नेपाल औद्योगिक विकास बैंकले शुरु गर्यो इनर्जी इफिसियन्सी कार्यक्रम

  २०७३ मंसिर २४ गते १९:१३     विकासन्युज

काठमाडौं, २४ मंसिर । नेपाल औद्योगिक विकास बैंक (एनआईडीसी)ले शुक्रबार इनर्जी इफिसिएन्सी प्रोग्राम शुभारम्भ गरेको छ । २० लाख रुपैयाँको उक्त कार्यक्रम जर्मन सरकारको सहयोगमा शुक्रबारदेखि शुरु गरिएको हो । अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । कम ऊर्जा खपतबाट बढी उपयोगिता लिनका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यस कार्यक्रम अन्तरगत विज्ञहरुको सहयोगमा छनोट गरिएका विभिन्न ४० ओटा उद्योगहरुमा कम ऊर्जा खपत गर्ने सम्बन्धि विभिन्न उपयोगी प्राविधिक ज्ञानहरु सिकाइने छ । एनआईडीसीले उक्त कार्यक्रम शुरु गर्नका लागि विभिन्न पाँच फरक क्षेत्रका उद्योगहरु पनि छनोट गरिसकेको छ । सिमेन्ट, स्टील, होटललगायतका उद्योग व्यवसायहरुले दुई वर्षको अवधिमा उक्त सेवा पाउने छन् । कार्यक्रममा छानिएका त्यस्ता उद्योग तथा व्यवसायले १० देखि २० प्रतिशतसम्म अनुदानमा ऊर्जा खपत कार्यक्रमको सेवा पाउने छन् ।

कार्यक्रममा सचिव खनालले यसले विभिन्न उद्योग तथा व्यवसायमा ऊर्जा खपत कम गराइ वातावरण सुधारमा उल्लेख्य योगदान पुग्ने बताए । ‘ठूला उद्योगहरुलाई कार्यक्रमले दिने सेवाबाट ऊर्जा खपत गरी मुनाफा बढाउन सक्ने छन्,’ उनले भने । कार्यक्रममा जर्मन विकास संस्थाकी प्रमुख ज्याकलिन ग्रोथले कार्यक्रम सफलताको कामना गरेकी छिन् । यस कार्यक्रमबाट नेपाल अर्थतन्त्र निर्माणमा ठूलो टेवा मिल्ने विश्वास लिएको उनले बताईन् ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष चुडामणि शर्माले कार्यक्रमले क्षमता अभिवृद्धि गर्नुका साथै कम खर्चमा बढी उत्पादन गर्न सक्ने बताए । यस्तो कार्यक्रम नेपालका लागि धेरै महत्वपूर्ण भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.