देशको विकास नागरिकको पौरखबाट हुन्छ, सरकारबाट हुदैन-रामेश्वर खनाल

  २०७२ माघ ११ गते १४:५५     विकासन्युज

Rameshwor-khanal

रामेश्वर खनाल

नयाँ शक्तिमा लाग्नुको कारण के हो ?

नेपालको राजनीतिमा नयाँ विचारधाराको खाँचो रहेको महसुस भएको, यस विषयमा वहस चलेको धेरै समय भयो । खासगरी राजनीतिक दलहरुले जनताको सेवा गर्ने, उनीहरुलाई शिक्षित गर्ने, आम नागरिकको आचरण, संस्कार सुधार गर्ने तर्फ काम गरेनन् । अस्तित्वमा रहेको १२५/३० दलमध्ये कुनै पनि दलहरु जनताको सेवामा केन्द्रीत भएनन् ।सरकारमा गएपछि हाम्रो जिम्मेवारी के हो, देश र जनताप्रतिको दायित्व के हो भनेर दलका नेता र कार्यकर्ताले सोचेनन् ।

कांग्रेस, एमाले, माओवादी वा क्षेत्रीय, जातीय मुद्दा उठाएर राजनीति गर्दै आएका सबै दलको संरचना, नीतिगत आधार, विचारधारा आन्दोलन गर्ने वा युद्ध गर्ने र हक अधिकार प्राप्ति गर्नेतर्फ केन्द्रीत छन् । दलहरुको काम भनेको सर्वसाधारणलाई संगठित गर्ने, भेला गराउने, आन्दोलन गर्न सिकाउने, ढुंगामुडा गर्न सिकाउने, तोडफोड गर्न प्रेरित गर्ने, आन्दोलनमा सहभागि गराउने र आन्दोलन गरेर सत्तामा पुग्ने तर्फ केन्द्रीत भयो । त्यस्तै, मुख्य दलहरुको नेतृत्व जनतासँग प्रत्यक्ष सम्पर्कमा पनि रहेनन् । भातृ संगठन वा दलालहरुले बीचमा बसेर काम गरे ।

त्यस्तै, कुनै पनि राजनीतिक दलमा नीति निर्माणको लागि पर्याप्त अनुसन्धान, वहस, चिन्तन मनन् भएन । कुनै नेताले कुनै मञ्चमा गरेको भाषणलाई आधार मानेर पार्टीको नीति नै यहि हो भन्ने अभ्यास गरियो । पछिल्लो समय भारतसँगको विकसित सम्बन्ध यसैको परिणाम हो । भारत र चीनबीच विकसित हुँदै गएको सम्बन्ध, दुई देशबीच आर्थिक विकास र अन्तराष्ट्रिय सम्बन्धमा बढ्दै गएको समझदारीबारे नजरअन्दाज गर्दै भारतले सहयोग नगरे चीनले सहयोग गर्छ भनेर चीनसँग सहयोग मागियो तर नेपालले भनेजस्तो सहयोग चीनले गरेन् । नेपालीले दुःख पाए ।

दलहरुमा नयाँ मान्छेलाई प्रवेश गराउने, विशेष ज्ञान, सीप भएकाले व्यक्तिहरुलाई सोही अनुसार जिम्मेवारी दिने अभ्यास पनि भएन । आन्दोलनमा लडेका, ढुङ्गा लागेका, प्रहरीबाट कुटाई खाएका, जेलमा थुनिएका, निधारमा खत देखाउन सक्ने, अनुहारमा खत देखाउन सक्ने, हात खुद्दा भाँचिएको वा अंगभंग भएको देखाउन सक्नेलाई जिम्मेवारी दिने वा अवसर दिने अभ्यास भयो । यसरी त्याग गरेका व्यक्तिहरुलाई पाखा लगाएर पीएचडी गरेको वा खास क्षेत्रमा विज्ञता हासिल गरेको नयाँ व्यक्तिलाई कहाँ अवसर दिने ? भन्ने सोचका साथ काम गरे ।

