अर्थतन्त्रलाई प्रतिनिधित्व नगर्ने पुँजीबजार

  २०७३ साउन १४ गते १०:३८     शंकर अर्याल

लेखक

केही समयदेखि निरन्तर उछाल आएको नेप्से परिसूचकले हाल दिनहुँजसो नयाँ रेकर्ड कायम गर्न थालेको छ । भूकम्प, नाकाबन्दी, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप एवं भूकम्पपछिको पुनर्निमाणको दयनीय अवस्था आदिका बाबजुत शेयर परिसूचकले आर्थिक बर्षको पहिलो साता १८०० अंकको कीर्तिमानी बनाइसकेको छ । यो अझै बढ्दो अवस्थामा छ । यसरी समग्र अर्थतन्त्रको गतिलाई चूनौती दिँदै शेयर बढ्नुलाई एकातर्फ सकारात्मक दृष्टिले हेर्न सकिन्छ भने नेपाली स्टक बजारले अर्थतन्त्रको गतिलाई प्रतिविम्वित गर्न नसक्नुले अर्कोतर्फ निराशाजनक अवस्थालाई देखाउँछ । यस्तो अवस्था किन भइरहेको छ ? त्यो महत्वपूर्ण विषय हो ।

विश्व बजारको प्रवृत्तिलाई नियाल्ने हो भने राजनीतिक उतारचढाव एवं प्राकृतिक तथा मानवीय प्रकोपले स्टक बजारलाई नकारात्मक प्रभाव पार्छ । केही समय अघिमात्र बेलायतको जनमतसंग्रहको परिणामपछि वेलायतका सबै स्टक परिसूचकका साथै विश्वभरका बजार परिसूचक निक्कै तल पुगेको थियो । त्यसबेला बेलायतमा केही सुन उत्पादक कम्पनीहरुबाहेक अन्य सबै कम्पनीहरुको स्टक मूल्यमा भारी गिरावट आएको थियो । बेलायत इयुबाट छुट्टिने पक्षमा नतिजा आएसँगै स्टकको मूल्यमा एकैदिन ४.८ प्रतिशतले कमी आयो भने विश्व स्टक बजारले कुल २ ट्रिलियन डलर गुमायो । टर्कीमा कू को प्रयाससँगै स्तानबुल स्टकको मूल्य ८ प्रतिशतले तल झरेको थियो । जापानमा सन् २०११ मा भुकम्पपछि आएको सुनामीको असरले स्टक परिसूचकमा ११ प्रतिशतले गिरावट आएको थियो । त्यसबेला जापानको सबैभन्दा बलियो स्टक कम्पनी वेञ्चमार्क निक्की स्टकको मूल्य एकैदिन १००० अंकले घटेको थियो । युक्रेनको क्रिमिया क्षेत्रलाई आफ्नो देशमा गाभेपछि अस्थिर बनेको राजनीतिका कारण रसियाको स्टक परिसुचकले ११.८ प्रतिशत मूल्य गुमाएको थियो ।

राजनीतिक, प्राकृतिक एवं मानवीय विपत्तिहरुले स्टक बजारका लगानीकर्ताहरु असुरक्षित महसुस गर्न थाल्छन् । आफ्नो लगानी सुरक्षाको लागि उनीहरु वास्तविक सम्पत्तिमा लगानी गर्न थाल्छन् । बजारमा माग कम हुने र आपुर्ति अत्यधिक हुनाले मूल्यमा गिरावट आउँछ । यस्ता विश्व परिदृश्यले राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप एवं मानवीय संकटका बेला शेयर बजार नकारात्मक रुपमा प्रभावित हुने गरेको देखाउँछ तर नेपालको शेयर बजार त्यही बेलादेखि बढ्न थाल्यो जब भूकम्प गयो, भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका बेलामै शेयर परिसूकले ऐतिहासिक रेकर्ड कायम गर्न थालेको हो ।

किन उल्टो भइरहेको छ नेपालमा ?

