गगन थापाका महत्वकांक्षी योजना, पाँच सय स्वास्थ्य चौकीमा नसर्ने रोगको परीक्षण ल्याब स्थापना गर्नेदेखि कलेजो प्रत्यारोपणसम्मको योजना

  २०७३ असोज २२ गते ७:५६     विकासन्युज

काठमाडौं २२, असोज । स्वास्थ्यमन्त्री गगन थापाले महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । सार्वजनिक योजनामा देशभरका पाँच सय स्वास्थ्य चौकीमा नसर्ने रोगको प्रारम्भिक परीक्षण ल्याब स्थापना गर्नेदेखि ६ महिनाभित्र नेपालमै कलेजो प्रत्यारोपण गर्नेसम्मका कार्यक्रम छन् ।

मन्त्री थापाले अबको ६ महिनाभित्र नेपालमै कलेजो प्रत्यारोपणको व्यवस्था गरिने बताए । यसका लागि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले तयारी थालेको उनले जानकारी दिए । हाल कलेजो प्रत्यारोपण गर्न भारतलगायतका देश जानुपर्ने बाध्यता छ ।
gagant-hap_a
निःशुल्क डायलसिस सेवा ६ महिनाभित्र उपत्यकाबाहिरका १८ अस्पतालमा सुरु गर्ने थापाले बताए । यसको सुरुवात धनगढीबाट मंगलबार गरिएको उनले जानकारी दिए । काठमाडौंबाहिरका अस्पतालमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसँग सहकार्य गरी हृदयरोग निवारण सेवा विस्तार गर्ने पनि उनले बताए ।

तीन महिनाभित्र थप एक सय १० सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्ने पनि मन्त्री थापाले बताएका छन् । सहरी स्वास्थ्यलाई ध्यान दिँदै थप ४० सहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने, ६ महिनाभित्र थप दुई सय स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापनाको गृहकार्य गर्ने उनको योजना छ । ६ महिनाभित्र पाँच सय स्वास्थ्य चौकीमा नसर्ने रोगको प्रारम्भिक परीक्षण गर्न ल्याब स्थापना गर्ने मन्त्री थापाले बताएका छन् ।

केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र जिल्लामा गरी हाल चार सय ८५ विशेषज्ञ चिकित्सक रिक्त छन् । यसले स्वास्थ्य सेवा प्रभावित भएको भन्दै मन्त्री थापाले पदपूर्तिका लागि तत्काल आवेदन खुलाउन लोकसेवा आयोगलाई आग्रह गरेको जानकारी दिए । लोकसेवाको प्रक्रिया ढिलो हुने भएमा करारमा भए पनि तीन महिनाभित्र दरबन्दीअनुसार चिकित्सक खटाउने तयारी रहेको उनले बताए ।

सरकारी अस्पताल सुधार गर्न मन्त्री थापाले बहिरंग सेवा बिहान १० देखि बेलुका ५ बजेसम्म अनिवार्य सञ्चालन गर्न निर्देशन दिएका छन् । यसअघि बहिरंग सेवा बिहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने गरेको थियो । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.