नयाँ मान्छे प्रवेशको अवसर दिए पनि प्रस्तान विन्दु एउटै हुने । निरक्षर छ भने पनि एसएलसी पास गरेको छ भने पनि वा पीएचडी गरेको छ भने पनि, उच्चस्तरको ज्ञान र अनुभव भएको व्यक्तिलाई पनि प्रवेश विन्दु एउटै, समान व्यवहार गर्ने गरिन्छ । त्यसैले उच्चस्तरको ज्ञान र अनुभव भएका व्यक्तिहरु पार्टीमा प्रवेश नै नगर्ने वा गरेमा पनि डिमोरलाई हुने र फेरी वाहिरी, निष्क्रिय हुने गरेको पाईन्छ ।

अब नेपालमा नागरिकहरु अधिकार सम्पन्न भईसके । नागरिकहरुबीचमा राज्यबाट विभेद हुँदैन । खान्दान परिवारबाट आएको र गरिब परिवारबाट आएको भनेर विभेद हुँदैन । सत्तामा बस्नेहरुले संविधान, कानुनको पालना गर्नु नपर्ने, नागरिकहरुले पालना गर्नु पर्ने अवस्था अब छैन । त्यसैले अब आन्दोलन, तोडफोडको राजनीति होइन, जतनालाई सेवा गर्ने राजनीति जरुरी छ । यही सोचका साथ नयाँ शक्ति निर्माण अभियान चलेको छ । म यो अभियानको शुभेच्छुक हुँ ।

तपाई नेपाली कांग्रेसमा किन लाग्नुभयो र किन छाड्नु भयो ?

म अर्थसचिव हुँदा विभिन्न संसदीय समितिमा भाग लिने मौका मिल्यो । छलफलमा सहभागी भए । तर त्यति महत्वपूर्ण ठाउँमा उच्चस्तरको वहस हुनुपर्ने हो, त्यो भएन । मेरो संलग्नतामा तयार भएको बाफिया लगायत धेरै विधेयक संसदमा थन्किएर बसे ।

त्यसपछि देश र जनताको हितमा नीतिगत सुधारको ठाउँमा बसेर काम गर्ने चाहाना बढेर गयो । सभासद भएर नीति निर्माण तहमा रहेर काम गर्ने उदेश्यले नै म नेपाली कांग्रेसमा प्रवेश गरे । पार्टीमा लाग्नुको उदेश्य त्यो वाहेक अरु केही पनि थिएन ।

तर मेरो निधारमा ढुङ्गा लागेको खत थिएन । मैले निर्वाचनमा टिकट पनि पाईन, समानुपातिकमा पनि नाम मात्र राखियो, निर्णय भएन । मन्त्री भएपछि महेश आचार्यले मलाई राष्ट्रपति चुरे भावर मधेश प्रदेश संरक्षण समितिको जिम्मेवारी लिन भन्नुभयो । मैले ‘मेरो चाहाना छैन’ भने । ‘तपाई बाबुराम भट्टराईको सल्लाहकार भएर काम गर्ने, उहाँलाई सहयोग गर्ने, मलाई किन सहयोग नगर्ने भन्नुभयो ।’ म कन्भिन्स भए र काम पनि गरे ।

Rameshwar-khanal

तपाईमा अस्थितरता देखिन्छ । अर्थसचिवबाट राजीनामा गर्नुभयो, त्यसपछि सार्वजनिक पदको जिम्मेवारी लिन्न भन्नुभयो, फेरी प्रधानमन्त्री बाबुराम भट्टराईको सल्लाकार बन्नुभयो, पछि कांग्रेसमा लाग्नु भयो, फेरी नयाँ शक्तिमा लाग्नुभयो, यहाँ कति टिक्नुहुन्छ ?

यो प्रश्न धेरैले गर्छन, धेरै ठाउँमा जवाफ दिई पनि सकेँ । यस्तो प्रश्न आफैमा गलत छ, चेतनास्तर कमजोर भएकाले यस्तो प्रश्न गर्छन । विहान उठिन्छ, ट्वाईलेट गइन्छ, त्यसपछि भन्छामा गईन्छ, त्यसपछि अफिसको काममा गइन्छ, बेलुका बेड रुममा गईन्छ । ट्वाईलेटमा गएपछि त्यही बस्नुपर्ने, किन भान्छामा गएको ? अफिस गएपछि किन घर फर्केर आएको ? भन्ने प्रश्न र तपाईको प्रश्न उस्तै हो ।

