सुरुङ र फ्लाईओभर बनाउन छुट्टै विभाग, नागढुंगा-नौबिसे सुरुङ र कलंकीको फ्लाईओभर बनाउने

  २०७३ पुष ११ गते ११:०३     विकासन्युज

nagdhunga_naubiseकाठमाडौं, ११ पुस । सरकारले सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि छुट्टै संरचना बनाउने भएको छ । नेपालको सडक विकासमा सुरुङ तथा फ्लाईओभर निर्माण नयाँ काम भएकाले त्यसलाई सहज बनाउन छुट्टै संयन्त्र गठनको तयारी थालिएको हो ।‘हामीले उर्जाका परियोजनाहरुमा सुरुङ निर्माणको अभ्यास गरेका छौं, मेलम्ची खानेपानीमा पनि सुरुङ बनिरहेको छ तर सडकमा त्यस्तो काम भएको छैन, अब त्यसका लागि छुट्टै विभाग बनाउने तयारी गर्दैछौं’, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने ।

उनले दक्ष प्राबिधिकका साथमा त्यस्तो विभागलाई आवश्कयता अनुसार विदेशी विज्ञ समेत राख्ने व्यवस्था मिलाईनेछ । नेपालले हालसम्म सडक पुर्वाधारमा आधारित सुरुङ मार्ग बनाएको छैन् । त्यस्तै नेपालमा हालसम्म फ्लाईओभर समेत बनाउन सकेको छैन् ।

तत्काल सुरुङ मार्ग र फ्लाईओभर बनाउनु पर्दा त्यसका लागि दक्ष जनशक्तिको समेत अभाव रहेको मन्त्रि लेखकले बताए । ‘अहिले हामीसँग सुरुङ मार्ग बनाउनका लागि जाने बुझेको प्राबिधिक जनशक्ति पनि छैन, अब जनशक्ति उत्पादन र व्यवस्थापनसहित त्यस्तो निकाय गठन हुन्छ, जसले सुरुङ र फ्लाईओभरको काम गर्छ’, मन्त्रि लेखकले भने ।
व्यवस्थापिका संसदको विकास समितिले पनि सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि छुट्टै विभाग गठन गर्न निर्देशन दिएको थियो ।‘हामीले सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि दक्ष जनशक्तिसहितको छुट्टै विभाग बनाउन निर्देशन दिएका थियौं, त्यसको प्रक्रिया सुरु भएको खबरले हर्षित बनाएको छ, अब नेपालका लागि जटिल मानिएका त्यस्ता काम पनि सहजै अघि बढ्छ’, विकास समितिका सभापति रबिन्द्र अधिकारीले भने ।

हाल भौतिक मन्त्रालयले सडक विभाग मार्फत सडक र रेल विभाग मार्फत रेल निर्माणको काम अघि बढाएको छ ।
हालसम्म सुरुङ र फ्लाईओभर पनि सडक विभागबाटै हेरिँदै आएको थियो । सरकारले नागढुंगादेखि नौबिसेको सिस्ने खोलासम्म सुरुङ मार्ग र कलंकीमा फ्लाईओभर निर्माण प्रक्रिया अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.