एक महिना भित्रै यसरी सुरु हुँदैछ बाहिरी चक्रपथको निर्माण(फोटो फिचरसहित)

  २०७३ मंसिर २४ गते १५:५२     नारायण पौडेल

काठमाडौं, २४ मंसिर । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको काम आगामी एक महिना भित्रै सुरु हुने भएको छ । कुल ७१ दशमलब ९३ किलोमिटर लामो बाहिरी चक्रपथ सडक आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटर सडकको काम थाल्न लागेको हो । ‘एक महिना भित्र चोभार–सुंगल खण्डको जग्गा अधिग्रहण प्रक्रिया सुरु हुन्छ, त्यसका लागि सो खण्डको डिपिआर स्विकृत गराउन मन्त्रालयमा पठाईसकेका छौं, १५ दिनभित्रै स्विकृत हुने जवाफ आएको छ’, नव नियुक्त बाहिरी चक्रपथ आयोजनाका प्रमुख दिपक श्रेष्ठले विकासन्युजसँग भने ।

outter_ring_road_2
श्रेष्ठले मंसिर १० गते आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने १२ गते जग्गा अधिकग्रहण गर्ने निर्णय गराएका थिए । उनले दुई बर्ष भित्रै सो खण्डको काम सक्ने र अन्य क्षेत्रका लागि खण्ड खण्डमा बिभाजन गरेर एकै पटक थाल्ने जानकारी दिए । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको आयोजनाले जग्गा एकिकरणको काम गर्नेछ भने सडक बिभागले सडक निर्माणको काम गर्नेछ ।

आयोजनाले चालु आर्थिक बर्षका लागि एक करोड बजेट पाएको छ । ‘एक करोड बजेट बिनियोजन भएको छ, त्यसले काम सुरु गछौं, अर्थमन्त्रालयले २५ करोडसम्म दिन सक्छौं भनेको छ’, आयोजना प्रमुख श्रेष्ठले भने । उता, सडक विभागले पनि सोही आयोजनाका लागि ४ करोड बजेट पाएको छ । विभागका उप महानिर्देशक दयाकान्त झाले जग्गा अधिग्रहणको काम सुरु हुने वित्तिकै आफुहरुले सडक निर्माण थाल्ने बताए ।

outter_ring_road_1
बाहिरी चक्रपथ आयोजनाको ५८ किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) सन २००६ सालमै तयार भएको थियो । टोखादेखि गोकर्णेश्वरसम्मको १२ किलोमिटर क्षेत्रको डिपिआर भने अझै बन्न सकेको छैन् । आयोजनाले एक महिना भित्रै चोभारदेखि सतुंगल क्षेत्रमा जग्गाको कित्ताकाट तथा नयाँ भवन निर्माणमा रोक लगाउन लागेको हो । सो खण्डको ८ हजार ९ सय ५६ रोपनी जमिन अधिग्रहण गर्नेछ । सो क्षेत्रफलमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमटिर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ । ‘पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको चोभार सतुंगल क्षेत्रले कुल आयोजनाको २६ दशमलब ४९ प्रतिशत हिस्सा ओगट्छ, भूकम्पले कम क्षति गरेको भुभागका रुपमा यो क्षेत्रबाट काम थाल्न लागिएको हो’, आयोजनाका शाखा अधिकृत ध्रुव प्रसाद सापकोटाले विकासन्युजसँग भने ।

outter_ring_road
बाहिरी चक्रपथ आयोजनाको निर्माण आरम्भ भएको १० बर्षभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । त्यसका लागि एक लाख रोपनी जमिन अधिग्रहण गर्नुपर्नेछ । बाहिरी चक्रपथ आयोजनाको मुल सडक ५० मिटर चौडा हुनेछ । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०/२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । यसरी तयार पारिएको खाली जमिनमा जग्गा एकिकरणको काम गरिनेछ । जस अनुसार जमिन अधिग्रहणमा परेका सबै नागरिकले केहि हिस्सा बाटोका लागि योगदान गर्नुपर्नेछ भने बाँकी जमिन फिर्ता प्राप्त गर्नेछन् ।

chovar_satungal
‘एक परिवारले ७ दशमलब ८ प्रतिशत जमिन सडकका लागि योगदान गर्नुपर्छ, बाँकी जमिन जग्गा एकिकरणको रोडम्याप अनुसार फिर्ता हुन्छ, कुनै पनि नागरिकको उठिबास लाग्दैन’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने । चार लेनको सडकमा फुटपाथ, साइकल लेन र ठुला सवारीका लागि छुट्टै लेनको समेत व्यवस्था गरिएको हुनेछ । यसरी निर्माण हुने बाहिरी चक्रपथ आयोजनाले उपत्यकाको कुल जमिनको १० प्रतिशतलाई व्यवस्थित शहरीकरणमा रुपान्तरण गर्ने आयोजनाका शाखा अधिकृत सापकोटाले जानकारी दिए ।

यो सडकमा चार वटा फ्लाईओभर समेत निर्माण गरिनेछ । जसमा अरनिको राजमार्ग, त्रिभुवन राजपथ, फास्ट ट्रयाक, पासाङल्यामु सडकमा फ्लाईओभर निर्माण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.