बाबुरामको पार्टीमा खटपट, देउवालाई सन्तुलन मिलाउन गाह्रो, गच्छदार पार्टी फुटाउन दौडदूप

  २०७३ भदौ १९ गते २:५४     विकासन्युज

काठमाडौं १९, भदौ । पार्टी स्थापनाको एक वर्ष नपुग्दै नयाँ शक्ति पार्टी भित्र वैचारिक र सांगठनिक मतभेद देखिन थालेको छ।

Bikashnews.com

Bikashnews.com

पार्टी केन्द्रीय कार्यकारी समिति र राजनीतिक समितिका पछिल्ला बैठकहरूबाट ती भिन्नता सतहमा आएको आइतबारको पत्रिकाले समाचार छापेको छ ।

मधेसी जनजाति खस आर्य क्लस्टर राख्ने कि नराख्ने बहससँगै संगठनको स्वरूप कस्तो हुने भन्ने मतभेदका कारण पछिल्ला बैठक प्रभावित भएका छन्।

‘माओवादी पृष्टभूमिबाट आएकाहरू पुरानै किसिमको संरचना चाहन्छन्, हामी प्रत्यक्ष लोकतन्त्रको अभ्यासबाट अघि बढ्ने बहसमा छौ,’ पार्टीका एक उच्च नेताले भने, ‘हाम्रो उहाँहरूसँग अन्तरसंघर्ष छ, पार्टीहरूबीचमा अर्को एउटा पार्टी बनाएर अस्तित्वमात्रै देखाउने कि साँच्चैको बैकल्पिक पार्टी बनाउने ।

काँग्रेसमा देउवालाई आफ्नै समूहभित्र सन्तुलन मिलाउन हम्मेहम्मे

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने बताएका छन्। आकांक्षीहरूको व्यवस्थापन कठिनाइले देउवाले पदाधिकारी मनोनयनमा ढिलाइ गर्दै आएका थिए।
deuwa-pj

पार्टीको प्रभावकारी भूमिकामा रहनुपर्ने उपसभापति नहुँदा उनले आफू विदेश गएका बेलामा कार्यवाहकसमेत दिन नपाएकोउल्लेख छ ।
पार्टीको विधानअनुसार विदेश जाँदा उपसभापतिलाई कार्यवाहक दिने प्रावधान छ । उपसभापति पार्टीको राष्ट्रिय नीति तथा प्रशिक्षण विभागको प्रमुखसमेत रहने व्यवस्था छ।

‘पार्टीका नेताहरूबीच सरसल्लाह गरी पदाधिकारी छिट्टै मनोनयन गर्छु,’ सिंगापुरमा स्वास्थ्य उपचार गराएर शनिबार फर्केका देउवाले विमानस्थलमा भने ।

यसअघि पनि उनले सरकारलाई पूर्णता दिएपछि पदाधिकारी मनोनयन गर्ने बताउँदै आएका थिए । विधानअनुसार सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित २१ सदस्य मनोनयन गर्नुपर्नेछ ।

तीमध्ये मनोनयन भएका पदाधिकारी केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यबाट अनुमोदन हुनुपर्ने विधानको व्यवस्था छ । यही प्रावधानका कारण उनलाई आफ्नै समूहभित्र सन्तुलन मिलाउन कठिनाइ भएको हो ।

उपसभापतिमा पार्टीभित्र छुट्टै समूहको नेतृत्व गरेका नेता खुमबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको मुख्य दाबी छ ।
निधिलाई पार्टीका तर्फबाट सरकारको नेतृत्व गराएर पठाएका कारण खड्काले आफूलाई उपसभापति दिनुपर्ने दबाब दिँदै आएका छन् ।

तर, निधि उपप्रधान तथा गृहमन्त्री पाए पनि आफू नै उपसभापति हुनुपर्ने अडानमा छन् । एउटा मात्रै भूमिकामा बस्नुपर्ने तर्कको खण्डन गर्दै निधिले विगतमा पनि पदाधिकारीहरू नै सरकारमा जाने गरेको नजिर प्रस्तुत गर्ने गरेका छन् । आफूनिकट नेताहरू र सभापति देउवासँग समेत उनले यही अडान राख्दै आएका छन् ।
पार्टी फुट्न नदिन गच्छदारको दौडधूप
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीलाई फुटबाट जोगाउनका लागि आफूनिकट नेतालाई सक्रिय पारेका छन्।bijaya-_kumar
अध्यक्ष गच्छदारले एकलौटी ढंगले सरकारमा सहभागिता नजनाउने निर्णय गरेको भन्दै असन्तुष्ट पक्ष पार्टी नै फुटाउन लागिपरेपछि उनी त्यसलाई विफल पार्ने प्रयासमा देखिएको छ।

असन्तुष्ट पक्षले नयाँ पार्टी गठन गर्ने भन्दै गोप्य भेला गरिरहेको छ। त्यसपछि गच्छदार आफू सरकारमा नगए पनि अरूलाई पठाउन लचिलो देखिएको उक्त पार्टीका एक नेताले बताए। भदौ ५ गदेदेखि एक साता बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उनले सरकारमा नजाने निर्णय गराएका थिए ।

असन्तुष्ट पक्षले गच्छदारले उपप्रधानमन्त्रीसहित मन्त्रालयमा माग गरेको र अरूलाई सरकारमा जान रोक्न खोजेको निष्कर्ष निकालेका थिए।उनीहरुले पार्टी फुटाएर भए पनि सरकारमा जाने तयारी थालेपछि गच्छदार त्यसलाई विफल पार्न सक्रिय रहेको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.