स्टक ब्रोकर कम्पनी किन नथप्ने ? ब्रोकरको काम वाणिज्य बैंकलाई किन ?

  २०७३ पुष १२ गते १०:५१     नारायण सापकोटा

narayan_sapkota१२ पुस । अहिले स्टक ब्रोकरको काम वाणिज्य बैंकहरुलाई पनि दिनुपर्ने पक्ष र विपक्षमा बहस सुरु भएको छ । वाणिज्य बैंकको सहायक कम्पनी स्थापना गरेर स्टक ब्रोकरको काम दिएपनि केही बिग्रदैन । अहिलेको अवस्था भन्दा त राम्रो नै हुन्छ ।

ब्रोकरको काम बैंकलाई दिने प्रयास सहि र उत्तम होइन । वाणिज्य बैंकका सहायक कम्पनीलाई स्टक ब्रोकर बनाउँदा उनीहरुले दिने सेवाले बजारको आवश्यकता धान्दैन ।

सहि र उत्तम बाटो भनेको अहिले संंचालनमा रहेका स्टक ब्रोकरको क्षमता बढाउनु हो । ब्रोकरको लाईसेन्स खुला गर्नु हो । ब्रोकर कम्पनीलाई पुँजी, प्रविधि र जनशत्तिका हिसावमा अहिलेको भन्दा गुणात्मक रुपमा विकास गर्नु हो ।

अनलाईन कारोवार सुरु गरेर स्टक ब्रोकरको कारोवार गर्न चाहनेलाई खुरुक्क अनुमति दिनुपर्ने एजेण्डातर्फ ध्यान नदिई अन्य विषयमा वहस सुरु भएको छ । अहिले नेपालको स्टक मार्केटको पहिलो आवश्यकता हो प्रविधि सहितको आधुनिकता । यो आधुनिकता ल्याउ“छ सेयरको अनलाईन कारोवारले । अनलाईन कारोवार सुरु गर्ने र लाईसेन्सको आवदेन गर्नेलाई स्टक ब्रोकरको लाईसेन्स दिने व्यवस्था हुने वित्तिकै नेपालको स्टक मार्केट आधुनिक युगमा प्रवेश गर्नेछ ।
स्टक ब्रोकर स्थापना गर्न चाहनेका लागि निश्चित पुँजी लगानी पर्ने व्यवस्था आवश्यक छ । नेपालको पुँजी बजार २० खर्ब रुपैयाँ बराबर हुन लागिसक्यो । दैनिक २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भईसक्यो । राम्रो कारोबार गर्ने कम्पनीले दैनिक १० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार गर्छन । दैनिक १० करोड कारोबार गर्ने कम्पनीले बर्षमा कम्तिमा २५ अर्ब रुपैयाँको कारोबार गर्न सक्छ । वार्षिक २५ अर्ब रुपैयाँको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम १ अर्ब रुपैयाँ किन नबनाउने ? नेपाल धित्रोपत्र बोर्डले ब्रोकर कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब बनाएर लाईसेन्स खुला गरोस त, कतिवटा आवेदन पर्छ ? खुला बजार अर्थनीति लिएको सरकारले किन कोटा तोकेर लाईसेन्स वितरण गर्छ ?

स्टक ब्रोकर स्वयंम नै एक ठूलो कम्पनी हुन आवश्यक छ । बैंकको सहायक कम्पनी होइन, वाणिज्य बैंकहरु भन्दा ठूलो र सक्षम स्टक ब्रोकर आवश्यक छ । बैंकहरु भन्दा ठूलो कम्पनीलाई स्टक ब्रोकरको लाईसेन्स दिने व्यवस्था आवश्यक छ । ब्रोकर कम्पनीलाई पनि सर्वसाधारणको सेयर रहने पब्लिक कम्पनी बन्न सक्छ ।

यस्ता स्टक ब्रोकरले मार्जिन लेन्डिङको काम गर्ने छन् । लगानीकर्ताले सम्पूर्ण सूचना उपलव्ध गराउनु पर्ने हुन्छ । वाणिज्य बैंकलाई स्टक ब्रोकरको लाईसेन्स दिनुभन्दा असीमित संख्यामा ब्रोकरको लाईसेन्स खुला गरेर ठूला र सक्षम कम्पनीलाई बजारमा प्रवेश गराउन जरुरी छ । यसका लागि न्यूनतम पु“जी, प्रविधि र जनशक्तिको योग्यता तोक्न जरुरी हुन्छ ।

