असर्फी बनाएर बेचिन्छ प्रहरीले बरामद गरेको अबैध सुन, सर्बसाधारणाकाे विश्वास यसैमा

  २०७३ मंसिर २४ गते १४:३१     विकासन्युज

asarfiकाठमाडौं, २४ मंसिर । समय समयमा नेपाल प्रहरीले सुन बरामद गर्यो भनेर समाचारहरु आउने गरेका छन् तर ती बरामद भएका सुन कहाँ राखिन्छ र त्यो सुनको उपयोग कसरी गरिन्छ भन्ने विषय धेरैलाई जानकारी नहोला ।

राजस्व अनुसन्धान विभाग मार्फत नेपाल प्रहरीले समय समयमा बरामद गरेको सुन नेपाल राष्ट्र बैंकको मुद्रण विभाग अन्तर्गतको टक्सार महाशाखामा जम्मा हुने गरेको छ ।

सो सुन राष्ट्र बैंकले असर्फी बनाएर बेच्ने गरेको छ । हाल राष्ट्र बैंकसँग प्रहरीले बरामद गरेको सुन ६ क्वीन्टल (६ सय किलो) रहेको छ । शुक्रबारको मुल्यमा गणना गर्ने हो भने सो सुन २ अर्व ७२ करोड ६३ लाख रुपैयाँ बराबरको हुन आउछ । शुक्रबार प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको छ ।

पछिल्लो तीन वर्षमा प्रहरीले २८३ किलो अर्थात् एक अर्व २० करोड मुल्य बराबरको सुन बरामद गरेको छ । ती सबै सुन टक्सार महाशाखामा राखिएको छ । बरामद सुन महाशाखाले ६०० डिग्री तापक्रममा उमालेर पगाल्छ र इट्टा आकारको बनाएर राख्ने गरेको छ । जसबाट बर्षेनी सुनका असर्फीहरु बनाएर टक्सार महाशाखाबाट सर्वसाधरणलाई बिक्री गरिन्छ ।

चालु आर्थिक वर्षमा मात्र महाशाखाले ७ हजार सुनका असर्फी छापेको छ । सो असर्फी दश ग्रामका ३ हजार र ५ ग्रामका चार हजार वटा छापेको छ । ती असर्फी सर्वसाधरणले बढीमा चारवटा सम्म किन्न पाउनेछन् । दश ग्रामको मुल्यमा ५०० रुपैयाँ जोडेर प्रति असर्फीको मुल्य तोकिएको हुन्छ । जुन अन्तराष्ट्रिय स्तरको सुनको भाउमा नै किनबेच हुने गरेको छ ।

यहाँबाट बिक्री भएका सुनका असर्फी असली सुन (२४ क्यारेट) नै हुने भएकोले सर्वसाधरण असर्फी किन्नको लागि टक्सारमा आउने गरेका् राष्ट्र बैंक अन्तरगतकाे टंक्सर कार्यालयले जनाएकाे छ । चालु आर्थिक वर्षदेखि भने असर्फी छपाइ बढाउने विषयमा राष्टबैंकले छलफल गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.