मेलम्चीको पानीको पाइप घरघररमा लैजानै अझै एक वर्ष, पानी आउने टुंगो छैन

  २०७३ असोज १५ गते ७:०६     विकासन्युज

काठमाडौं १५, असोज । मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण गर्ने पाइप लाइन बनाउने काम अबका एक वर्षमा मात्रै पूरा हुने भएको छ ।

पाइप लाइन निर्माणको काम २०७४ असोज महिनाभित्रै सक्ने योजना रहेको र मेलम्चीको पानी काठमाडौं आउनुअगावै पाइपलाइनको काम सकिने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको काम हालसम्म पहिलो चरणको वितरण सञ्जाल सुधारमा पाँच सय किमि। पाइपलाइन बिछ्याएको छ भने तीन सय किमि बिछ्याउन बाँकी छ ।

मेलम्चीको पानी वितरणका लागि आठ सय किमि। पाइपलाइन विस्तार गरिने छ । आयोजना निर्देशनालयका प्रवक्ता लीला ढकालले भने– ‘७० प्रतिशत काम सम्पन्न भइसकेको छ, २०७४ असोजभित्रै काम सम्पन्न गर्छौ, लक्ष्य अनुसार काम भएको छ ।’melamchi-21

निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ ।

सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रपथका विभिन्न स्थानमा पानी ट्याङ्की निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ ।

प्रवक्ता ढकालका अनुसार महाङ्कालचौर, बाँसबारी, महाराजगञ्ज, बालाजु र खुमलटारको पानीट्याङ्की निर्माणको काम करिब सकिएको छ । यी पाँचवटा ट्याङ्कीमा चार करोड लिटर पानी सङ्कलन हुनेछ ।

अन्य तीनवटा आरुबारी, कीर्तिपुर, टिग्नीको पानीट्याङ्की निर्माण भइरहेको छ । भक्तपुरको कटुञ्जेमा जग्गाको मुआब्जाको विवादले गर्दा ढिला भएको प्रवक्ता ढकालले जानकारी दिए ।

दसैँलगत्तै २४र२५ समूह बनाएर पाइपलाइनको काम आगामी वर्ष सक्ने गरी तीव्र बनाइने प्रवक्ता ढकालले बताए। थोक वितरण प्रणालीतर्फ सुन्दरीजलदेखि महाङ्काल चौरसम्म एक हजार चार सय मिलिमिटर ब्यासको ९.५ किमि। बिछ्याइएको छ ।

आयोजनाले ८३ हजार ५४९ वटा धारा जडान गर्नुपर्नेछ । हालसम्म झण्डै २५ हजार धारा जडान गरिसकिएको निर्देशनालयले जनाएको छ । गोरखापत्र दैनिकबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.