तपाई आफै भन्नुहोस् कि म अर्थमन्त्रालयको सचिव पदमा बसेर अर्थमन्त्राय भित्र भईरहेको आर्थिक अपराध टुलुटुलु हेरेर बसेको भए त्यो ठिक हुन्थ्यो कि बेठिक । गलत काम रोक्ने प्रयास गर्दा अर्थमन्त्रायको काम कुनै व्यापारीको घरमा बसेर हुन थाल्यो । त्यो अवस्थामा मेरो राजीनामा नै उत्तम लाग्यो । त्यसको प्रभाव तपाईले देख्नुभयो, भ्याट छलि छानविनले निरन्तरता पायो, तत्काल चार अर्ब सरकारको ढुकुटीमा आयो । पछि राजश्व संकलनमा वृद्धि आयो ।

प्रधानमन्त्री भनेको देशको कार्यकारी प्रमुख । प्रधानमन्त्रीले तपाईको सुझाव सहयोग मलाई चाहियो भनेर भनेपछि कुनै पनि नागरिकले सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मैले उहाँलाई सहयोग गरे ।

कांगे्रसमा जानुको कारण मैले बताए । कांग्रेसले गेटबाट छिरायो, घरभित्र छिर्न दिएन । मैले निधारमा ढुङ्गा लागेको खत देखाउन पनि सकिन, कुनै गुटको फेरो समाउन पनि सकिन । मन्त्री महेश आचार्यले सहयोग माग्नुभयो, मैले सहयोग गरे । अहिलेको बन मन्त्रीलाई दुई पटक भेट्न गए, दुबै पटक लामो समय कुराएर भेट्न दिनुभएन । त्यसपछि राजीनामा गरेको हुँ । पत्रिकामा पढेर थाहा पाँए, मन्त्री पद वहाली हुँदा बुकिज लिएर गइन भनेर उहाँको चित्त दुःखेको रहेछ । बास्तवमा त्यो दिन काठमाडौंमा थिइन ।

नयाँ शक्तिको संरचना कस्तो हुनेछ ?

नयाँ पार्टीमा सबै कुरा नयाँ हुँदैन । कम्तिमा २/३ वटा विषय नयाँ भयो भने पनि त्यसले नयाँ सन्देश दिन्छ । मुलतः सहभागित मुलक समावेशी लोकतन्त्र भनेका छौ । पञ्चायत कालको जस्तो निगाहको समावेशी होइन ।

माथिबाट तल लाद्न नभई तलबाट चुनिएर माथि आउने व्यवस्था नयाँ पाटीमा हुन्छ । जस्तो नेपाली कांग्रेस वा एमालेले निर्वाचनको समयमा माथिबाट टिकट दिन्छ । नयाँ पार्टीमा माथिबाट टिकट दिने काम हुँदैन । यस पाटीमा सक्रिय सदस्य भन्ने पनि हुँदैन । सबै बराबर । जो स्थानीय तहमा चुनिएर आउँछ, उसैलाई नेतृत्वले स्वीकार गर्छ । आर्थिक विकासका हिसावले हामी कुनै बादको पक्षमा हुने छैनौं । १८ शताब्दीमा विकास भएको बादले अब काम गर्ने छैन । हामी जनताको समृद्धि चाहान्छौं । साम्यबाद, समाजबाद, पुँजीबादको कुरा हामी गर्दैनौ । जनतालाई हामी के भन्छौं भने संकटको बेलामा सरकारले तपाईलाई सहयोग गर्छ । गरिब भएकै कारण विरामी पर्दा उपचार गर्न नसक्ने, आफ्ना बालबच्चालाई पढाउन नसक्ने जस्ता समस्या पर्दा सरकारले सहयोग गर्छ ।

राजनीतिक मुद्दा नउठाएर सामाजिक मुद्दा मात्र उठाउन खोजिएको हो ?

राजनीतिक मुद्दा पनि हुन्छन् । अझै पनि राज्यको संरचना समाबेशी भईसकेको छैनन् । तर राजनीतिक मुद्दा उठाउँदा आन्दोलन गरिदैन । हामी विचार प्रवाहमा जोड दिन्छौं । विचारको दवावमा निर्णय तथा नीति निर्माणलाई प्रभावित गछौं ।

Rameshwar_khanalनयाँ शक्तिप्रति सर्वसाधारणले किन विश्वास गर्ने ?

