यस वर्ष विलिनियर्स क्लबमा सूचिकृत हुने कुमारी बैंककाे लक्ष्य रहेकाे छः सिइअाे राजीव गिरी

  २०७३ भदौ २६ गते ७:३९     विकासन्युज

पछिल्लो समय वित्तीय क्षेत्रमा कुमारी बैंकका बारेमा धेरै चर्चा हुने गरेको छ । एकातिर बैंकको वित्तीय अवस्था राम्रो हुँदै गएको छ भने अर्कोतिर उसले चालेको मर्जर प्रक्रिया विफल भयो । एनसीसी बैंकसँग मर्जको प्रक्रियाबाट बाहिरिए पछि याे बैंक कसरी अगाडि बढ्दैछ ? उसको पुँजी वृद्धि योजना के हो ? बैंक भित्रको आन्तरिक विवाद के हो ? कुमारी बैंकको भविष्य कस्तो होला ? करिव २५ वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा काम गरि विगत तीन वर्षदेखि कुमारी बैंकको व्यवस्थापकीय नेतृत्वमा रहनु भएका कामु प्रमुख कार्यकारी अधिकृत राजीव गिरीसँग हामीले यिनै प्रश्न गरेका छौं । प्रस्तुत छ, उहाँसँग गरिएको विकास वहस यस पटक ।

राजीव गिरी

राजीव गिरी

कुमारी बैंकको वित्तीय अवस्था कस्तो छ ?
अहिले बैंकको वित्तीय अवस्था धेरै राम्रो छ । गत आर्थिक वर्षमा करिव ७५ करोड रुपैयाँ खुद नाफा भएको छ । करिव ३० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ, ६ अर्ब रुपैयाँ लगानी छ । ३७ अर्ब रुपैयाँ निक्षेप परिचालन भएको छ । निष्क्रिय कर्जा १.११ प्रतिशतमा झरेको छ । तीन वर्षअघि म यो बैंकमा आउँदा करिव ४ प्रतिशत थियो । बैंक प्रगति उन्मुख छन् ।

अबको योजना के छन् ?
हामी नयाँ योजनाहरु लिएर अगाडि बढ्दैछौ । पुँजी वृद्धिसँगै लगानीकर्तालाई उचित लाभ दिन पनि हामीले धेरै काम गर्नुछ । नयाँ चुनौतिहरु छन् । यसै आर्थिक वर्षमा १ अर्बभन्दा बढी खुद नाफा गर्ने बिलिनियर्स क्लबकाे सूचिमा सूचिकृत गर्ने लक्ष्यका साथ योजनाहरु बनाएका छौं । यो वर्ष निक्षेप र कर्जा तथा लगानी १०/१० अर्बले वृद्धि गर्ने लक्ष्य राखेर काम गरिरहेका छौं । थप केही नयाँ योजना आउँछन । आम्दानीको स्रोतमा विविधिकरण गर्दैछौं । आधुनिक प्रविधिसँग जोडिएका सेवाहरुमा पनि विस्तार गर्छौ । यसै वर्ष डोमेष्टिक र इन्टरनेशनल क्रेडिट कार्ड जारी गर्दैछौं । राष्ट्र बैंकले जोड दिएको क्षेत्रमा लगानी विस्तारमा जोड दिन्छौं । कर्मचारीको क्षमताको विकासमा जोड दिएका छौ ।

मेरो बुझाईमा एभरेष्ट बैंकसँग मर्जको हल्ला अतिरञ्जित अफवाह मात्र हो ।

तपाईहरुले एनसीसी बैंकसँग मर्ज प्रक्रिया अगाडि बढाउनु भयो । तर साधारणसभाबाट मर्जर प्रस्ताव पारित हुन सकेन । त्यसबारे बैंकको समिक्षा के छ ?