पुँजी बजारका जानकारहरुका अनुसार नेपाली शेयर बजार स्वतन्त्र छैन । केही समय अघिसम्म एकाध व्यक्तिहरुको मुठ्ठीमा चल्ने गरेको नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति तथा धितोपत्र बोर्ड प्रयासका कारण त्यस्तो अवस्थामा केही कमी आएको भए पनि शेयर बजारका औजारहरु स्वतन्त्र रुपले चलिरहेको छ भन्ने विश्वास गर्न सकिदैन । अझै पनि केही सीमित व्यक्तिको इच्छाअनुसार बजार प्रभावित हुने गरेको लगानीकर्ताहरुकै भनाई छ । बजार नियन्त्रणको पुराना शैलीहरुबाट अभ्यस्त भइसकेको अवस्थामा आजकल नयाँ तरिकाले शेयर बजार प्रभावित गर्नेहरु सक्रिय छन् । शेयर बजारलाई सोझै मोडिदिने प्रवृत्ति हाल सभाविक उतारचढावलाई अत्यधिक बनाउनेतर्फ केन्द्रित हुँदै गएको छ । केही अघिसम्म बीमा बजार निरन्तर माथि उठ्यो । यसलाई भुकम्पपछि जनतामा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास भएको रुपमा अथ्र्याइयो तर जनताको आकर्षणले कति विमालेखहरु बिक्री भए त्यो चर्चाको विषय नै भएन । अहिले बिकास बैंकहरुको शेयर बढ्न थालेको छ ।

मौद्रिक नीति विकास बैंकको अनुकुल आएको कारणले शेयर परिसूचक बढेको बताइए पनि अहिलेको वृद्धि स्वाभाविक होइन भन्ने विश्लेषकहरुको बुझाई छ । मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले कृषि क्षेत्रमा १८ प्रतिशत लगानी गर्नैपर्ने नियम आएपछि एकाएक कृषि विकास बैंकको शेयर उच्च वृद्धि भयो । यसको कारण यो हुनसक्छ कि कृषि विकास बैंकको कृषि ऋणको अवस्था अहिलेकै अवस्थामा पनि राष्ट्र बैंकले तोकेको भन्दा निक्कै बढी छ । तर यतिकै कारणले शेयर मुल्य दोब्बरको हाराहारीमा पुग्नु स्वाभाविक छैन । यसमा बजारको कृतिम पक्षको प्रभाव छ । अर्कोतर्फ, शेयर बजार प्रभावित गर्ने पुरानो शैली बजारमा अद्यापि कायमै छ ।

सबै ब्रोकर कम्पनीमा घुम्दै ‘फलानो कम्पनीको शेयर पाए यति हजार कित्ता किनिदिन्थें’ भन्दै हिँड्ने अनि त्यही भनाइकै प्रभावको कारणले बढेको मूल्यमा खुसुक्क आफैसँग भएको शेयर बेचिदिने प्रवृत्ति पनि कायमै छ । एकआपसमा बढी मूल्य तोकेर किनबेच गर्ने अनि त्यसैको प्रभावले बढेको मुल्यमा तेस्रो पक्षलाई बेच्नेजस्ता रणनीति पनि अपनाइने गरेको पाइन्छ । केही प्रभावशाली मिडियाहरुमा प्रायोजित समाचार प्रकाशन/प्रसारण गरेर बजार नियन्त्रणमा लिने प्रयास पनि भइरहेकै छन् । मिडियामा चासो राख्नेले यस्तो अनुभव बारम्बार गरिरहेकै छन् ।

