उद्योगको कुल उत्पादन क्षमताको ४८.२ प्रतिशत मात्र उपयोग, औद्योगिक पूर्वाधार विकास नहुँदा उद्योगहरु क्षमताभन्दा न्यून उत्पादन गर्न बाध्य

  २०७३ मंसिर ३० गते २२:०९     विकासन्युज

काठमाडौं, ३० मंसिर । अार्थिक वर्ष २०७२/७३ मा उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ४८.२ प्रतिशत मात्र उपयोग गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । नेपालको ४७ जिल्लामा भएका आर्थिक गतिविधि सम्बन्धि अध्ययनले आधाभन्दा कम क्षमता उद्योगहरु सञ्चालन भएको देखाएको हो । अघिल्लो वर्ष उद्योगहरुले ५२.७ प्रतिशत औसत क्षमता उपयोग रहेको थिए ।

समीक्षा अवधिमा पश्मिनाले सबैभन्दा बढी ८८ प्रतिशत क्षमता उपयोग गरेको छ । चाउचाउ ८३.३० र बिजुलीको तार उत्पादन गर्ने उद्योगले ७२.५६ प्रतिशत क्षमता उपयोग गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अवधिमा चामल उद्योगले सबैभन्दा कम १३.६ प्रतिशत क्षमता उपयोग गरेको छ ।

सिद्धार्थ सिमेन्ट उद्योग

सिद्धार्थ सिमेन्ट उद्योग

फलामको रड, पेय पदार्थ उद्योगले क्रमशः १९.८२ र २३.१६ प्रतिशत क्षमताको उपयोग गरेका छन् । गत वर्ष सीमा नाका बन्द तथा अवरोधका कारण उद्योग सञ्चालनको लागि आवश्यक इन्धन तथा कच्चा पदार्थको आपूर्ति नहुँदा उद्योगहरु पूर्ण क्षमता सञ्चालन हुन नपाएका हुन् ।

ऊर्जा समस्याको दीर्घकालीन समाधान, उद्योगहरुको प्रतिस्पर्धी क्षमता अभिवृद्धि, व्यवसायी एवम् श्रमिकबीच सुमधुर श्रम सम्बन्ध तथा औद्योगिक पूर्वाधार विकास नहुँदा उद्योगहरु क्षमताभन्दा न्यून उत्पादन गर्न वाध्य भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्ता पक्षहरुमा अपेक्षित कार्य हुन नसक्दा उद्योग क्षेत्रले गति लिन नसकेको राष्ट्र बैंकको ठम्याई छ । तुलनात्मक लाभका वस्तुहरु भनि पहिचान गरिएका वस्तुहरुको समेत लागत प्रभावी उत्पादन गर्न नसकेको अध्ययनले देखाएको छ । अन्तराष्ट्रिय बजारमा यस्ता वस्तुहरुको निर्यात प्रवद्र्धन गरी अपेक्षित लाभ हासिल गर्ने कार्य चुनौतीको रुपमा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले ४७ जिल्लामा गरेको आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७० ले कृषि क्षेत्रको समग्र अवस्थामा सामान्य गिरावट आएको तथ्याङ्क प्रस्तुत गरेको छ । कृषि तर्फ प्रमुख खाद्यान्न बाली धानको उत्पादन ८, गहुँको उत्पादन ६ प्रतिशतले ह्रास आएको छ ।

समीक्षा वर्षमा वनस्पती घ्यू तथा तेल, अन्य खाद्य पदार्थ, पेय पदार्थ, दुग्ध पदार्थ, सूर्तिजन्य वस्तु, कागज, प्रशोधित छाला, जुटका सामान, रंग, सावुन, सिमेन्ट, फलामको छड तथा पत्ति र घरेलु धातुका सामान आदिको उत्पादनमा ह्रास आएको छ । मकैको उत्पादन ३.४ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । तयारी कपडा, पश्मिना, औषधि र प्लाष्टिकजन्य वस्तुलगायतका उत्पादन बढेको छ ।

उद्योगको क्षमतामा ह्रास आएपनि उद्योगहरुले बैंक तथा वित्तीय संस्थाबाट लिने औद्योगिक कर्जामा भने १९.५ प्रीतशतले बृद्धि भएको छ । गएको आवसम्म ५ खर्ब २९ अर्ब २७ करोड रुपैयाा कृषि कर्जा पुगेकोे छ । गएको वर्ष धानको उत्पादन औसतमा प्रति हेक्टर ३ दशमलव ३ मेट्रिक टन, मकैको उत्पादन २.७ मेटन, गहुँको उत्पादन २.४ मेटन र आलुको उत्पादकत्व प्रति हेक्टर १३.२२ मेटन रहेको छ ।

क्षेत्रगत रुपमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी धान र आलु फलेको छ । विराटनगर र वीरगञ्जमा मकै र नेपालगञ्जमा गहुँ बढी फलेको प्रतिवेदनमा उल्लेख गरिएको छ । समीक्षा अवधिमा दुधको उत्पादन ३.१ मासुको उत्पादन ४.७ र अण्डको उत्पादन १९ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको प्रवाहित कृषि कर्जामा २७.५ प्रतिशतले वृद्धि भई ८४ अर्ब ९९ करोड पुगेको छ ।

समीक्षा अवधिमा घरजग्गाको रजिष्ट्रेशन बढेका कारण राजस्वमा उल्लेख्य वृद्धि भएको छ । गएको वर्ष काठमाडौंमा ४४.१, धनगढीमा १०.३, वीरगञ्जमा ८.१, पोखरामा ४.७, नेपालगञ्जमा २.२ प्रतिशतले घरजग्गाको जरिष्ट्रेशन बढेको छ । विराटनगरमा ८.८, जनकपुरमा १७.४र सिद्धार्थनगरमा शुन्य दशमलव ७ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.