यसलाई बिडम्बनाको रुपमा लिएका छौं । हामीले डिडिए रिपोर्टलाई आधार मानेर अगाडि जाने तयारी गरेका थियौं । तर डिडिए रिपोर्टले दिएको स्वाप रेसियो यस बैंकका धेरै लगानीकर्ताहरुलाई चित्त बुझेन । विशेष साधारणसभाले त्यहि नै देखायो । मर्जको क्रममा डिडिए रिपोर्टमा मात्र विश्वास गरेर अगाडि बढ्न नहुने रहेछ भन्ने हाम्रो अनुभव रह्यो । साधारणसभामा कसरी विपक्षमा निर्णय भयो भन्ने विषयमा राम्रो चित्रण र जीवन्त वर्णन देशविकास पत्रिकामा प्रकाशित भएको थियो, मैले बताईरहनै परेन ।

नयाँ मर्जबारे बैंकले केही सोचिरहेको छ ?

मर्जर कमिटिले काम गरिरहेको छ । एनसीसी बैंकसँग डिमर्जबारे राष्ट्र बैंकबाट स्वीकृति आएपछि नयाँ प्रक्रिया अगाडि बढ्न सक्छ । उतापट्टिको मर्जको अन्तिम स्वीकृतिको फाइल र हाम्रो डिमर्जको फाइलसँगै अगाडि बढेको जानकारी हामीले पाएका छौं ।

एनसीसी बैंकसँग मर्ज प्रक्रियाबाट कुमारी बैंक बाहिरियो । उक्त मर्जको क्रममा भएको सबै खर्च कुमारी बैंकले मात्र बेहोनुपर्छ भन्ने अरु बैंकहरुले निर्णय गरेर कुमारी बैंकलाई पत्र काटेको थिए । कुमारी बैंकले त्यो पैसा तिर्छ कि तिर्दैन ?

मर्जर कमिटिमा म छैन । मर्जर कमिटिका साथीहरुले मलाई दिनु भएको जानकारी अनुसार कुमारी बैंकको विशेष साधारणसभाले मर्जको विपक्षमा निर्णय लिएपछि पनि संयुक्त मर्जर कमिटिको बैठक सौहार्द पूर्ण वातावरणमा सम्पन्न भयो । कुमारी बैंकको सञ्चालक समितिले वा व्यवस्थापन समितिले मर्जर तोडेको होइन । सबै कम्पनीको अन्तिम निर्णय गर्ने थलो साधारणसभा हो । साधारणसभाले विपक्षमा जाने निर्णय लियो । हामीले त्यो कुरा मर्ज प्रक्रियामा सहभागी सबै पार्टनरलाई भन्यौ । हामी सबैबीचको मित्रता र सहयोग भविष्यमा पनि हुनुपर्छ भनेर भन्यौ । हामीले त्यसै अनुसारको बेहोरा लेखि पठाएका छौं । उहाँहरुले पनि व्यवहारिक पक्ष बुझ्नु भएको छ ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशन सम्बन्धि नयाँ विनियमावली बनाएको छ । यसले कुमारी बैंकलाई सप्ठ्यारो पार्छ कि अप्ठ्यारो पार्छ ?

नयाँ विनियमावलीलाई धेरै कुरा समेटिएका छन् । यसले मर्ज तथा एक्विजिशनका आधार, मर्ज स्वाप रेसियो निर्धारणको आधारबारे धेरै कुरा स्पष्ट पारेको छ । अलि अगाडि नै आएको भए हाम्रो मर्ज प्रक्रियालाई सहयोग नै गर्ने थियो । नयाँ नीतिले कुमारी बैंकलाई सजिलो वा अप्ठ्यारो बनाउने भन्ने हुँदैन । नियम सबैको लागि हो । यो नीतिको असर हामीलाई कस्तो पर्छ भनेर गहिरो विश्लेषण गर्न बाँकी नै छ ।

बैंकको पुँजी वृद्धि योजना छ ?

विकल्पहरु धेरै छन् । बोनस सेयर र हकप्रद सेयर निष्काशन गरेर पनि पुँजी वृद्धि गर्न सकिन्छ । मर्जमा गएर पुँजी वृद्धि गर्नु अर्को विकल्प हो । आफैले पुँजी थप्दा जोखिम बढी हुन्छ । पुँजी वृद्धि गर्न लगानीकर्ता सक्षम भएपनि त्यसले दिने प्रतिफलको पनि समीक्षा गर्नुपर्छ । उपयुक्त विधि भनेको उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज गर्दा पुँजी वृद्धिसँगै व्यापार पनि वृद्धि हुन्छ । कुमारी बैंकको शाखा नभएको क्षेत्रमा शाखा भएका बैंक तथा वित्तीय संस्थासँग मर्जमा जानु उपयुक्त हुन्छ ।

बैंकका प्रवद्र्धकहरुबीच नै मतभेद तथा विवादका कारण मर्जको प्रयास विफल भएको हो ?