स्टक बजारलाई समग्र अर्थतन्त्रको ब्यारोमिटरको रुपमा लिइन्छ । बुलिस मार्केटले सकारात्मक अर्थतन्त्रको संकेत गर्छ भने बेरिस मार्केटले नकारात्मक अर्थतन्त्रको संकेत गर्छ । तर नेपालमा शेयर बजार उच्च विन्दुमा रहँदा आर्थिक वृद्धिदरभने ०.७७ प्रतिशतमा सीमित छ । यसको कारण एकातर्फ स्टक बजारको नफैलिएको अवस्था हो भने अर्कोतर्फ बास्तविक क्षेत्रको चिन्ताजनक स्थिति पनि हो । राजनीतिक अस्थिरताले वास्तविक क्षेत्र तहसनहस भयो । इन्धन अभाव, कच्चा पदार्थको आयातमा अवरोध एवं चरम उर्जा संकटले नेपाली उत्पादनमूलक उद्योगहरुको जोखिम बढ्दै गयो भने सेवा क्षेत्रले पनि प्रभावकारी रुपमा काम गर्न सकेन यसको यसको प्रभाव अद्यापि कायमै छ । अहिले पनि वस्तु बजार जोखिमपूर्ण स्थितिमा गुज्रिरहेकै छ । यस्तो अवस्थामा पनि वित्तीय संस्थाहरुलाई भने खासै ठूलो असर गरेन । यसर्थ करिब ७० प्रतिशत वित्तीय संस्थाहरुको हिस्सा रहेको शेयर बजारलाई सुरक्षित छानोको रुपमा हेरियो र लगानीकर्ताहरु यसतर्फ आकर्षित भए ।

भूकम्पपछि बैंकहरुमा चरम तरलता अभाव हुने अनुमान विपरित तीस अर्बभन्दा बढी निक्षेप थप हुन गयो । यसबाट के देखियो भने अझै पनि नेपालीहरु घरमा दराजभित्र ठूलो रकम भण्डार गर्ने गर्दारहेछन् । भुकम्पले घरहरु तहसनहस पारेपछि रुपैंयालाई घरमै राख्न असुरक्षित ठानेर बैंकमा जम्मा गर्न थालियो । अनुमान विपरित त्यस्तो निक्षेप आउनु र वास्तविक क्षेत्रले थप ऋणको माग नै नगर्नुले बैंकको तरलता अत्यधिक हुन गयो ब्याजदर हालसम्म न्यून अवस्थामा आइपुग्यो । वाणिज्य बैंकहरुले बचत खाताको निक्षेपको ब्याजदर २ प्रतिशतसम्म कायम गरे जहाँ मुद्रास्फीति भने दोहोरो अंकमा रहन गयो । यसरी बैंकमा बचत गरेको आजको १०० रुपैंयाको मुल्य एक बर्षपछि ९० रुपैंया बराबरमा झर्ने पक्का भएपछि जोखिम मोलेरै भए पनि शेयरमा लगानी गर्ने क्रम बढ्न थाल्यो । यसले शेयर बजारलाई बढायो ।
नेपाली शेयर बजारमा बास्तविक क्षेत्रको उपस्थिति शुन्यप्रायः छ ।

जलविद्युत् कम्पनीहरुलाई छाड्ने हो भने बहुराष्ट्रिय कम्पनी युनिलिभर, बोटलर्स नेपाल, हिमालयन डिष्टिलरी बाहेक अन्य कुनै पनि बास्तविक क्षेत्रका कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएका छैनन् । जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अर्थतन्त्रको मेरुदण्डको रुपमा रहने बास्तविक क्षेत्रलाई पूर्ण वेवास्ता गर्दा शेयर वजार सानो भयो । वास्तविक क्षेत्रलाई समेट्न नसकेको शेयर बजारमा सकारात्मक परिवर्तन त देखियो तर यसले सिद्धान्तजस्तो अर्थतन्त्रको व्यारोमिटरको रुपमा काम गर्न सकेन ।