हामी माग राखेर आन्दोलन गर्ने होइन, सेवा प्रवाहमा जोड दिन्छौं । हाम्रो प्रेस विज्ञप्तिमा आर्थिक अधिकार दिलाउँछौं भनेका छौं, माग गछौं भनेका छैनौ । हामीले समाजबाद वा पुँजीबाद भनेका छैनौ, उद्यमशीलतामा आधारित पुँजीबाद भनेका छौं । पुँजीबाद भनेको पुँजीमा मात्र केन्द्रीत भयो । हामीले पुँजीलाई मात्र जोड दिएका छैनौं, पुँजी नभएका तर विशेष ज्ञान, सीप, सिर्जना, क्षमता भएका व्यक्तिले पनि उत्पादन वृद्धि तथा आर्थिक समृद्धिमा ठूलो योगदान गर्छ ।

सबै राजनीतिक पार्टीको दस्तावेज पढ्नु भयो भने नेपाल भूपरिपेष्टिक राष्ट्र हो भनिएको छ । हामीले नेपाल दुई ठूला अर्थतन्त्र भएको देशबीचको गतिशिल राष्ट्र भनेर व्याख्या गरेका छौं । हामी समस्या देखाउने र त्यो समस्या समाधान गर्ने क्षमता हामीसँग मात्र छ भन्ने दावी गर्दैनौं । हामी अवसरको खोजी गर्छौं र नागरिकलाई सेवा आपूर्ति बढाउनेतर्फ काम गर्छाैं ।

केही दिन पछि हामीले तत्काल के के गर्ने भनेर प्रेस विज्ञप्ती जारी गर्नेछौं । त्यसमा हाम्रा माग यो यो हुन्छन्, हामी रत्नपार्कमा धर्ना दिन्छौं, सिंहदरबार घेराउ गछौं, जिल्ला प्रशासन कार्यालय घेराउ गछौं भनेर घोषणा गर्दैनौ ।

हाम्रो समाजमा उत्पादन वृद्धि गर्न वाधा के केले पुर्याएको छ पहिचाहान गर्ने र ती वाधा अवरोध हटाउने काम गछौं । पाँच जनाको परिवारले आधा घण्टाको दरले अढाई घण्टा समय वितारईरहेको छ । त्यो समय कसरी घटाउने ? गाउँघरमा विहान ४/५ बजे उठेर काम गर्न थाल्छन्, १० बजे मेला जानुछ भने काँचो भात खाएर हतार हतार गर्नुपर्ने अवस्था छ । जबकी सहरमा साढे सात बजे उठेर खाना पकाएर, खाएर ९ बजे अफिस पग्न सकिन्छ । गाँउमा किन ढिला भईरहेको छ, त्यहाँको समस्या के हो, खोज्ने र समाधान गर्नेतर्फ हामी लाग्छौं । पुराना दलहरु स्कूलमा गएर शिक्षक र विद्यार्थीलाई हड्ताल गर्न दावाव दिए । हामी हरेक दिन फूल टाईम पढाउन दवाव दिन्छौं, वाच गर्छौं । जापानी सम्राट्ले सुधारको पहिलो चरणमा सफा बस्न र शुद्ध खान सिकाए । अहिले जापानमा पाक्ने खाना, जापानमा बन्ने सामानको संसारभर प्रशंसा हुन्छ ।

जनतालाई सेवा दिने मुख्य संयन्त्र भनेको सरकार नै हो । नयाँ शक्ति सरकार वा संसदमा कहिले पुग्छ ?

२०७३ बैशाखमा नयाँ पार्टी घोषणा हुन्छ, दलको संरचना आउँछ । हालको संविधानमा व्यवस्था भएअनुसार २०७५ मंसिरसम्ममा निर्वाचन हुनैपर्छ । त्यो निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सक्दैन । त्यो निर्वाचनमा नयाँ शक्ति संसद राम्रो प्रभाव पार्ने सक्ने हैसियतमा निर्वाचित हुन्छ । सरकारमा नपुगेपनि नीति निर्माणमा राम्रो प्रभाव पार्ने हैसियत यो शक्तिसँग हुनेछ ।

संगठन निर्माण कसरी हुन्छ ?

