आधुनिक कृषि प्रविधितर्फ किसान तानिए

  २०७३ असार ८ गते ७:१६     विकासन्युज

बैतडी, ८ असार । बैतडीका किसान आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका छन् । वासुलिङ्ग–२ मा रहेको प्रगतिशील कृषक समूहका किसान आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका हुन् । बैतडीमा सञ्चालनमा रहेको किसान परियोजनाको सहयोगमा उनीहरु आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका हुन् । किसान परियोजनाको सहयोगमा तरकारी खेती, मकै खेती तथा मुसुरो खेतीमा नयाँ प्रविधि सुरुवात गरिएको प्रगतिशील कृषक समूहका अध्यक्ष मोहन बिष्टले बताए। उनले भने, “अहिले मकै खेतीमा पनि नयाँ प्रविधि अपनाएका छौँ ।”

हाल तरकारी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि, थोपा सिँचाइ प्रविधिका माध्यमबाट तरकारी खेती सुरु गरिएको समूहका सदस्य प्रेमबहादुर बिष्टले भने, “नयाँ प्रविधिबाट आफूहरुलाई धेरै फाइदा भएको छ ।” परम्परागत खेतीभन्दा आधुनिक प्रविधिका माध्यमबाट खेती गर्दा फाइदा हुने गरेको समेत उनले बताए । आधुनिक प्रविधिबाट खेती गरेमा उत्पादनमा वृद्धि हुने कृषि प्राविधिकहरुले बताएका छन् ।

समूहमार्फत गहुँत सङ्कलन गर्दै
वासुलिङ्ग–२ का किसान समूहमार्फत गहुँत सङ्कलन गर्न थालेका छन् । गहुँत सङ्कलनको माध्यमबाट गोठ सुधार गर्ने र मलका रुपमा प्रयोग गर्नका लागि गहुँत सङ्कलन गर्न थालेको प्रगतिशील कृषक समूहका अध्यक्ष मोहनबहादुर बिष्टले बताए। “सङ्कलन गरिएको गहुँत जैविक विषादी र मलका रुपमा प्रयोग गर्न सकिने भएकाले सङ्कलन गरिरहेका छौँ”, उनले भने, “सङ्कलन गरेको गहुँतले विभिन्न बालीमा लाग्ने रोगकीरा नियन्त्रणका साथसाथै मलभको समेत काम गर्ने गरेको छ ।”

कृषक समूहका १० जनाले गहुँत सङ्कलन गरेर प्रयोग गर्न थालेको बताइएको छ । आफूहरुले सङ्कलन गरेको गहुँतलाई आवश्यकताअनुसार तरकारी बालीमा मल र विषादीका रुपमा प्रयोग गर्ने गरेको किसान प्रेमबहादुर बिष्टले बताए । उनले भने, “यसका साथै गोठमा वस्तुभाउलाई लाग्ने रोगमा समेत कमी आएको छ ।” गहुँत सङ्कलनका माध्यमबाट गोठको सुधार हुनुका साथै बालीनालीमा प्रयोग गरेमा बाली सप्रिने कृषि प्राविधिकले बताएका छन् । जिल्ला कृषि विकास कार्यालयले समेत वासुलिङ्ग गाविसमा भकारो सुधार कार्यक्रमका माध्यमबाट किसानलाई गहुँत सङ्कलन गर्ने सीप सिकाएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.