सिक्टा सिँचाइ आयोजनाको ६० प्रतिशत काम सकियो, निमार्ण कार्य सकिन अझै दुई वर्ष लाग्ने

  २०७३ मंसिर २८ गते १४:४२     विकासन्युज

काठमाडौं, २८ मंसिर । सिक्टा सिँचाइ आयोजनको ६० प्रतिशत काम सकिएको छ । लगातार काम हुन सके अर्थात काममा कुनै अवरोध नआए आयोजना निर्माण कार्य अबको २ वर्षमा सम्पन्न हुने सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । ‘आयोजनाको अब १० किलोमिटर मूल नहर र शाखा तथा उपशाखा नहरहरुमात्र निर्माण गर्न वाँकी रहेकोले यथा अवस्थामा काम हुन सकेमा अबको २ वर्षमा आयोजना सम्पन्न हुन्छ,’ सिँचाइ मन्त्रालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख सागरकुमार राईले भने । शाखा तथा उपशाखा नहर बन्न समय नलाग्ने उनको भनाइ छ । आयोजनाको १७ दशमलव ७ र १७ दशमलव ३ किमी मूल नहर निर्माण कार्य भने सम्पन्न भइसकेको छ । उक्त सिँचाइ आयोजना निर्माण कार्य सम्पन्न भएपछि वाँके जिल्लाका ३४ जिल्लाका किसानहरु लाभान्वित हुने छन् ।

sikta_sichai

राप्ती नदीमा ३ सय १७ मिटर बाँध निर्माण गरी दायाँतर्फका करीब ३३ हजार ७ सय ६६ र बायाँतर्फको ९ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसहित आयोजना निर्माण कार्य शुरू गरिएको हो । ‘बाँके जिल्लाको ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य जमीनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण कार्य शुरू गरिएको उक्त आयोजनाको शाखा नहर सिङ्घानिया भने गत आवमै सञ्चालनमा आइसकेको छ ।

राष्ट्रिय गौरवका आयोजना सिक्टाको निर्माण लागत हाल बढेर २५ अर्ब २ करोडको पुगेको छ । समयमा आयोजना सम्पन्न हुन नसक्दा आयोजना लागत बढेर दोब्बर भएको हो । सरकारले आर्थिक वर्ष २०६३/६४ मा गुरुयोजना स्वीकृत गर्दा यसको अनुमानित लागत रू. १२ अर्ब ८० करोड थियो । हाल उक्त आयोजनाको लागत बढेर दोब्बर भएको राईले जानकारी दिए । आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा देखिएको स्थानीयको अवरोधका कारण आयोजनाको लागत र समय दुवै बढेको हो । उक्त आयोजनामा हालसम्म १३ अर्ब रुपैयाँ खर्च भइसकेको राईले बताए ।

आयोजना निर्माणका लागि जग्गा अधिग्रहण, निर्माण सामग्रीको उपलब्धता तथा उत्खननमा समस्या आएका कारण बेलाबेलामा निर्माण कार्यसमेत रोकिएकोले आयोजना निर्माण कार्य ढिला भएको राईले बताए । ‘आयोजना शुरू भएको १० वर्षमा सम्पन्न गर्ने गरी थालिए पनि जग्गा मुआब्जामा देखिएको विवादका कारण निर्माण कार्य पछि धकेलिएको हो,’ उनले भने, ‘आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै दुई वर्ष लाग्छ ।’

१४ वर्षअघि वि सं २०५९ मा यूरोपेली सङ्घले सिक्टा सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त अध्ययन प्रतिवेदनमा आयोजना निर्माण लागत रू. ७ अर्ब ४५ करोड र ७ वर्षमा सम्पन्न गर्न सकिने उल्लेख गरिएको छ । तर, सो अवधिमा आयोजना निर्माण लागत करीब साढे ३ गुणाभन्दा बढीले वृद्धि भएको छ ।

आयोजनाको शुरुको अनुमानित लागत         रू. १२८० करोड
संशोधित लागत                                             रू. २५०२ करोड
हालसम्म भएको खर्च                                     रू. १३०० करोड
सिँचाइ हुने क्षेत्र                                              ४२७६६ हेक्टर
बनाउन बाँकी मूल नहर                                    १० किमी (शाखा र उपशाखा नहर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.