सरकारी कार्यालयबाटै खैरो हेरोइनको धन्दा, औषधि व्यवस्था विभाग परिसरभित्र स्टिलको दराजमा २२ ग्राम खैरो हेरोइन

  २०७३ असोज १३ गते ६:४८     विकासन्युज

काठमाडौं १३, असोज । औषधिको नियामक निकाय औषधि व्यवस्था विभाग परिसरभित्र रहेको स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ। विभागको बिजुलीबजारस्थित पानस फर्मास्युटिकल्स प्रालि लेखेको स्टिलको दराजभित्र २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने डिजिटल तराजु फेला परेको समाचार विहिबारको राजधानीमा छापिएको छ।

लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनको कारोबारीको आरोपमा सुनिल गुप्तालाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।
‘विभागकै परिसरमा रहेको दराजभित्र लागूऔषध फेला परेको यो पहिलोपटक हो’, ब्युरोका प्रहरी नायब महानिरीक्षक  जयबहादुर चन्दले भने ।

उनका अनुसार औषधि कम्पनीहरूले विभाग परिसरमा औषधि परीक्षणका लागि राख्ने छुट्टै लकरसहितको दराजमा गुप्ताले चरेस रहेका बताएका थिए ।audadi-bivag

गुप्ता पानस फर्मास्युटिकल्सका कामदार हुन् । बयानमा उनले विभागभित्र रहेको स्टिलको दराजमा हेरोइन राखेको बताएपछि ब्युरो टोली बुधबार विभाग पुगेको थियो । गुप्ताले बताएअनुसार विभागभित्र रहेको स्टिलको दराज खोलेर हेर्दा प्रहरीले हेरोइन र त्यो जोख्न प्रयोग हुने तराजु फेला पारेको थियो।

ब्युरोका डीआईजी जयबहादुर चन्दका अनुसार प्रारम्भमा काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा सूर्य संगत पक्राउ परेका थिए । उनको साथबाट ७ ग्राम खैरो हेरोइन र ४ हजार रुपैयाँ फेला परेको थियो । सोधपुछमा संगतले बाँकेका ३२ वर्षीय गुप्तासँग हेरोइन किनेको खुलेको थियो ।

गुप्ता पानस फर्मास्युटिकल्सका लाइजन अफिसर हुन् । गुप्तासँग हेरोइन किनेका प्रकाश जोशी, सद्दाम अन्सारी र वीरेन्द्र सिंहलाई प्रहरीले गौशालाको साउथ एसियन गेस्ट हाउसमा छापा मारी पक्राउ गरेको थियो । उनीहरूका साथबाट ९ ग्राम हेरोइन र ६४ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

विभाग परिसरमै लागूऔषध फेला परेको विषयमा प्रहरीले विभागका कर्मचारीलाई पनि अनुसन्धानमा राख्ने जनाएको छ । यसअघि, ब्युरोको ध्यान विभागतिर गएको थिएन ।

औषधि व्यवस्था विभागमा औषधि कम्पनीले आफनो लकर राख्न पाउने व्यवस्थाका बारेमा पनि जानकारी नभएको ब्युरोले जनाएको छ । विभाग आफैं औषधि कम्पनीहरूको नियामक निकाय भएकाले लागूऔषधजस्तो पदार्थका बारेमा जिम्मेवार हुनुपर्ने प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.