नियामक निकायहरु पनि अहिलेको शेयर बजारको गतिदेखि सन्तुष्ट छैनन् । शेयर बजार बढ्नुका अनेकौं कारणका बाबजुत पनि नेपाल राष्ट्र बैंकको विश्लेषणमा अहिलेको शेयर बजारको वृद्धि स्वाभाविक होइन । देशको समग्र आर्थिक अवस्थालाई मध्यनजर गर्ने हो भने अहिलेको सेयर परिसूचक १००० को हाराहारीमा थियो भने त्यो प्राकृतिक हुन्थ्यो तर अपेक्षाविपरित यो २००० को नजिक छ । अन्य तत्वले उत्तिकै प्रभाव पार्ने भए पनि बजारमा अवैध सम्पति र माफियातन्त्रको महत्वपूर्ण हात छ । नेपाल धितोपत्र बोर्डले पनि नेप्से १३०० नाघेसँगै शेयर बजारमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै सचेत हुन विज्ञप्ति नै जारी गर्यो तर यसले लगानीकर्तालाई खासै प्रभाव परेको छैन । शेयर बजारको बढ्दो प्रवृत्तिले जनसाधारणको ध्यान आकर्षित गरेकोले पनि शेयर बजार निरन्तर उकालो लागेको विश्लेषण एकातिर गरिन्छ तर नियामक निकायहरुले शेयरले सर्वसाधारणको उठीबास नलागोस् भन्नेमा सचेत भएकैले यस्ता विज्ञप्तिहरु जारी गर्ने गरेका हुन् ।

पुँजी बजारका समस्याहरु:

१. जुवाघरसरी शेयरबजार
शेयर बजारलाई जुवाघरको रुपमा तात्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले परिभाषित गरेकै हुन् । त्योबेला उनको तिव्र विरोध भयो । यस्तो अभिव्यक्तिलाई शेयर बजार ध्वस्त पार्ने नीतिका रुपमा अथ्र्याइयो । संयोग पनि त्यस्तै भयो, त्यही बेला ११०० भन्दा माथि पुगिसकेको सेयर ३०० सम्म झर्यो । तर वास्तविकता त्यही थियो, अझै पनि शेयर बजारलाई जुवाघरको रुपमा हेरेर कारोबार गर्ने धेरै छन् यहाँ ।

कुनै लगानीकर्ताले आफ्नो लगानीको जोखिम कम गर्ने हो भने आफ्नो लगानीको राम्रो बाँडफाँड गर्नुपर्छ । शेयर बजार आफैंमा जोखिमयुक्त प्रकृतिको हुन्छ त्यस्तो जोखिमलाई कम गर्न वा आफ्नो लगानीको केही हिस्सालाई प्रतिफल निश्चित भएका बोण्ड एवं ट्रजरी बिलहरुमा लगानी गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । बोण्ड जोखिमयुक्त हुने भए तापनि यसमा मुनाफा निश्चित हुन्छ, ट्रजरी बिल जोखिम रहित हुन्छ । कमजोर अर्थतन्त्रका बीच चलेका नेपाली वित्तीय संस्थाहरु पनि एकाध बाहेक डुबेरै गएको अवस्था छैन । अझ हालैका दिनमा केन्द्रीय र्बैंकले लिएको मर्जर पोलिसीले संस्थाहरुलाई थप सशक्त बनाइरहेको छ । यसकारण बोण्ड बजारमा लगानी गर्नु अबका दिनमा उपयुक्त हुनसक्छ । छोटो समयको लागि गरिने सरकारी बिलहरुको लगानीले पनि कुल जोखिमलाई घटाउँछ ।

