फाइनान्स कम्पनी र विकास बैंकको बजार प्रशस्त छ-झपट बोहरा

  २०७२ फागुन ९ गते १९:१७     विकासन्युज

भपट बोहरा बैंकिङ क्षेत्रमा चिनिएको नाम हो । मालिका विकास बैंकको संस्थापक कार्यकारी अध्यक्ष बोहरा पछि साझा विकास बैंकको अध्यक्ष हुँदै सिनर्जी फाइनान्सको अध्यक्ष बन्नु भएको छ । समस्यामा रहेको यो फाइनान्स उहाँको नेतृत्वमा सुधार होला वा नहोला ? तर धेरैले सुधारको आश गरेका छन् । प्रस्तुत छ : विकास बैंक संघका पूर्व अध्यक्ष समेत रहेका बोहरासँग फाइनान्स सुधारका योजना के छन् भनेर गरिएको विकास वहस ।[divider]

झपट बोहरा,अध्यक्ष, सिनर्जी फाइनान्स लिमिटेड

झपट बोहरा,अध्यक्ष, सिनर्जी फाइनान्स लिमिटेड

मालिका विकास बैंकको अध्यक्ष छोडेर साझा विकास बैंकको अध्यक्ष हुनुभयो, फेरी सिनर्जी फाइनान्सको अध्यक्ष हुनुभएको छ, किन यसरी संस्था परिवर्तन गरिरहनु भएको ?

मालिका विकास बैंक मेरै अगुवाईमा स्थापना भयो । पहिलो पटक राजधानी बाहिर विकास बैंक स्थापना गर्ने कामको नेतृत्व गरेँ र १२ वर्ष मालिका विकास बैंकको कार्यकारी अध्यक्ष भएर काम गरेँ । मालिकालाई एउटा उचाईमा पुर्याएपछि मैले छोडेँ ।

ग्रोमर मर्चेण्ट बैंकर लिमिटेड पनि मेरै अगुवाईमा स्थापना भएको हो । यो कम्पनी प्रभु ग्रुपले लियो । साझा विकास बैंक पनि मेरै अगुवाईमा स्थापना भएको हो । त्यो राम्रै रुपमा सञ्चालन भैरहेको छ । म करिब महिनादेखि सिनर्जी फाईनान्सको अध्यक्ष बनेको छु । तत्कालिन एल्पिक एभरेष्ट फाइनान्सको थोरै सेयर किनेको थिएँ । मर्जपछि सिनर्जी फाइनान्स बन्यो । अहिले यो फाइनान्स सुधारको चरणमा छ । यसलाई पनि सुरक्षित अवतरण गराउनु पर्नेछ ।

मैले मालिकाको प्रमुख कार्यकारी अधिकृतका रुपमा मात्रै जागिर खाएँ । अहिले म कर्मचारी होइन, प्रोफेसनल बैंकर र इन्टरप्रेनर हुँ । इन्टरप्रेनरका रुपमा कम्पनीहरुको स्थापना गरिरहेको छु । प्रत्येक मान्छेले आफू भित्र रहेको उद्यमशिलता देखाउन सक्नुपर्छ । एकै ठाउँमा बसिरह्यो भने उद्यमशिलता निष्क्रिय हुन्छ । ठाउँ परिवर्तन गर्दा अवसर र ज्ञान समेत हासिल गर्न सकिन्छ । अहिले उद्यमशिलता देखाउँदै अघि बढिरहेको छु । यसले मलाई र मैले नेतृत्व गर्ने दुबै संस्थालाई फाइदा पुगेको हुन्छ ।

समस्यामा गुज्रिरहेको सिनर्जी फाइनान्सलाई कसरी अघि बढाउनु हुन्छ ?

