ब्ल्याक ब्युटिसँग फेसबुक सम्वाद, टाउको दुःखेको औषधि केरा ?

  २०७३ मंसिर ९ गते २१:२६     सुस्मिता न्यौपाने

susmaita_neupane

सुस्मिता न्यौपाने

हिजो दिउँसो तिरको कुरा हो, म परिक्षा सकाएर हिड्दै डेरातिर जाँदै थिएँ । धेरै टाढा नभएकोले गाडी चढिन । कलंकी चोकबाट बाफल सम्म हिड्नुपर्ने । रोडको साईडमा हिड्दैथिएँ, पछाडिबाट अकस्मात एउटा मोटरसाइकलले हर्न बजायो । गल्ती गरेँ क्यारे जस्तो लागेर अलि छेउतिर लागेँ । मोटरसाइकल मेरो नजिकैबाट मतिर हेर्दैहेर्दै बिस्तारै अघि बढ्यो ।

मैँले पनि हेरेँ, मास्क लगाएको हेलमेट लगाएको मान्छेको आँखा मात्रै देखिन्थे त्यो पनि गिद्दे दृष्टिले म तिरै हेर्दै गरेका ।  उ अगाडि बढ्यो र केही सेकेन्ड हिडेर रोकिराखेको गाडिहरुको आडमा पुगेर बाइक रोक्यो । म हिड्दै त्यहीँ पुगेँ ।

शुरुमा सोचेँ, कोही चिनेको मान्छे पो हो कि ? बोलुला झै गरेर मैतिर उही दृष्टिमा हेर्दै थियो तर उ मलाई अपरिचित लाग्यो, अघि बढेँ । फेरि केही अगाडि उसैगरी बाइक रोक्यो, अब भने मलाई उ माथि शंका लाग्यो त्यो भएपटि नहेरे जसरी बाटो लागेँ तर खै कुन्नि के भनेर उस्ले मलाई बोलायो र नजिकै बाइक ल्याइपुर्यायो । मैलेपनि खाँउला झै गरि हेरिदिएँ । बल्ल उ अघि बढ्दैथियो । संयोगबस मेरो दाजु बाइक लिएर आइपुग्नुभयो र म पछाडि बसेर बाटो लागेँ त्यसपछि त्यो मान्छेलाई मैले देखिन ।

म क्याम्पस गएर नियमित पढ्न थालेको धेरै भएको छैन । एम.एड. दोस्रो वर्षकी विद्यार्थी ।

सामान्यतया यति पढाइ हुनेलाई उच्च शिक्षा पाएका शिक्षित ब्यक्ति भनिन्छ । हरेक दिन क्याम्पस जाँदा लामो कुर्ता सुरुवाल लगाएर पछाडि ब्याग भिरेर सामान्य रुपमा जाने गर्छु । एकदिन दुईदिन गर्दै सँगै अध्ययन गर्ने साथिसङ्गीहरु परिचित हुन थाले । सामाजिक सञ्जाल फेसबुकको व्यापक प्रयोगबाट म पनि अछुतो छैन । केही पुरुष मित्रहरूले सबैभन्दा पहिले साथी बन्ने अनुरोध गर्नुभयो, स्विकारेँ । नियमित सामान्य गफगाफ हुन थाले । सबै
मित्रहरूसँग पढाइका, क्याम्पसका, परिक्षाका विषयमा विषेश कुरा हुन्थे । ती मध्ये एकजना साथी अलिक बढि नै नियमितता देखाउनुहुन्थ्यो ।उहाँ फेसबुकमा पनि ब्युटि भनेर सम्बोधन गर्ने गर्नुहुन्थ्यो । ननिको लागेर नभन्नुस भन्दा पनि उहाँ भनिरहनुहुन्थ्यो । केहिदिन अघिको कुरा हो, म टाउको दुखेर थलिएको थिए । केहिबेर सुतेर फेसबुक चलाउने सोचेँ । उनैको सन्देश थियो, के छ खबर ? परिक्षा कस्तो चल्दैछ आदि । प्रतिउत्तर दिए । अनलाइन नै रहेछन् । गफ सुरु गरिहाले ।