प्रवद्र्धक वा सञ्चालकहरुबीच मतभेद भएकोले मर्जर तोडिएको भन्न मिल्दैन । कार्यव्यस्तता जनाउँदै तत्कालिन अध्यक्ष नूरप्रताव राणाले राजीनामा दिनुभयो । त्यसपछि सन्तोस लामा अध्यक्ष हुनुभयो । मर्जको क्रममा सञ्चालक समिति, मर्जर समिति, व्यवस्थापन समितिमा केही पनि विवाद थिएन । डिडिए रिपोर्ट आएपछि त्यसमा लगानीकर्ताको असन्तुष्टि देखियो ।

धेरै जना प्रवद्र्धक भएको ठूलो संस्थामा केही विषयमा फरक मतहरु आउन सक्छन् । म आउनुभन्दा अघि पनि केही विषयमा मतभेद थिए । धेरै भाँडा एकै ठाउँमा राख्दा ठोकिन्छन्, बज्छन् । यसलाई अन्यथा लिनु परेन ।

बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिका लगानीकर्ता, ग्राहक, कर्मचारी सबैको बीचमा बसेर समन्वय गर्नु पनि हो । प्रवद्र्धकबीच समन्वय गर्न तपाईले कुनै भूमिका खेलिरहनु भएको छ ?
rajib_giri

पछिल्लो समयमा प्रमोटर र बोर्ड सदस्यहरुबीच कुनै समस्या छैन । सबै जनाले बैंकलाई पर्याप्त समय दिनु भएको छ । व्यवस्थापन समितिलाई पूर्ण सहयोग छ । पछिल्लो समयमा कन्फ्लिक्ट छँदैछैन ।

अब कुमारी बैंक कोसँग मर्ज हुँदैछ ?

यो विषयमा अहिले बोल्नु उपयुक्त हुँदैन । विभिन्न विकल्पमा छलफल भईराखेको छ ।

एभरेष्ट बैंकसँग मर्ज हुन लागेको हो ?

यो विषय मेरो जानकारीमा नभएको पनि हुनसक्छ । तर मेरो बुझाईमा एभरेष्ट बैंकसँग मर्जको हल्ला अतिरञ्जित अफवाह मात्र हो ।

तपाईले भन्नुभयो कि आफैले पुँजी वृद्धि गर्नु भन्दा मर्ज नै राम्रो विकल्प हो । अब कुमारी बैंक अरु वाणिज्य बैंकसँग नै मर्ज हुन्छ कि विकास बैंक तथा वित्त कम्पनीलाई कुमारी बैंकमा मर्ज गराउने तयारीमा हो ?

दोस्रो विकाल्पमा जाने हाम्रो सोच छ । राम्रो प्रर्फमेन्स भएका विकास बैंक र फाइनान्स कम्पनीहरु हाम्रो प्राथमिकतामा हुन्छन् ।

अब समय १० महिना मात्र बाँकी छ । यस अवधिमा विकास बैंक र वित्त कम्पनीसँग मर्ज गरेर ८ अर्ब पुर्याउन सकिन्छ ?

हो, समय सीमाको चुनौति छ । तर हामी समय तालिका बनाएर युद्धस्तरमा काम गर्छौ । हामीले छिट्टै पुँजी वृद्धिबारे नयाँ योजना बनाएर राष्ट्र बैंकलाई बुझाउने तयारी गर्दैछौं । डिमर्जको स्वीकृति राष्ट्र बैंकबाट आएपछि सबै प्रक्रिया अगाडि बढ्नेछन् ।

मर्जमा जाँदा कुमारी बैंकको सबल पक्षहरु के हुन् ?

