त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार अलपत्र, सम्पन्न हुनुपर्ने समयमा १६ प्रतिशत मात्रै काम

  २०७३ कार्तिक ५ गते ७:३०     विकासन्युज

काठमाडौं ५, कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना सम्पन्न हुनुपर्ने समयमा करिब १६ प्रतिशत काम मात्र भएको छ । स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले ठेक्का पाएको यस आयोजनाको पहिलो चरणको काम मार्च २०१६ मा नै सम्पन्न भइसक्नुपर्ने थियो ।

आयोजनाको काम मार्च ०१३ मा सुरु भएको थियो । तर, अहिले ठेकेदारले काम रोकेको छ, आयोजना अलपत्र अवस्थामा छ । ‘आयोजनास्थलमा कहिलेकाहीँ एक–दुईजना मानिस आएर काम गरेजस्तो देखिन्छ,’ त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘तर, कामले गति लिएको पाइँदैन ।

आयोजनाका लागि करिब २० लाख घनमिटर माटो बाहिरबाट ल्याउनुपर्ने हुन्छ । त्यसमध्ये हालसम्म चार लाख घनमिटर मात्र माटो ल्याइएको छ । ठेकेदार कम्पनीले पशुपति क्षेत्र विकास कोषको जग्गाबाट माटो ल्याएर काम गरिरहेको थियो ।

तर, उक्त माटोको ठेक्का दिने क्रममा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि माटो ल्याउने काम अवरुद्ध भएको थियो । त्यसपछि भूकम्प, नाकाबन्दीजस्ता घटनाले काममा अवरोध गरेको थियो । पशुपति क्षेत्र विकास कोष भने अब आयोजनालाई माटो नदिने निष्कर्षमा पुगेको छ । tiaairport111

ठेकेदार कम्पनीले पशुपतिकै माटो नपाए आयोजना कार्यान्वयन गर्न नसक्नेसमेत बताएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
निर्माण कम्पनीले समयमै आयोजना कार्यान्वयन गर्न नसकेपछि उसको कार्यशैलीप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण तथा लगानीकर्ता एसियाली विकास बैंकसमेत सन्तुष्ट छैनन् ।

तर, काम नगर्ने ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जानसमेत यी निकाय हच्किरहेका छन् । ‘ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा समय र लागत दोब्बर हुन्छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘अर्कोतर्फ प्रक्रिया पूरा नगरी हतारमा निर्णय गर्दा पछि कानुनी झमेलामा फस्न सक्ने डर छ ।’

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार ठेकेदार कम्पनीले प्राधिकरणबाट माग गरिएबमोजिम स्पष्टीकरण दिएको छ ।
कम्पनीसँगको ठेक्का सम्झौताको अवधि भने अक्टोबरसम्म छ । त्यसपछि मात्र ठेक्काले निरन्तरता पाउने या रद्द हुने भन्ने सम्बन्धमा निर्णय हुने क्यानका अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.