उच्चस्तरीय स्वास्थ्य नीति समन्वय समिति गठन, समितिको अध्यक्ष मन्त्री आफै

  २०७३ कार्तिक १९ गते १९:२९     विकासन्युज

gagan-thapaकाठमाडौँ, १९ कात्तिक । सङ्घीय नेपालमा स्वास्थ्य सेवा र संरचना कस्तो हुने भन्ने विषयमा खाका तयार गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनःसंरचना समन्वय समिति गठन गरेका छन् । आफूले बनाएको समितिको अध्यक्ष पदमा भने आफै बसे बसेका छन् ।

मन्त्री थापाले बिहीबार स्वास्थ्य, कानुन, सङ्घीयता र पुनःसंरचना क्षेत्रका विज्ञ रहेको १३ सदस्यीय समिति गठन गरेका हुन् ।

समितिले दुई महिनाभित्र स्वास्थ्य मन्त्रालयको संरचना कस्तो हुने, विद्यमान स्वास्थ्य कानुन समयानुकूल बनाउन केके गर्ने र संविधानमा उल्लेखित स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाका रुपमा विस्तार गर्न कसरी अगाडि बढ्नेलगायतका विषयमा अध्ययन, अनुसन्धान र सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल गरी खाका तयार गर्ने मन्त्री थापाले जानकारी दिए ।

मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख विशेषज्ञ डा पदमबहादुर चन्द सदस्य सचिव रहेको सो समितिमा पूर्वस्वास्थ्य सचिव डा प्रवीण मिश्र, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशकद्वय डा लक्ष्मीराज पाठक र डा यशोवद्र्धन प्रधान, जनस्वास्थ्य विज्ञ डा रिता थापा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनका पूर्वउपकुलपति डा अर्जुन कार्की, वरिष्ठ सर्जन डा सरोज धिताल, आयुर्वेद विज्ञ डा चन्द्रराज सापकोटा, कर विज्ञ डा रुप खड्का, कानुनविद् डा रमेश बडाल र पुनःसंरचना विज्ञ त्रिलोचन पोखरेल सदस्य रहेका छन् ।

यही कात्तिक २३ गते बस्ने समितिको पहिलो बैठकले कार्यतालिका बनाई काम अगाडि बढाउने बताइएको छ । मुलुकको समग्र पुनःसंरचनाको प्रक्रिया चलिरहेका बेला स्वास्थ्य क्षेत्रको नीतिगत, संरचनागत र सेवा प्रवाहको प्रणालीमा सुधार गर्न समिति गठन गरिएको स्वास्थ्यमन्त्री थापाले बताएका छन् । उनले खाका बनाउँदा सङ्घीयतालाई मुख्य आधार बनाइने जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.