राम्रा संस्थाहरुमा जो सुकैले नेतृत्व गर्न सक्छन् । त्यहाँ मेरो आवश्यकता पनि पर्दैन । जहाँ समस्या र चुनौति छन्, त्यहाँ गएर ती चुनौतिहरुको सामना गर्दै अघि बढाउनुमा छुट्टै आनन्द हुन्छ । सिनर्जीमा हामीले सुधारका प्रक्रिया अघि बढाईसकेका छौं । अप्ठेरापछि सहज परिस्थिति आउँछ नै । हामी विधिको शासन र नीति नियमको पालना गर्छाै । नीति नियमको सच्चा पालना गर्दै कर्जा असुली द्रुतगतिमा अघि बढेको छ । खराब कर्जाधारीहरु पनि सम्पर्कमा आईरहेका छन् । पुस मसान्तसम्ममा करिब एक करोडको सञ्चालन मुनाफा आर्जन गरिसकेका छौं । संस्थालाई दीर्घकालिन रुपमा दिगो बनाउन सञ्चालकदेखि सबै कर्मचारी लागिपरेका छन् ।

चालु आर्थिक वर्षको अन्तिमसम्ममा संस्थाको अवस्था कस्तो हुन्छ ?

असार मसान्त भित्र सिनर्जी फाइनान्सलाई यहि पूँजी, यहि व्यवस्थापन र यहि कर्मचारी संरचनाले सक्षमरुपले सञ्चालन गर्न सक्ने अवस्थामा पुर्याउँछौं । त्यो हाम्रो वित्तिय विवरणले देखाउने छ । १२ करोड कर्जा असुली गरियो भने नाफामा २४ करोडले वृद्धि देखिन्छ । असार मसान्तसम्ममा संचित नोक्सानी आधा भन्दा बढि घटाईसक्छौं । खराब कर्जा ३४ प्रतिशतबाट घटाएर २० प्रतिशत भन्दा तल झार्छाै । असार मसान्तसम्ममा फाईनान्सलाई सञ्चालन मुनाफामा लैजान सकिन्छ ।

लगानीकर्ताले प्रतिफल पाएपछि साँचो अर्थमा संस्था सुधारिएको मानिन्छ, सेयरधनीले लाभांश कहिले पाउँछन् ?
थुप्रै व्याज असुली गर्न बाँकी छ, भाका नाघेका कर्जा छन् । गैर बैंकिङ सम्पति पनि धेरै छ । तीनको असुलीपछि लाभांश दिन सकिन्छ । अर्थतन्त्र सुध्रिदै गयो र हामीले भने जस्तै भयो भने आगामी आर्थिक वर्षको नाफाबाट लगानीकर्ताले केहि न केहि लाभांश पाउँछन् ।

खराव भएका कर्जाहरुको धितो सुरक्षणको अवस्था कस्तो छ ?

हामी शतप्रतिशत खराब कर्जा असुल्न सकिन्छ भन्नेमा विश्वस्त छैनौं । तर धेरै जसो कर्जा भने असुल्न सक्छौं । खराब ऋणीहरुसँगको अन्तरक्रियाबाट धेरै हदसम्म ऋण उठाउन सकिन्छ भन्ने देखिएको छ । हामीसँग ७५ देखि ८० करोडको स्थिर सम्पति छ । नेपालका फाइनान्स कम्पनीमध्ये राम्रो स्थिर सम्पति भएको कम्पनी हो सिनर्जी । ३० देखि ४० करोडको पोर्टफोलियो तलमाथी भएपनि फरक पर्दैन् । हामीसँग ब्याकअप राम्रो छ । स्थिर सम्पति धेरै छ । ऋणीको ब्याक अप पनि राम्रो छ । केहिका लागि राईट ब्याक गर्नुपर्छ । केहिलाई बैंकिङ कसुर लगाउन सकिन्छ । बहुसख्याक ऋणमा धितो राम्रो छ । हामीले नयाँ भ्यालुएटर नियुक्त गरेर कर्जा र धितोका पुनः मुल्यांकन गरिरहेका छौं । कुन ऋणी र धितोको अवस्था के हो भनेर हेरिरहेका छौं ।

कर्जा तीर्न नसक्ने ऋणीका लागि एउटा फण्ड बनाएर काम गर्दैछौं । अप्ठेरोमा परेको ऋणी र संस्थालाई नै पनि यसले सहयोग नै गर्छ । हिजो धितो लिँदा दुई लाख मूल्य निर्धारण गरिएको थियो भने अहिले सात लाख मूल्य निर्धारण हुन सक्छ । त्यसकारण सिनर्जी फाईनान्स नयाँ ढंगले अघि बढ्छ र आफ्नो पोजिसन सुधार गर्छ । त्यसका लागि हामीले सबै प्रक्रिया अघि बढाईसकेका छौं । छिट्टै सकारात्मक परिदृष्य देख्न सकिन्छ ।

डिपोजिटको साईज पनि घटेको छ, लेण्डिङ पनि घटेको छ, तपाईले योजना बनाएअनुसरा उपलब्धी हासिल कसरी हुन्छ ?