केहिबेरको कुराकानी पछि टाउको दुखेको जनाउँदै मैले बिदा भएर फेसबुक बन्द गरेँ । भोलिपल्ट फेसबुक खोल्दा उनको सन्देश थियोे, ‘लामो हाँसो । केरा लिएर आउँ त भेट्न ? ’ यो कस्तो प्रकारको समवेदना हो ? टाउको दुखाइ बताएपछि हाँस्नु, त्यसपछि केरा लिएर भेट्न आउँछु भन्नुलाई मैँले कसरी बुझ्ने ? टाउको दुखाइको औषधि के हो मलाई थाहा छ, न कि केरा । तुरुन्तै जवाफ दिएँ, भो खाँचो छैन तिमी जस्ता साथी ।

दुईअर्थ कुरा गरेर मजा लिन खोज्छौ? अर्काेको दुख हाँसेर उडाउछौ? फेसबुक मै भएको अर्को घटनाको कुरा गर्दा एक नाम चलेको गैरसरकारी संस्थाका माथिल्ला तहका पुरुष कर्मचारी साथीको रुपमा थिए । उक्त संस्था सँग राम्रो चिनजान रहेपनि उनीसँग प्रत्यक्ष भेटघाट भएको थिएन । मैँले काम गर्ने संस्थामा मैले गरेको कामको उनले काम गर्ने संस्थामा निकै प्रशंसा हुन्थ्यो र यो जानकारी उनलाई थियो । त्यसैले पनि होला नियमित कुराकानी गर्नेमा उनी पनि पर्थे तर उनका सम्बोधन पनि उस्तै हुन्थ्यो । ब्ल्याक ब्युटि, काली राम्री आदि आदि । म भने उनलाई सम्मानजनक शब्दहरुको प्रयोग गर्थें । कहिलेकाही त्यस्तो नभन्नुस भन्दै गर्दा केही दिन नभन्ने र फेरि दोहोर्याउने गर्थे उनी । वास्तवमा उनी थिए एक आठ दश वर्षकी छोरीका बाबु । एकदिन उनले सिमा पार गरे । खास जसरी बुझ्यो कुराहरु त्यस्तै हुन्छन् भन्ने गरिन्छ । तर मैले जे बुझेँ त्यसले मैले आफुलाई हिंसा गरेको बुझेँ, असह्य भयो । “I love you Kali Beauty” उनको सन्देश । उनी ठूला मान्छे, के भनेर गालि गर्ने त ? ‘कुनै दिन तपाईंको यो सन्देश काम लागोस’, मैले उत्तर दिएँ । उनी बल्ल हिचकिचाए, डराए ।

नरिसाउनुहोला, माफी पाउँ भनेर केहि समय हराए । आजभोलि उनले सन्देश शुरु गर्दा नमस्तेबाट शुरु गर्छन । महिला सशक्तीकरणका विषयलाई चर्काे रुपमा उठाउने संस्थाका पहरेदार उनी आँफै यस्ता थिए भने अरुबाट के आशा गर्ने ? ६/७ कक्षातिर पढ्दा गुरुहरु हुनुहुन्थ्यो । हामी बिद्यार्थी उहाँहरू सँग ज्ञानगुनका कुरा सिक्थ्यौ । तर एक्लै फेला पर्दा उहाँहरू पनि मौकाको फाइदा लिइहाल्नुहुन्थ्यो । ‘कस्ले कपाल कोरिदियो? कसले गाजल लगाइदिएको ? जुम्रा हेरिदिन्छु ।’ भन्दै असहज लाग्ने तरिकाले शरीर छुन खोज्नुहुन्थ्यो उहाहरुमध्ये कोहिकोहि । यस्तो सधै त हुदैनथ्यो तर जे होस, त्यसपछि ती गुरुहरुका छेउ पर्न, प्रश्नहरू सोध्न अनि गृहकार्य गरेर बुझाउन मन कहिलै लाग्दैन थियो । उहाहरुले बिर्सिपनि सक्नुभयो होला मैले यस्तो गरेथेँ भनेर अनि सायद उहाहरुलाई गलत गरेँ भनेर महसुस नै भएन होला । नत्र आजभोलि पनि नजिकका कतिपय साना नानीहरू हिचकिचाउँदै सकि नसकि गर्छन् उही व्यवहारिक कुरा ।

