विश्व बैंकद्धारा पाँच अर्ब ९४ करोड ऋण सहयोग, ग्रामीण अर्थतन्त्रलाई सवल बनाउने

  २०७३ पुष ४ गते १५:५०     विकासन्युज

worldbankकाठमाडौं, ४ पुस । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप पाँच अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार उक्त रकम परियोजनाअन्तर्गतका सडक र पुल विकास, संस्थागत सवलीकरण तथा परियोजना कार्यान्वयन र सवलीकरण अभिवृद्धिमा खर्च गरिने जनाइएको छ । परियोजनाका समयमा विभिन्न २१ वटा क्रियाकलाप गरिने र परियोजनाको समाप्तिसँगै विभिन्न ३१ जिल्लामा बाह्रै महिना सडक पहुँच, यात्रा समयमा कटौती र आर्थिक केन्द्रको सुधार तथा सामाजिक सेवा पुग्ने विश्वास लिइएको छ ।

परियोजना कार्यान्वयका क्रममा ७०० किमी सडकको स्तरोन्नति र दुई हजार ५५० किमी रणनीतिक सडक मर्मत गरिने अर्थमन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गको सडक विभागले कार्यान्वयन गर्ने उक्त आयोजनामार्फत गत वर्षको भूकम्पमा भत्किएका पुल एवम् विभिन्न ३३ वटा रणनीतिक पुल प्रतिस्थापन गरिने छ ।

सम्झौतापछि महाशाखा प्रमुख अर्यालले विश्व बैंकबाट प्राप्त हुने रकमले ग्रामीण अर्थतन्त्रलाई सवल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसले समग्र यातायात प्रणालीमा सुधार आउने बताएका छन्। त्यसैगरी विश्व बैंकका प्रबन्धक कामाताले सडक विस्तारसँग त्यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरेका छन् ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.