पोर्टफोलियो निर्माणको अर्को क्षेत्र भनेको वास्तविक क्षेत्र पनि हो। वास्तविक क्षेत्रमा गरिने लगानीले अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग गर्छ । यसले लगानीकर्ताको जोखिम घटाउने काम पनि गर्छ । वास्तविक क्षेत्रको विकासविनाको पुँजी बजारको विस्तार सम्भव छैन । पुँजी बजारको घर बलियो हुन वास्तविक क्षेत्रको माटो पनि चाहिन्छ । तर यहाँ अवास्तविक क्षेत्रको ढुङ्गाकै भरमा घर ठड्याउने प्रयास भइरहेको छ यसले जोखिमलाई बढाइरहेको छ । एउटा सक्षम लगानीकर्ताले आफ्नो लगानी सुरक्षाको उपयुक्त योजना नबनाई गरिने लगानी जुवाघरको खेलबाहेक केही हुन सक्दैन । तर यहाँ ठीक उल्टो अवस्था छ, जससँग पोर्टफोलियो बनाउने हैसियत छ उनीहरु शेयर बजारमा हस्तक्षेप कायम गर्न खोज्छन्, जसले यस्तो हैसियत नै राख्दैनन् उनीहरुलाई जोखिमयुक्त लगानीको विकल्प नै रहँदैन । उनीहरु जुवाघरसरी लगानी गर्छन् । एकाधले त कमाउलान् तर अधिकांश फर्कन्छन् जुवाघरमा हारेर रित्तिएको तीतो अनुभव लिएर ।

२. शेयरमा आकर्षण बढ्यो, ज्ञान बढेन

हालैका दिनहरुमा शेयर कारोवार संख्या र रकम हेर्ने हो भने शेयर बजारमा जनसाधारणको सहभागिता बढ्दो छ तर शेयर बजारका लगानीकर्ताहरु बढ्नु भनेको शेयर बजारलाई बुझेर लगानी गर्नु होइन । अझै पनि शेयर बजारमा बुझेर लगानी गर्ने लगानीकर्ता कममात्र छन् । नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक बर्षमा ट्रजरी बिल पटपटक जारी गर्यो । शुन्य जोखिमयुक्त मानिने यो बिलको तोकिएको मुनाफा छ प्रतिशत थियो तर यसमा सर्वसाधारणको आकर्षण देखिएन बैंकले जारी गरेका बिलहरु सबै बिक्री भएनन् ।

वाणिज्य बैकको खातामा २ प्रतिशत ब्याजमा निक्षेप जम्मा गरिरहेका निक्षेपकर्ताहरु उच्च ब्याजदरको शुन्य जोखिमयुक्त बिलमा लगानी गर्दैनन् । यसले सर्वसाधारण त सचेत छैनन् भन्ने देखाउँछ नै शेयर लगानीकर्ताहरुको ध्यान समेत त्यता पुग्न नसकेको प्रष्ट हुन्छ । स्टक बजारका लगानीकर्ताहरुको मुख्य ध्यान भनेको जोखिम न्यूनीकरण गर्ने हुनुपर्छ । शेयर बजार यसै पनि जोखिमपूर्ण हुन्छ तैपनि जोखिमका बीचमा जोखिम कम गर्ने उपायहरु अबलम्बन गरिनुपर्छ । त्यसका लागि लगानीकोे उचित बाँडफाँड गर्नुपर्छ तर त्यस्तो गरेको पाइँदैन । मुद्रा बजारप्रतिको न्यून आकर्षणले बजारको त्यस्तो दाबीहरुलाई प्रमाणित गर्दैन ।

३. चर्को ब्याजमा ऋण लिन्छन्, जनताबाट उठाउँदैनन्

ठूला उत्पादनमूलक उद्योगले किन दोहोरो अंकको ब्याजदरमा ऋण लिन्छन् ? जबसम्म वाणिज्य बैंकहरुले दिने ब्याज २ प्रतिशत भन्दा कम छ । ५/६ प्रतिशतमा कमर्शियल पेपर जारी गर्न सके यसले निक्षेपकर्ता र कम्पनी दुवैलाई फाइदा हुन्छ । त्यसो हुन सके हाल त्यस्ता कम्पनीहरुमा केन्द्रित भईरहेका बैंकहरु जनतामा जान्छन् अनि जनतामा बैंकिङ पहुँच बढ्छ । ब्याजदरको प्रतिस्पर्धाले मनि मार्केट प्रतिस्पर्धी बन्छ । तर यहाँ बैंकरहरु सीमित ठूला उद्योगीहरुलाई रिझाउने काममात्र गर्छन्, जनतामा जाने कुनै सोच नै राख्दैनन् । नेपाल राष्ट्र बैंक पनि खुल्ला बजार अर्थनीतिको विपरित बैंकहरु ग्रामीण इलाकामा जानैपर्ने हस्तक्षेपकारी उपाय अबलम्बन गर्छ । उता भुकम्पपीडितलाई बैंकमार्फत मात्रै अनुदान रकम भुक्तानी गर्ने भन्दै बैंकमा जबरजस्ती खाता खोल्न लगाएर बैंकिङ सेवा उपभोग गर्ने जनताको संख्या बढेको तर्क गर्दछ ।

