भूकम्प पीडितलाई उल्लेख्य सहयोग गर्न सफलता मिलेको पुनर्निर्माण प्राधिकरणको निष्कर्ष, पीडितको बास अझै टहरोमा

  २०७३ मंसिर २३ गते १८:५४     विकासन्युज

sushil_gyawali_1काठमाडौं, २३ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरु, सम्बन्धित क्षेत्रगत मन्त्रालयहरु र अन्तर्गतका निकायहरुबाट सञ्चालन भइरहेका पुनर्निर्माण, पुनस्र्थापना र जीवीकोपार्जन सम्बन्धी कार्यक्रमहरुको चालू आर्थिक वर्ष २०७३÷७४को प्रथम चौमासिक प्रगति समीक्षा बैठक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा सम्पन्न भयो ।

समीक्षा बैठकमा विभिन्न चुनौती र समस्याहरु हुँदाहुँदै पनि निजी आवास अनुदान सम्झौता र अनुदान वितरण, ग्रामीण खानेपानी लगायतका कार्यक्रमहरु प्रभावकारी रुपमा भएको निष्कर्ष निकाल्दै अन्य क्षेत्रमा तदारुकताका साथ अघि बढ्नुपर्ने आवश्यकता औल्याइएको छ ।

बैठकका सहभागीहरुले समयमा कार्यक्रम स्वीकृति, बजेट निकासा, प्राविधिक जनशक्तिलाई कार्य क्षेत्रमा राखी राख्ने वातावरण सिर्जना, नयाँ नयाँ विषयमा आउने नीतिगत समस्या, परिणामुखी कार्य सम्पादन लगायत चुनौतीहरु रहेकोले देखा परेका समस्यालाई छिटो हल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय–केन्द्रीय आयोजना कार्यान्वयन इकाई, सहरी विकास मन्त्रालय–केन्द्रीय आयोजना कार्यान्वयन इकाई, शिक्षा मन्त्रालय–केन्द्रीय आयोजना इकाई, संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय–केन्द्रीय आयोजना कार्यान्वयन इकाईले चौमासीक अवधिमा भएका गरेका क्रियालापहरुको समीक्षात्मक प्रस्तुति गरेका थिए ।

त्यसै गरी गृह मन्त्रालय, उद्योग मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, सिँचाई मन्त्रालय, उर्जा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, केन्द्रीय तथ्यांक विभाग, नेपाली सेना, खानेपानी तथा ढल निकास विभाग लगायतले आ–आफनो क्षेत्रमा भएका कार्य प्रगतिबारे तथा आगामी दिनमा स्वीकृत कार्यक्रम कार्यान्वयन गर्न गर्नुपर्ने कार्य योजनाबारे जानकारी गराएका थिए ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको क्षेत्रमा एउटा चरणको उपलब्ध हासिल गरिसकेको बताउँदै निर्देशक समितिको बैठकबाट स्वीकृत कार्यक्रम र कार्य योजना अनुसार काम अघि बढाउन सम्बन्धित इकाईहरु, मन्त्रालय तथा निकायहरुलाई निर्देशन दिएका छन् । उनले आ–आफ्नो क्षेत्रका कार्यक्रमहरुलाई जिम्मेवारीपूर्वक अगाडि बढाउन निर्देशन गर्नुहुँदै स्रोत साधन उपलब्धताका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले काठ न्यून आपूर्ति भएका जिल्लाहरुमा वन मन्त्रालयले स्वीकृत गरेको कार्यविधि अनुसार काठ उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा.अरबिन्दकुमार मिश्रले पुनर्निर्माणका कामहरु अघि बढाउँदा समस्याहरु आउनु स्वभाविक भएको भन्दै त्यसलाई समाधान गर्न सबै निकायहरुबीच थप समन्वय हुनुपर्ने बताए । उनले बजेटको उपलब्धा र जनशक्ति सम्बन्धी समस्या समाधान गरेर अघि बढ्न आवश्यक रहेको भन्दै प्राधिकरणका भएका गतिविधिहरु र आगामी कार्यक्रमहरुलाई राष्ट्रिय योजनाको चौधांै योजनासँग समन्वय गरी अघि बढ्न सुझाव दिए ।

प्राधिकरणका सचिव डा. सञ्जय शर्माले देखा परेका चुनौतीलाई सम्बोधन गरी अघि बढ्ने बताउँदै समर्पणको भावनाले मात्र पुनर्निर्माण सम्पन्न हुने धारणा व्यक्त गरे । उनल कार्यान्वयन इकाईहरुमा देखा परेका समस्याहरुलाई समाधान गर्न प्राधिकरण सदैव तयार रहने जानकारी दिँदै समस्यालाई समाधान गर्न कार्यस्थलमा समेत पुग्ने बताए ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले लक्ष्यको ८० प्रतिशत काम भएको भन्दै सबै संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु पर्ने र त्यसका लागि अनुगमनलाई प्रभावकारी पार्नुपर्ने बताए ।

बैठकमा प्राधिकरणका सहसचिव तथा प्रवक्ता रामप्रसाद थपलियाले समग्र कार्यक्रमको भौतिक तथा वित्तीय प्रगतिका साथै प्राधिकरणले सम्बोधन गर्नुपर्ने निर्माणकर्मीलाई तालिम, बजेट व्यवस्थापन, जनशक्ति व्यवस्थान तथा १७ जिल्लामा हुने घरधुरी सर्भेक्षण लगायतका विषयमा प्रस्तुति गरेका थिए ।
प्राधिकरणले भूकम्प पीडितलाई उल्लेख्य सहयोग गरेको निष्कर्ष निकालेपनि पीडितहरुभने अझै टहरोमा गुजारा चलाईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.