घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको मेरूदण्डः प्रधानमन्त्री

  २०७३ साउन २७ गते ८:१३     विकासन्युज

fncsi with pm news sharwan 27 pics (3) (1)काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार बालुवाटारस्थित निवासमा कुरा गर्दै उनले यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्ने बताए ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षण बिना असम्भव भएको भन्दै उनले आफू सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकारले सदैव निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्ने बताए । मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउन तत्काल के के गर्न सकिन्छ, छिट्टै निजी क्षेत्रसँग बसेर विस्तृत रूपमा छलफल गर्ने आफ्नो सोंच रहेको समेत प्रधानमन्त्रीले सो अवसरमा बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले आर्थिक सुधारका कार्य गर्दा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने सरकारको नीति यथावत कायम रहेको जानकारी दिंदै सोही नीति अनुरूप सरकारले महासंघ जस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता दोहो¥याएका थिए ।

महासंघका अध्यक्ष श्याम गिरीले गत वर्षको भूकम्पबाट ३२ जिल्लाका १७ हजार भन्दा बढी लघु, घरेलु तथा साना उद्योगी पूर्ण रूपमा क्षत विक्षत भएको ५५ जना भन्दा बढी उद्योगी हताहत भएको भन्दै वास्तविक पीडित लघु, घरेलु तथा साना उद्यमीको पहिचान गरी भूकम्प पीडित उद्यमीलाई परिचयपत्र उपलब्ध गराउने र सोका आधारमा पीडित उद्यमीलाई पाँच लाख रूपियाँ अनुदान उपलब्ध गराउन आग्रह गरे ।

भुकम्प तथा नाकावन्दीको मारमा परि क्षतिग्रस्त भएका उद्योगको पुनःस्थापनाका लागि नेपाल सरकारद्वारा स्थापित आर्थिक पुनरूद्घार कोष कार्यविधि जारी भई संचालनका लागि सूचना जारी भईसकेको सन्दर्भमा यस कार्यविधिमा सुधार गरी भुकम्पबाट बढी प्रभावित ३२ जिल्लाका लघु, घरेलु तथा साना उद्योगहरूको पुनरत्थानका लागि तत्काल कर्जा प्रवाह गर्ने व्यवस्था गर्न र यसको सञ्चालक समितिमा लघु, घरेलु तथा साना उद्योगको प्रतिनिधिको हैसियतले महासंघलाई सहभागी गराउन उनले आग्रह गरेका थिए ।

औद्योगिक नीति अनुसारको ऐन तत्कालै जारी भई समयानुकूल परिमार्जन गर्दै जाने परिपाटीको विकास हुन महासंघले आग्रह गर्दै आएको अध्यक्ष गिरीले बताए । लामो समयको प्रयास पछि सरकारले जारी गरेको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका’ मा विदेशी बस्तु भन्दा १५ प्रतिशतसम्म महङ्गो भएपनि स्वदेशमै उत्पादित वस्तु खरिद गर्नुपर्ने प्रावधान रहेको भन्दै नेपाली उत्पादनहरूले स्वदेशमै बजार पाउने र मुलुक औद्योगिकरणतर्फ उन्मुख गर्न सो निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशनका लागि अध्यक्ष गिरीले आग्रह गरेका थिए ।

प्रधानमन्त्रीलाई भेट्न महासंघका अध्यक्ष श्याम गिरीको नेतृत्वमा निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष वासुदेव गिरी, आङदेण्डी शेर्पा, लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्षहरू विष्णु लुइटेल, चन्दनकृष्ण श्रेष्ठ, शोभा गुरूङ, शिवा उपाध्याय, सूर्य कंडेल, हरिहर थापा, मोहन कटवाल, राजेश कोइराला, कुमार गिरी, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यष सत्यनारायण प्रजापति, सचिव प्रमिला बस्नेतलगायतका पदाधिकारी तथा सल्लाहकारहरूको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.