अनलाईन कारोवार र असीमित संख्यामा कम्पनीलाई स्टक ब्रोकरको लाईसेन्स दिएपछि प्रतिस्पर्धा सुरु हुन्छ । ब्रोकर कम्पनीहरु नै शुल्क घटाएर लगानीकर्ता आकर्षित गर्न थाल्छन् । सरकारले प्रतिस्पर्धाको वातावरण बनाउने हो । ब्रोकर शुल्क घटाउने वा बनाउने काम सरकारको होइन ।

स्टक ब्रोकरको काम सूचिकृत सबै कम्पनीका सबै वित्तिय विवरण आफ्ना लगानीकर्तालाई हेर्न चाहेको बखत उपलव्ध गराउनु पनि हो । लगानीकर्ताले चाहेको बखत सूचिकृत कम्पनीको विवरण र विश्वभरका समाचार लगानीकर्तालाई तत्कालै उपलव्ध गराउने काम पनि स्टक ब्रोकरले गर्नुपर्छ । यस्तो सेवा दिने विषयमा वहस पनि शुरु भएको छैन ।

ब्रोकरहरुले लगानीकर्तालाई सूचना दिने, जानकारी लिने, लगानीकर्तालाई लाभको बातावरण बनाउने र लगानीकर्तालाई आकर्षिक गर्ने काम गरेको छैनन् । केबल कारोवार गरेवापत शुल्क लिन्छन् । प्रयाप्त जानकारी विना लगानी गर्ने लगानीकर्ता ढुब्छ । तर ब्रोकर कम्पनी कुनै कामै नगरी कारोबार शुल्क असुल्छ ।

स्टक ब्रोकरको नियन्त्रित लाईसेन्स खुला गर्ने हो भने अहिलेका ब्रोकरको कार्यालयमा कोही पनि जान नपर्ने, घरमा वा विदेशमा जहाँ बसेर पनि कारोबार गर्न सक्ने बातावरण ब्रोकर कम्पनीले नै बनाउने छन् । ब्रोकर कम्पनीलाई व्यवसायिक बन्न र प्रतिस्पर्धात्मक बन्न बातावरण बनाइदिनुपर्छ । त्यस्तो अवस्थामा वाणिज्य बैंकहरुलाई स्टक ब्रोकरको लाईसेन्स दिने कि नदिने वहस निरर्थक हुन आउँछ ।

अनलाईन कारोवार सुरु गर्ने हो भने इन्टरनेटको सुविधा पुगेको कुनै पनि नेपालको भू–भाग र विश्वको कुनै पनि कुनाबाट नेपालका कम्पनीको सेयर कारोवार गर्न सकिन्छ । अहिले शाखा खोल्ने विषय पनि निरर्थक छ । लाईसेन्स खुला गर्ने वित्तिकै विजनेश बढाउन ब्रोकर आफैं देशभर पुग्छन् । उसैपनि अनलाईन कारोवार सुरु हुने वित्तिकै इन्टरनेट पुगेको ठाउ“बाट कारोवार थालिहल्छन् ।

हुन त अनलाईन कारोवार सुरु गर्नका लागि सरकारी स्वामित्वको स्टक एक्सचेन्ज बाधक छ । यसले अत्याधुनिक सुविधासहितको काम गर्न सक्ने अवस्था छैन । त्यसकारण यसको विकल्प भनेको नीजि क्षेत्रको सहभागितामा अत्याधुनिक स्टक कम्पनी स्थापना गर्नु नै हो । सेयर बजारमा आधुनिक र अनलाईन कारोवार सुरु भैसकेपछि दुई स्टकलाई मर्जगरे हुन्छ । यसो नगरि सरकारी स्वामित्वको स्टकबाट अनलाईन कारोवार सुरु हुन धेरै वर्ष लाग्छ ।

उसैपनि नेपालको सेयर बजार विश्वबाट अलग्गै बसेको टापु हो । विदेशी लगानीको त कुरै छोडौं, गैरआवासिय नेपालीको लगानी समेत नेपालको सेयर बजारमा आकर्षित हुन सकेको छैन । विदेशी लगानीका आंशिक रुपमा भएपनि खुला गर्दै गैरआवासिय नेपालीको लगानी मुलुकमा भित्र्याउने सहज माध्यम सेयरको अनलाईन कारोवार हो । यसका लागि स्टक ब्रोकर कम्पनी हरेक हिसावले बलियो र प्रभावकारी हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.