कुमारी नाम नै राम्रो ब्राण्ड हो । यसको सास्कृतिक महत्व अत्यन्तै धेरै छ । विश्वमा नै कुमारी भन्ने नाम छैन । भिडमा हराएको जस्तो लाग्न सक्छ, तर कुमारी बैंकको ब्राण्ड भ्याल्यु राम्रो छ । पुँजी पनि राम्रो छ । विगत तीन वर्षमा बैंकको ग्रोथ राम्रो छ । विजनेश पनि राम्रो छ । सम्पत्ति पनि राम्रो छ । ग्राहकको आधार पनि राम्रो छ । यस बैंकको जनशक्ति पनि तालिम प्राप्त र दक्ष छन् ।

गत वर्षको नाफाबाट सेयरधनीलाई कति लाभांश दिन सक्छ बैंकले ?

अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएकै छ । त्यस आधारमा प्रतिसेयर अर्निङ रेसियो २७ प्रतिशत देखिन्छ । कुनै पनि मापदण्डका आधारमा यसलाई राम्रो भन्न सकिन्छ । त्यही अनुसार बोर्डले लाभांशबारे निर्णय गर्छ । बैंकको लेखापरिक्षण भईरहेको छ । हामी दशैपछि वा तिहार लगत्तै वार्षिक साधारणसभा गर्ने तयारीका साथ काम गरिरहेका छौ ।

अब केही नीतिगत कुरा गरौं । विपन्न वर्र्गमा प्रत्यक्ष २ प्रतिशत कर्जा लगानी गर्न वाणिज्य बैंक किन हिचकिचाएका हुन् ?

वाणिज्य बैंकको कुल कर्जाको २ प्रतिशत भनेको ठूलो रकम हो । चालु आर्थिक वर्षभित्र १.२५ प्रतिशत लगानी गरिसक्नु पर्छ भनेको छ । यो त व्यवहारिक भएन । विपन्न वर्गको कर्जामा लगानी गर्न नयाँ सिस्टम, स्कील र नयाँ जनशक्ति आवश्यक पर्छ । त्यसको लागि अलि बढी समय लाग्छ । दोस्रो, विपन्न वर्गलाई लक्षित गरेर सेवा दिने उदेश्य राखेर खुलेका लघुवित्तहरुलाई राष्ट्र बैंकले स्वीकृत पनि दिँदै आएको छ, उनीहरुलाई प्रोत्साहित पनि गर्दै आएको छ । यस्तो अवस्थामा सोझै वाणिज्य बैंकहरु लघुवित्तसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था कसैको लागि पनि राम्रो हो जस्तो मलाई लाग्दैन ।

विगत एक दशकलाई हेर्ने हो भने कहिले बैंकमा जति नाफा कही पनि छैन जस्तो देखिन्छ । कहिले बैंक तथा वित्तीय संस्था डुब्छन् कि जस्तो पनि देखिन्छ । केही डुबे पनि । आगामी दशक बैकिङ क्षेत्रको लागि कस्तो रहला ?

म आशावादी मान्छे हुँ । करिब २८ वर्ष भयो । त्यसअवधिमा धेरै समस्या आए । सशस्त्र द्वन्द्व, अनिश्चित बन्द हड्ताल, सरकारको बजेट पनि नियमित नहुने, नाकाबन्दी, भूकम्प जस्ता ठूला समस्या हामील भोग्यौं । दैनिक १८ घण्टासम्मको लोडसेडिङ पनि भोगियो । भूकम्पको बारेमा त अनुमान गर्न सकिदैन । त्यसवाहेक विगतमा भोगेका समस्या फेरी पनि भोग्नु पर्ला जस्तो मलाई लाग्दैन । धेरै राजनीतिक परिवर्तन भएका छन् । नयाँ संविधान आएको छ । नयाँ आयोजनाहरु आएका छन् । त्यसैले आगामी वर्षहरुको आर्थिक वृद्धिदर पनि पहिला भन्दा पक्कै राम्रो हुनेछ । बैंकहरुले दिने सेवा, बैंकहरुको नाफामा पनि वृद्धि नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.