक चीन, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरूमा विकास गरिएका प्रविधिहरूलाई पनि मेलामा सहभागि गराइने र यसबाट नेपालका अनुसन्धानकर्ताहरूलाई थप ज्ञान र सीप प्राप्त हुने महासंघको अपेक्षा रहेको छ । यसका लागि नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, रिकास्ट र विश्वविद्यालयहरूसँग सहकार्य गरिने महासंघले जनाएको छ  ।

महासंघका अध्यक्ष श्याम गिरीका अनुसार मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिने र मुलुकको औद्योगिकरणले वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरिनेछ । उद्यमी र उद्यमी, अन्वेषणकर्ता र उद्यमीबीच अन्तरक्रिया एवं छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका थप आकर्षण हुनेछन् ।

महासंघका अनुसार उक्त प्रदर्शनीमा ३०० वटा स्टल रहने छन् । साथै, मेलामा एक लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.