२०७३ मंसिर १० गते १६:०४ विकासन्युज
काठमाडौं, १० मंसिर । राजधानीको भृकुटीमण्डपमा १४ औं हस्तकला व्यापार मेला सुरु भएको छ । शुक्रबार उपराष्ट्रपति नन्द बहादुर पुनले मेलाको उद्घाटन गरेका हुन् । मंसिर १४ गतेसम्म्म सञ्चालन हुने मेलामा ७ वटा पेभिलियन सहित १७६ स्टल रहेका छन् ।
मेलामा महासंघका जिल्ला हस्तकला संघहरु,बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध करिव २५ वटा जिल्लाका सदस्य उद्यमी ब्यवसायीहरु, काठमाडौं उपत्यका लगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजातिको प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामाग्रीहरु प्रदर्शन गरिएका छन् ।
मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा विक्रीका लागि राखिएका छन् । त्यस बाहेक नेपाल एकिकृत व्यापार रणनीति भित्र समावेश रहेका वस्तुहरुलाई पनि मेलामा प्रतिनिधित्व गराएको छ ।
मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनले नेपाली उत्पादनको आन्तरिक बजार प्रवद्र्धन तथा निर्यात अभिवृद्धिका लागि एकिकृत पहलकदमी आवश्यक रहेको धारणा राखेक थिए । उनले देशको आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने घरेलु उद्योगहरुको प्रवद्र्धनका लागि सरकारले बिशेष कार्यक्रम बनाउनुपर्ने सुझाव पनि राखेका थिए । सार्क स्तरिय हस्तकला ग्रामको निर्माण तिब्रगतिमा अघि बढाउनुपर्नेमा पनि उनले जोड दिएका थिए ।
मेलालाई उद्योग सचिव, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, महासंघका अध्यक्ष धर्मराज शाक्य लगायतले हस्तकलाको संरक्षण र विकासका लागि आफ्ना धारणा राखेका थिए । मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको दर ५० रुपैंयाँ निर्धारण गरिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत सहुलियतको व्यवस्था गरिएकोे छ । मेलामा झण्डै २ लाख आगन्तुक आउने अनुमान गरिएको छ । मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोवार र व्यवसायिक अर्डर समेत गरी झण्डै १० करोड भन्दा बढिको कारोवार हुने अपेक्षा राखिएको छ ।
मेलामा, चीन, ईरान,संयुक्त अरव इमिरेट्स, भुटान श्रीलंका लगायतका देशहरुबाट २० जना भन्दा बढि विदेशी आयातकर्ता आउने सम्भावना रहेको महासंघले जनाएको छ । विदेशी आयातकर्ताले आयातकर्ताको रुपमा मेलामा आउन दर्ता गर्नु पर्ने छ । त्यसरी दर्ता भएका आयातकर्ताहरुलाई महासंघबाट २ रात ३ दिनको लागि होटल सुविधा प्रवन्ध गरिएको छ । उक्त व्यवस्था बढिमा २५ जना आयातकर्ताकाको लागि मिलाईएको छ ।
१२औं हस्तकला प्रतियोगिता पनि
व्यापार मेलाको अवसरमा हस्तकला क्षेत्रका कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले फेडेक्स एभरेष्ट डि कार्गाे, काठमाडौ. महानगरपालिका र ललितपुर उप महानगरपालिकाको सहयोगमा फेल्ट उन बिधा र प्रस्तर कलामा १२औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आयोजना भैरहेको छ । प्रतियोगीतका दौरान कलाकारहरुले आफ्नो प्रतिभा अनुसारका उत्पादन निर्माण थालिसकेका छन् ।
प्रतियोगितामा उत्कृष्ट घोषित प्रति विधा ३ जना कलाकारहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्रबाट पुरष्कृत गरिने छ । प्रति विधा प्रथम हुनलेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई बीस हजार नगद पुरस्कारको व्यवस्था गरिएको उपाध्ययले जनाकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.