हामीसँग लगानीका पर्याप्त अवसरहरु नभएर एग्रेसिभले डिपोजिट नलिएका हौं । कर्जाको कुरा गर्ने हो भने कमर्सियल बैंकले ६ देखि ७ प्रतिशतमा कर्जा उपलब्ध गराईरहेका छन् । हामी सस्तोमा निक्षेप लिएर सस्तोमै कर्जा प्रवाह गराउने योजनामा छौं । छिट्टै निक्षेपमा पनि बढाउने र कर्जा पनि बढाउने लक्ष्य छ । निक्षेपमा दिने ब्याजदर र कर्जामा लिने ब्याजदरको तादम्यता मिलाएर निक्षेप र कर्जाको आकार बढाउँछौं । गत असोज मसान्तमा एक अर्ब ८० करोड निक्षेप थियो अहिले १० करोड बढेर एक अर्ब ९० करोड पुगेको छ । अब कर्जाको प्रवाह पनि बढ्छ । सबै शाखालाई टार्गेट दिईसकेका छौं ।

मर्जमा जाने वा आफैं पूँजी पुर्याउने हो ?

अहिले बाफिया ऐनको संसोधन प्रक्रिया अघि बढेको छ । त्यसले फाईनान्स कम्पनीहरुको उदेश्य के के राख्छ ? के थपिन्छ वा के घटाईन्छ ? फाइनान्सलाई सञ्चालन गर्न सक्ने अवस्था रहन्छ वा रहन्न भन्ने पनि हेर्छाै । नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धिको नियमको अक्षरस पालना गर्नु हाम्रो दायित्व हो । सोही अनुरुप फाईनान्स कम्पनी नै रहँदै ८० करोड पुँजी पुर्याउने कि विकास बैंकसँग मर्जमा जाने कि वा बाणिज्य बैंकसँग मर्जर वा एक्विजिसनमा जाने भन्ने सबै विकल्प खुल्ला छन् । जहाँ सहज हुन्छ त्यही सहकार्य हुन्छ । अहिले नै यहि गर्ने भन्ने निष्कर्ष निकालि सकिएको छैन । हाम्रो पहिलो लक्ष्य भनेको संस्थाको आन्तरिक वित्तय अवस्था सुधार्नु हो । अवस्था सुध्रेपछि बाणिज्य बैंकले पनि राम्रो मूल्य दिन्छन् । त्यसरी मर्जमा गईयो भने सेयरको मूल्य बढि पनि पाईन्छ र कर्मचारीको व्यवस्थापन पनि सहज हुन्छ । प्रारम्भिक चरणमा केहि संस्थाहरुसँग छलफल पनि गरिरहेका छौं । उपयुक्त समयमा उपयुक्त निर्णय गर्नेछौं ।

यी त तत्कालिन कार्यक्रम भए, दीर्घकालिन योजना के छन् ?

स्ट्याण्डर्ड चाटर्ड बैंकले नै पनि पूँजी वृद्धिको योजना बुझाउन सकिरहेको छैन । हामी त फाईनान्स कम्पनी हौं त्यो पनि नाजुक अवस्थामा पुगेको छ । केन्द्रीय बैंकले दिएको पूँजी वृद्धिको योजना अनुसार हामी अघि बढ्ने हो । त्यसका लागि सबै विकल्पहरु खुल्ला गरेका छौं । हाम्रो पहिलो प्राथमिकता भनेको कम्पनीको वित्तीय अवस्था सुधार गर्ने नै हो ।

