प्रधानमन्त्री दाहाल आफ्नै मन्त्रीसँग असन्तुष्ट, गलत छवि निर्माण भइरहनुको कारण गर्दै दाहाल

  २०७३ कार्तिक २० गते ७:१८     विकासन्युज

 

काठमाडौं २० कात्तिक । माओवादी केन्द्रले सम्हालेका मन्त्रालयको कामकारबाही प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीका मन्त्रीहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको ठीक ३ महिना पुगेको दिन शुक्रबार प्रधानमन्त्री दाहालले पार्टी सम्बद्ध मन्त्रीलाई बालुवाटार निवास बोलाई  सोधेका थिए। ‘हाम्रा नेताले सम्हालेका मन्त्रालयबारे जनता र कार्यकर्ताको गुनासो दिनहुँ मकहाँ आइरहेको छ,’ दाहालले मन्त्रीहरूसँग भने, ‘मैले सुरुमै भनेको थिएँ, यो सरकार सिंगो पार्टीका लागि अग्निपरीक्षा हो, तर यस कुरालाई किन गम्भीर रूपमा लिइएन ।’ pm_prachanda

बैठकमा सहभागी एक नेताका अनुसार दाहालले सन्तोषजनक काम नभए सम्बन्धित मन्त्रालयका मन्त्रीको विकल्प सोच्ने चेतावनी पनि दिए । आफूले सरकारको छवि राम्रो बनाउन अरू समयभन्दा बढी खटेर काम गरिरहेको भन्दै उनले युद्धकालको स्पिरिट सरकारमा देखाउनुपर्ने समेत बताए ।

सरकार सय दिनमा टेक्न लागिरहेका बेला प्रतिपक्षीहरूले समेत कार्यक्षमतामाथि प्रश्न उठाउन थाल्ने भन्दै दाहालले माओवादीलाई ‘हनिमुन’ मनाउने सुविधा नरहेको स्मरण मन्त्रीहरूलाई गराएका थिए ।

भेटमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जनार्दन शर्मा र स्थानीय विकासमन्त्री हितराज पाण्डे भने अनुपस्थित थिए । बिहान ९ बजे आयोजित माओवादी मन्त्री बैठकको सूचना एक घण्टाअघि मात्रै गरिएकाले केही मन्त्री अनुपस्थित रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनायो । सूचना तथा सञ्चारमन्त्री राम कार्कीले भने बैठकमा माओवादीका मन्त्रीबारे किटेर कुराकानी नभएको दाबी गरे ।

‘कार्यसम्पादन कसरी राम्रो बनाउन सकिन्छ भन्नेमै कुरा भयो,’ उनले भने, ‘मुख्यतस् हालसम्म भएका कामबारे पनि जनतामा राम्ररी कुरा लैजान सकिएन, बरु नकारात्मक प्रचारले बढी ठाउँ पायो भन्नेमा छलफल भएको हो। प्रधानमन्त्रीज्यूले राम्ररी काम गर्न र भएका राम्रा कामको बाहिर प्रभावकारी सञ्चार गर्न आग्रह गर्नुभएको छ ।’ कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.