नेपालीसँग भएको २५ हजारसम्मको भारु राष्ट्रको सम्पत्ति हो, टेबुल ठोकेर साट्नुपर्छ

  २०७३ कार्तिक २८ गते १०:३८     विकासन्युज

भिष्मराज ढुंगाना

भिष्मराज ढुंगाना

भारत सरकारले चलन चल्चीमा रहेको ५०० र १००० दरका नोट  नचल्ने निर्णय गरेपछि त्यसको मार नेपालीलाई नराम्ररी परेको छ । भारतले स्रोत खुलेका रकम जति पनि र सर्व साधारणलाई ठूला दरका नोट प्रति व्यक्ति ४००० भारतीय रुपैयाँ साट्न सकिने जनाएको छ । तर,  नेपाल राष्ट्र बैंकले नेपालीसँग भारतीय रुपैयाँ तत्कालका लागि साट्न रोक लगाएको छ । राष्ट्र बैंकको यो निर्णयले भारतीय रुपैयाँमा कारोबार गर्दै आएका नेपालीलाई धेरै निराश र चिन्तित बनाएको छ । यो अवस्था कहिलेसम्म रहन्छ, नेपालीसँग भएको भारु राष्ट्र बैंकले साट्ने कि नसाट्ने ? प्रस्तुत छ नेपाल राष्ट्र बैंक कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगानासँग विकासन्युजले गरिएकाे कुराकानी ः

 

नेपालीसँग रहेको भारतीय रुपैयाँ फिर्ता गराउन राष्ट्र बैंकले के के गरिरहेको छ ?

हामीले नेपालमा भएको भारुको निगरानी गरिरहेका छौैं । भारत सरकारले भारु प्रतिबन्ध लगाएकै भोलिपल्ट विहानै आकस्मिक व्यवस्थापन समितिको बैठक बसेको थियो । भारतले प्रतिबन्ध गरेकोले नेपालमा पनि भारु चलाउन मिलेन । त्यही अनुसार निर्णय गरेर सम्बन्धित निकायलाई परिपत्र गरेका छौं । त्यस्तै, राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थासँग भएको भारतीय रुपैयाँको अबस्थाबारै जानकारी लिएको छ ।

त्यस्तै राष्ट्र बैंकले अर्थ मन्त्रालयमा र परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेको छ । अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई र परराष्ट्र मन्त्रालयले तत्काल भारत सरकारलाई पत्र पठाईसकेको छ । दुई देशबीच गभर्नर टु गर्भनर लेवलमा पनि सम्पर्क भएको छ । भारतीय राजदूताबासलाई पनि ५०० र १०००का भारुको सटहीको पहल गर्न अनुरोध गरेका छौं ।

भारतीय पक्षबाट प्रतिक्रिया के आएको छ ?

नेपालमा भएको भारु साट्नुपर्छ भन्ने विषयमा भारतीय राष्ट्र बैंक (आरबीआई) सकारात्मक छ । तर आरबीआई पनि भारत सरकारको निर्णय कुरेर बसेको छ । आरबीआईबाट इमेलमार्फत हामीसँग भएको भारुको अवस्थाबारे जानकारी मागेको छ । हामीले बैंक तथा वित्तीय संस्थामा भएको पैसाको मात्रै जानकारी दिने हो, सर्वसाधारणसँग भएको पैसा यति नै छ भनेर जानकारी त दिन सकिने विषय भएन ।

नेपालीसँग ५०० र १००० दरका भारु कति रहेको अनुमान छ ?

भारतीय रुपैयाँ २५ हजार भन्दा बढी पैसा बोक्न र घरमा राख्नै पाइदैन । त्यस्तो पैसा जतिखेर पनि जफत हुन्छ । २५ हजारसम्मको भारु राष्ट्रकै सम्पत्ति हो, यसलाई सहटी गर्ने व्यवस्था राज्यले जसरी भएपनि मिलाउनुपर्छ ।

सर्वसाधारणसँग भएको पैसा अनुमान पनि गर्न सकिदैन । उक्त दरका नोट बैंक तथा वित्तीय संस्थामा करिब तीन करोड ६० लाख भारु रहेको देखिएको छ ।

नेपालीसँग रहेको भारु सटहीको गर्ने विषयमा नेपालस्थित भारतीय दूतावासको भनाई के छ ?

दुतावासकाअधिकारीहरुले सकारत्मक कुरा गरेका छन् । भारतीय सरकारले सकारात्मक रूपमा नै हेर्छ भन्ने कुरा पाएका छौं । हामीले हाम्रो तर्फबाट कुरा राखेका छौं । भारतमा काम गरेर फर्केका धेरै नेपालीलाई ठूलो समस्या भएको छ । व्यक्तिसँग भएका २५ हजार रुपैयाँसम्मको भारु त साट्नुपर्छ भनेर हामीले लविङ गरिरहेका छौं ।

राष्ट बैंकले सर्वसाधारसँग भएको पैसा तत्काल साट्दैनौ भन्दा सर्वसाधारण आत्तिएका छन् । सर्वसाधारणसँग भएको ५०० र १००० दरका भारतीय रुपैयाँ अब के हुन्छ त ?

नेपालीले दिनरात मेहनत गरेर कामएको पैसा उनीहरुको कमाई मात्रै नभएरै नेपालकै सम्पति हो । त्यो पैसा साट्न नपाए राष्ट्रकै सम्पत्ति गुम्ने हो । त्यसैले यो सम्पत्ति नगुमाउन राष्ट्रले नै यसलाई लिने व्यवस्था गर्नुपर्छ । हामीेले आफ्नो तर्फबाट मेहनत गरिरहेका छौं । गैरकानुनी रूपमा आर्जन गरेको होइन । नेपालमा भारुको प्रयोग भारत सरकारले दिएको सीमाभित्रै रहेको चलन चल्तीमा छ । त्यसैले त्यो रकम हामीले टेवल ठोकेर पनि लिनुपर्छ, सटही हुनुपर्छ । कसैले एक करोड छ, दुई लाख छ भन्ला तर त्यो पैसा भने गैरकानुनी हो । भारतीय रुपैयाँ २५ हजार भन्दा बढी पैसा बोक्न र घरमा राख्नै पाइदैन । त्यस्तो पैसा जतिखेर पनि जफत हुन्छ । २५ हजारसम्मको भारु राष्ट्रकै सम्पत्ति हो, यसलाई सहटी गर्ने व्यवस्था राज्यले जसरी भएपनि मिलाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.