विकास बैंक र फाइनान्स कम्पनीहरुलाई सर्भाइभ हुन मुस्किल जस्तै देखिएको छ, कसरी अघि बढ्ने ?
कतिपय विकास बैंकको सेयर मूल्य बाणिज्य बैंकको भन्दा बढी छ । डिपोजिट ग्रोथ र खराब कर्जा पनि बाणिज्य बैंकको भन्दा राम्रो देखिन्छ । ऐन कानुनले विकास बैंक र फाइनान्स कम्पनीलाई प्रशस्तै ठाउँ दिएको छ । त्यसको सदुपयोग गर्न सक्ने क्षमतामा भर पर्छ । उदेश्य, क्षेत्र र योजना साथ अघि बढियो भने खासै समस्या छ जस्तो मलाई लाग्दैन । क, ख, ग र घको वर्गिरकण हट्ने भन्ने सुनिएको छ । यद्यपी आफ्नो उदेश्य अनुसार अघि बढ्ने कुरामा समस्या नहोला ।

बणिज्य बैंक र विकास बैंक तथा फाईनान्स कम्पनीको ब्याजदरमा दुई गुणको अन्तर छ, यति ठूलो ब्याजदरको अन्तरलाई चिर्दै कसरी प्रतिष्पर्धा गर्ने ?

घ वर्गका वित्तिय संस्थाले २० देखि २२ प्रतिशतमा कर्जा लगानी गरिरहेका छन् । सहकारीहरुले २४ देखि २८ प्रतिशतमा कर्जा लगानी गरिरहेका छन् । फाईनान्सले १२ देखि १८ प्रतिशतमा लगानी गरिरहेका छन् । विकास बैंकले १० देखि १४ प्रतिशतमा लगानी गरिरहेका छन् भने बाणिज्य बैंकहरुले ६ देखि १० प्रतिशतमा ऋण लगानी गरिरहेका छन् । सहकारी, फाइनान्स, विकास बैंक र बाणिज्य बैंकका आ आफ्नै प्रकारका उपभोक्ता छन् । सबैको आफ्नै बजार छ । बाणिज्य बैंक नभएको ठाउँमा विकास बैंक र फाइनान्सले बजार खोज्ने हो ।

कम लागतमा निक्षेप ल्याएर कम ब्याजदरमै ऋण लगानी गर्ने हो । वित्त कम्पनी र विकास बैंक तथा फाईनान्सले महंगो लागतमा निक्षेप संकलन गर्ने भएकाले ऋणको ब्याजदर पनि बढि नै हुन्छ । सबैको आफ्नै क्षेत्र र बजार छ । आत्तिनु पर्ने अवस्था छैन ।

तत्कालै नयाँ लगानी केमा गर्दै हुनुहुन्छ ?

जीन्दगीको दुर्भाग्य भनौं, सात बर्षदेखि इन्स्योरेन्स कम्पनी पाईप लाईनमा थियो । ग्रोमर यति धेरै अघि बढि सक्यो तर इन्स्योरेन्स कम्पनी ल्याउन सकिएको छैन । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटिड (जिआईसी नेपाल) नाम थियो त्यसको । तर अहिलेसम्म पनि लाइसेन्स पाउन सकिरहेको छैन् । रेगुलेटरी बडिको आफ्नै नीतिले होला सायद लाईसेन्स पाईएन । ५० वर्षको उमेर पुग्यो । धनगढीमा बाख्रा पालन सुरु गरिसकेको छु । त्यसलाई व्यवसायीक रुपले अघि बढाउने भन्दा पनि कृषि प्रधान मुलुकको गरिमा जोगाउन भनेर मात्रै बाख्रा पालन सुरु गरेको हुँ । ८० भन्दा बढि बाख्रा छन् । बेचेर पैसा कमाउने भन्दा पनि सोख हो मेरो । बच्चामा स्कुल विदा हुँदा बाख्रा चराउन जान्थे । त्यसकै सम्झनामा बाख्रा पालेको हुँ । त्यसबाट आत्म सन्तुष्ठि मिल्छ । अब १५ वर्षजति सक्रिय जीवन बाँकी होला । अब सामाजिक काम तिर लाग्छु होला । अब दिन दुःखीको सेवा गर्ने सोच बनाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.