सबै गुरुहरुले यसै गर्नुभएन तर हिंसाको अनुभव दिलाउन केही गुरुहरुका ती अनुहार नै काफि छन्, दिल खोलेर प्रतिभा प्रस्फुटनमा रोक्नका लागि, सिर्जनशीलतालाई खारिनुका सट्टा बन्द गराउनका लागि । यस लेखलाई पढ्दै गर्दा कति पुरुषलाई लाग्ला यसले हाम्रो पर्दाफास गरि, अनि कतिले त्यो हिंसक गलत रहेछ भन्लान् र कोहिकोहिले आफैंले गरेका कृत्यहरु स्मरण नै नगर्लान् । भने जो महिलाहरूले अध्ययन गर्लान् ती मध्ये कतिका समान भोगाइ हो यो कथा भने कतिले असल काम गर्न, शक्तिशाली हुन महिले भएकोले नरोकिने अन्दाज लगाउलान् । तिनै उच्च क्षमतावान केही महिलाहरुलाई पर सारेर बाँकी मध्यम र निम्न स्तरीय महिलाहरूको कुरा गर्ने हो भने यो भोगाइ यो पीडासँग मेल खानेछ र कतिपयका पीडा अझै दर्दनाक हुने कुरामा दुईमत छैन जो शिक्षित पनि हुनुहुन्छ, अझ अशिक्षित र ग्रामीण भेगका महिलाहरूको भोगाइका पीडा त स्मरण गरिसाध्य छैन । जो महिलालाई हिंसा पिडित भएको थाहा छ उनी दुखले छट्पटिनेछिन भने पिडित भएको थाहै नपाउने चाहिँ चुपचाप रहनेछिन् अन्जान अबोध बालबालिका जसरी ।

उल्लेखित साझा समस्याहरू महिलाले महिला भएकै कारणबाट भोग्ने समस्याहरु हुन् । न त कुनै कानुनी रुपमा प्रमाण नै पुग्ने, न त समाज साक्षी राखेर दोषीलाई यसको दोष यो हो भनेर औला उठाउन मिल्ने यस्ता हिंसात्मक अनगिन्ती पिडाबाट गुज्रिएर पनि यहि समाजमा आफ्नो स्थान, मान र नाम राख्न सक्नु वास्तवमा एक पुरुषले विना हिचकिचाहट शिखर चढेभन्दा कम छैन एक महिलाका लागि ।

हिंसा सहनु पनि गलत हो भन्ने गरिन्छ, कानुन प्रयोग नगर्नु पनि दोषी हुनु हो भन्ने गरिन्छ । तर कानुनले ठोस प्रमाण खोज्ने गरेको छ, महिलाका बेदना र भावनाको भाषा बुझ्दैन कानुन । यस्ता प्रकारका हिंसात्मक कृयाकलापको प्रमाणका रुपमा के प्रस्तुत गर्ने? गाडिभित्र बनावटि असहजता सृजना गरेर महिलालाई दुख दिने पुरुषलाई कुन कर्तुत पेश गरेर सजाय दिलाउने? बाटोमा केटिमान्छे हिड्दा छतबाट र झ्यालबाट तालि पिट्ने, सिठि बजाउने, जिब्रो पड्काउने केटाहरूलाई सजाय दिने कस्तो कानुन बनेको छ? हर्न बजाउँदै केटीको अघिपछि गर्ने केटालाई कुन कठघरामा कसरी उभ्याउने ?

नवबिबाहित पल्लाघरे दाजुले भाउजूको भन्दा तिम्रो प्रगति चाहन्छु तिमीलाई धेरै माया गर्छु भनिरहँदा गलत आफूलाई लाग्दालाग्दै पनि उ गलत हो भनेर महसुस कसरी गराउने ? यस्ता मानशिक हिंसापिडितहरुलाई सम्बोधन हुने कानुन कहाँ बनेको छ? कस्को लागि लागू हुन्छ? बास्तवमा हिंसा शारीरिक मात्र नभएर अन्य किसिमबाट पनि हुन्छ र सबै हिंसा दण्डनीय नभएको कुरा कानुन निर्माताहरुले बुझ्नु जरुरी छ । अन्तमा हिंसकहरुको विकृत मनस्थितिको उपचार गराउनु नै हिंसा निर्मूल पार्ने अचुक उपचार हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.