क्लिन फिड कार्यान्वयनमा कानुनी समस्या, ५ अर्बको विज्ञापन बजार अनिश्चित समय गुम्दै

  २०७३ मंसिर २४ गते १०:१२     विकासन्युज

indian_tvकाठमाडौं, २४ मंसिर । विदेशी टेलिभिजन च्यानलमा विज्ञापन रहित प्रसारण सेवा(क्लिन फिड) कार्यान्वयनमा कानुनी समस्या देखिएको छ । नयाँ कानुन निर्माण नगरि क्लिन फिड कार्यान्वयन गर्न नसकिने देखिएसँगै ५ अर्बको विज्ञापन बजार अझै अनिश्चत समय गुम्ने भएको हो ।

नेपालको आन्तरिक विज्ञापन बजारलाई बढाउन तथा सम्भावित सांस्कृति अतिक्रमणलाई रोक्न भन्दै केपी ओली नेतृत्वको अघिल्लो सरकारले २०७३ साउन ७ गते गरेको क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेको थियो । ओली सरकारले आगामी आर्थिक बर्ष अर्थात २०७४ साउन १ गतेदेखि क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

‘हामीले जुन कानुनमा टेकेर केलब प्रसारकहरुलाई विदेशी च्यानल प्रसारण गर्ने अनुमति दिएका छौं, त्यसले क्लिन फिडका बारेमा केहि भनेको छैन, अब कार्यान्वयन गर्ने हो भने कानुन संसोधन गर्नु पर्छ’, सूचना तथा सञ्चार मन्त्रालयका सह सचिव रामचन्द्र ढकालले विकासन्युजसँग भने । उनले क्लिन फिड कार्यान्वयनका लागि नयाँ फिड निर्माण गर्नु पर्ने र त्यसका लागि नेपालले आग्रह गरेर विदेशी च्यानलहरुलाई अनुरोध समेत गर्नुपर्ने अवस्था रहेको पनि बताए ।

क्लिन फिड कार्यान्वयनमा ल्याउन सकिए नेपाली विज्ञापन क्षेत्रका लागि ठुलो बजार प्राप्त हुने बताउँदै उनले भने–‘१० बर्षको प्रयासपछि क्लिन फिड कार्यान्वयन गर्ने नीति त बन्यो तर त्यसको पुर्वाधार बनाउन अझै केहि समय लाग्छ, यो नीतिको कार्यान्वयन अत्यन्तै आवश्यक छ, मन्त्रालयले काम गरिरहेको पनि छ ।’विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले भने वर्तमान सरकारले क्लिन फिड कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाए ।

वर्तमान सरकारको अनिच्छाले पाँच अर्बको विज्ञापन व्यवसाय फेरी पनि गुम्ने अवस्था सृजना भएको उनको आरोप छ । ‘क्लिन फिड कार्यान्वयनका लागि कर्मचारीतन्त्र तयार देखिएको छ तर वर्तमान सरकारले चासो दिएन’, विज्ञापन संघका अध्यक्ष श्रेष्ठले विकासन्युजसँग गुनासो पोखे । हाल नेपालको बार्षिक विज्ञापन बजार ५ अर्ब रुपैंयाँ रहेको छ ।

क्लिन फिड कार्यान्वयनमा आउँदा पहिलो बर्ष नै पाँच अर्बको विज्ञापन नेपाली व्यवसायीका हातमा पर्छ । यसले राज्यलाई समेत ठुलो मात्रामा राजश्वको जोहो गरिदिन्छ । त्यति मात्रै होइन भारतीय तथा पश्चिमा संस्कृतिको खुल्लम खुल्ला अतिक्रमण समेत रोक्नेछ । त्यसका अवला हजारौं नेपालीले रोजगारी पाउनेछन् । नेपाली विज्ञापन व्यवसायमा नयाँ नयाँ आविष्कार सुरु हुनेछ । नेपाली कलाकारले समेत राम्रो कामको अवसर प्राप्त गर्नेछन् ।

के हो क्लिन फिड ?
क्लिन फिड भनेको विज्ञापन रहित विदेशी च्यानलहरुको प्रसारण हो । यसले नेपाली सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा नेपाली कलाकार तथा नेपाली भाषाको हुनुपर्ने मान्यता राख्छ ।

सोनी, स्टार प्लस, कलर्स लगायतका मनोरञ्जन केन्द्रित भारतीय टेलिभिजनहरुले आफ्ना मनोरञ्जनका उत्पादन बाहेक विज्ञापन बजाउन पाउने छैनन् । उनीहरुले विज्ञापन बजाउने समयमा नेपालले आफ्नै देशका उत्पादन तथा सामग्रीहरुको विज्ञापन बजाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.