संसद बैठक एक बजेपछि मात्रै, समितिहरुका बैठक एक बजेअघि नै सक्नुपर्ने

  २०७३ कार्तिक ३० गते १७:१८     विकासन्युज

parliament_Nepalकाठमाडौं, ३० कात्तिक । अबदेखि व्यवस्थापिका संसदको बैठक दिउसोँ एक बजेपछि मात्रै बस्ने भएको छ । सभामुख ओनसरी घर्ती र व्यवस्थापिका समितिका सभापतिहरुको बैठकले संसद बैठक दिउँसो एक बजेपछि मात्रै राख्ने निर्णय गरेको हो । सोही बैठकले व्यवस्थापिका संसदका बिभिन्न समितिहरुको बैठक एक बजे अघि नै सम्पन्न गर्नुपर्ने निर्णय समेत गरेको छ ।

यस अघि संसद र समितिका बैठकहरु एकै समयमा परेर कार्यसम्पादनमा असहजता आएको थियो । ‘अबदेखि संसद बैठक एक बजेपछि मात्रै राख्ने र समितीहरुको बैठक सो भन्दा अघि नै सम्पन्न गरिसक्ने निर्णय भएको छ’, अर्थ समितिका सभापति प्रकाश ज्वालाले विकासन्युजसँग भने ।

सभामुख घर्तिले मंगलबार सबै समितिका सभापतिहरुसँग संयुक्त बैठक बोलाएकी थिएन् । राज्यव्यवस्था समितिका हलमा सम्पन्न बैठकमा अर्थ, विकास, बिधायन, अन्तराष्ट्रिय श्रम सम्बन्ध समिति, सार्वजनिक सुनुवाई समिति, राज्य व्यवस्था समितिका सभापतिहरुको सहभागीता रहेको थियो । बैठकमा सभामुख घर्तीले संसद बैठकसँग समितिका बैठकहरु जुधेकोमा असन्तुष्ठि व्यक्त गरेकी थिइन भने समितिका सभापतिहरुले पनि संसद बैठक जुध्दा कार्यसम्पादनमा असहजता आएको बताएका थिए ।

४१ ऐन चाँडै अघि बढाउन सहमति
बैठकमा संसद तथा बिभिन्न समितिहरुमा रहेका ऐनहरु चाँडो टुंग्याएर अघि बढ्ने निर्णय समेत भएको अर्थ समितिका सभापति ज्वालाले जानकारी दिए ।‘संसद र बिभिन्न समितिमा हाल ४१ वटा ऐन रहेछन्, ती सबैलाई चाँडो अघि बढाएर पारित गराउने निर्णय भएको छ’, सभापति ज्वालाले भने । उनका अनुसार संसद र समितिहरुले एक अर्काको काममा सहयोग गर्ने निर्णय पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.