यसले बैंकिङ पुहँच भएका जनसंख्या त बढाउला बैंकिङ आकर्षण भएका जनसंख्या बढाउन सक्दैन । जब बैंकहरुको उद्देश्य जनतामा जानु नै हुँदैन भने उनीहरुले गर्ने व्यवहारले जनता आकर्षित बनाउन सक्ने कुरै भएन । यदि कमर्शियल पेपरजस्ता बचतकर्ता र ऋणीको प्रत्यक्ष सम्पर्क गर्ने नीति विकास गरिदिएमा बैंक जनतामा जान्थे भने जनतामा बैंकिङ आकर्षण बढ्थ्यो । यसले वास्तविक क्षेत्रको विस्तारमा सहयोग गर्नुका साथसाथै मुद्रा बजारमा जनताको आकर्षण बढाउँथ्यो । यसरी लगानीका प्रशस्त ठाँउहरु विकास हुँदा लगानीकर्ताले उचित पोर्टफोलियो बनाएर कम जोखिममै लगानी गर्न सक्थे । अर्कोतर्फ एउटै क्षेत्रमा थुप्रिएको तरलता फैंलिदा शेयर बजारको अस्वाभाविक उछाल रोकिन्थ्यो । तर यसमा एकातर्फ नियामक निकायको कमजोरी छ भने अर्कोतर्फ कम्पनीहरुको मानसिकता पनि कमजोर छ । नेपालमा कमर्शियल पेपर जारी गर्ने प्रचलन हालसम्म चलेको छैन ।

जनताबाट कम्पनीहरुले छोटो समयको लागि सीधै पैसा उठाउँदा जोखिम बढ्ने भन्दै हालसम्म कसैलाई पनि यस्तो अनुमति दिइएको छैन । लामो समयको वोण्डको विक्रीसम्बन्धी व्यवस्था भए पनि कम्पनीहरुकै कमजोर मानसिकताको कारण उनीहरु वोण्ड जारी गर्न रुचि राख्दैनन् । बिक्रीका लागि खुलाइएका बोण्डहरु कसैगरी बिक्री भएन भने त्यसले संस्थाकै ख्याती गुम्ने डरले यसतर्फ कोही अघि नबढेका हुन् । यसले ठूला कम्पनी र बैंकहरुको अन्तरनिार्भरता बढाइरहेको छ । बैंकरहरुलाई ठूला ऋणीहरु रिझाउनु नै महत्वपूर्ण हुन्छ । बैंकिङ क्षेत्र यसकारण जनमूखी हुन सकेका छैनन् । बैंक जनतामा जाने होइन कि जनता बैंकमा आउनुपर्ने अवस्था अझैं वित्तीय क्षेत्रमा कायमै छ ।

पुँजीबजारलाई सशक्त बनाउने बाटो
शेयर बजारको बढ्दो प्रवृत्ति र अन्य पक्षहरुको बजारको निराशाजनक स्थितिनै अहिलेको पुँजी बजारको मुख्य समस्या हो । २०५० साल माघ ३० गते सर्वप्रथम दोस्रो बजारमा शेयर खरिदबिक्री सुरु भएकोमा नेपालले स्टक बजारमा चौथाई शताब्दीको अनुभव सँगालिसकेको छ । यति समयसम्म आइपुग्दा शेयर बजारले बल्ल गति लिन थालेको छ । आजका दिनमा निरन्तर बढ्दै गएको शेयर परिसूचकलाई जुनसुकै रुपमा अथ्र्याइए पनि शेयर बजारमा सर्वसाधारणको आकर्षण बढेको यथार्थतालाई भने नकार्न सकिदैन तर शेयर बजारप्रतिको यो आकर्षणलाई पुँजी बजारकै विकासको रुपमा परिभाषित गरिनु गलत हुन्छ ।

किनभने स्टक बजारमा वास्तविक क्षेत्रसँग सम्बन्धित कम्पनीहरुलाई समेटेर बजार फराकिलो बनाउनु एकातर्फ अपरिहार्य छ भने शेयरबजार बाहेक बोण्डबजार, डेरिभेटिभ बजार जस्ता पुँजी बजारका अन्य महत्वपूर्ण औजारहरुको विस्तार गर्नु एवं त्यसतर्फ जनआकर्षण बढाउनु अर्को महत्वपूर्ण विषय हुन्छ । यी विषयहरुमा उल्लेख्य प्रगति नभएसम्म विकसित पूँजी बजारको कल्पना गर्न सकिदैन । अर्थतन्त्रको उतारचढावको हिस्सेदारी लिने हैसियत त्यसभन्दा अगाडी यो बजारले राख्न सक्दैन । अहिलेको अवस्थामा पुँजी बजारको एउटा हिस्साको रुपमा रहने शेयर बजार केही माथि उठ्यो तर फराकिलो हुन सकेन यसलाई फराकिलो बनाउने उपाय नै पुँजी बजार विस्तारको कडी हो स्टक बजारभित्रै विविधिकरण भित्र्याएर जोखिमलाई कम गर्ने अवस्था विकसित गराउनु अपरिहार्य छ ।

नेपालमा शेयर र बोण्ड बजारबाहेक अन्य क्षेत्रहरु आजसम्म अगाडी आएका छैनन् भने अगाडि आएको बोण्ड बजारले पनि गति लिन सकेको छैन । नेपाल स्टक एक्सचेञ्जले वोण्ड खरिदविक्रीको व्यवस्था गरेको भए पनि त्यसको कारोबार नगन्य मात्रामा मात्र हुन्छ । डेरिभेटिभ मार्केट, नेगोसिएटेड मार्केट एवं फ्यूचर एण्ड फरवार्ड मार्केटहरुजस्ता पुँजी बजारका बहुआयामिक क्षेत्रहरुको सुरुवात समेत हुन नसक्नु पुँजी बजारको दुःखद पक्ष हो । नेपाल धितोपत्र बोर्डले सूचिकृत नभएका शेयरहरुको खरिदविक्रीको लागि हालैका दिनमा नेगोसिएटेड मार्केट विकासको अवधारणा ल्याएको छ ।

त्यस्तै वास्तविक क्षेत्रले उत्पादन गर्ने वस्तुहरुसमेतको विनिमय गर्न सकिने गरी डेरिभेटिभ मार्केटको अवधारणा पनि ल्याइएको छ । तर शेयर बजार विस्तारकै लागि एक चौथाई शताब्दी लाग्नु एवं वोण्ड बजारबारे जनतामा खासै जानकारी नै नहुनुले नेपालमा यस्ता आधुनिक अवधारणा लागु हुन कयौं बर्ष लाग्नसक्ने देखाउँछ । शेयर बजार जसरी आज सर्वसाधारणमैत्री छ, बोण्ड मार्केट, अप्सन मार्केट, डेरिभेटिभ मार्केट आदिलाई पनि त्यस्तै सर्वसाधारणमैत्री बनाउन सके अर्थतन्त्रको उतारचढावलाई निर्दिष्ट गर्नसक्ने पुँजीबजार निर्माण हुन असम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.