अहिले निश्चित भएको छैन । तर मोबाइल, फेसबुक जस्ता आधुनिक सञ्चार विधिप्रयोग गरिन्छ । टिका र माला लगाएर सदस्यता वितरण गरिदैन । पार्टीको तर्फबाट निश्चित पाठ्क्रम नै बनाएर काम गरिन्छ । जिम्मेवारी अनुसार निश्चित कोर्ष अध्ययन गर्नै पर्ने नीति लिनुपर्छ । संसदमा गएर ऐन निर्माण प्रक्रियामा छलफलमा भाग लिन सांसदले न्यूनतम कानुनी विषयको ज्ञान त हुनुपर्छ ।

१५ औं हजार मान्छे मार्ने युद्धको नेतृत्व गरेको व्यक्तिको नेतृत्वमा बनेको शक्तिमा लाग्नुभयो । त्यसबारे उठेका प्रश्नको जवाफ तपाईसँग के छ ?

तपाई हामी सबैले बुझ्नु पर्ने के पनि हो भने १५ हजार मान्छे मारिदा २ तिहाईभन्दा बढी राज्यको गोली लागेर मरेका छन् । माओवादीको तर्फबाट थुप्रै निर्दोष मान्छे मारिएका छन् । त्यतिबेला जति दुःखद घट्ना भएका छन् ति भत्र्सनायोग्य छन् । अनौपचारिक कुरा गर्दा उहाँले पनि त्यस्तो घट्नाको भत्र्सना गर्नुहुन्छ ।

कुनै पनि गलत कृयाकलाप गर्नु समूहमा लागेको व्यक्ति त्यो समूहबाट सजिलै वाहिर निष्कन सक्दैन । त्यसको जोखिम ठूलो हुन्छ । किनकी गोपनीयताको कुरा वाहिर सार्वजनिक हुन्छ । त्यसले अर्को दुर्घट्ना निम्त्याएको उदाहरण नेपालमा पनि छन्, विश्वभर पनि छन् । डा बाबुराम भट्टराई एमाओवादीबाट वाहिर आउनु आफैमा साहासिक निर्णय हो । पार्टीभित्र रहेर उहाँले अक्षम्य गलत काम गर्नु भएको थियो भने उहाँ वाहिर आउन सक्नुहुन्न थियो । मान्छेले सुधार गर्ने मौका पाउँछ । संसारमा जेललाई पनि सुधारगृह भन्न थालिएको छ ।

कम्यूनिष्टहरुको मुख्य विशेषता नै फुट हो । भट्टराईको नेतृत्वमा बन्दै गरेका नयाँ शक्ति फुटेर जाने, असफल हुने जोखिम कति देख्नुहुन्छ ?

सफल होइन्छ भनेर अगाडि बढ्ने हो । असफल होइन्छ भनेर निर्णय नै नलिने, कुनै कदम नै नचाल्ने भन्ने हुँदैन । असफलताबाट सिकेर काम गर्ने हो । नयाँ शक्तिमा लाग्नेहरु मध्ये केही असफल व्यक्ति छन्, उनीहरुबाट के अपेक्षा गर्ने ? भनेर आईताबार परिषद् घोषणा गर्ने क्रममा पनि पत्रकारले प्रश्न गरेका थिए । असफल हुनेहरुले पनि धेरै कुरा सिकेका हुन्छन् । ज्ञानको स्रोत सफलताको कथा मात्र होइन, असफलताको कथा पनि हुन्छ ।

नयाँ शक्तिको विकासको मोडेल के हो ?

कुनै पनि देशको विकास राज्यले गरेर भएको छैन, नागरिक स्तरबाट भएको छ । देशको विकास नागरिकको पौरखबाट हुन्छ, सरकारबाट हुदैन ।  त्यो भनेको उद्यमशीलताको विकास हो । त्यसैले हामी उद्यमशीलताको प्रवद्र्धनमा केन्द्रीत हुन्छौ । उद्यमशीलताको विकास गर्न पुँजी परिचालनलाई जोड दिनुपर्छ । त्यसमा स्वदेशी विदेशी सबै प्रकारको पुँजी हुन्छ । नविनतम विचार, विशेष सीप र क्षमता भएका नागरिकलाई शुन्य लगानी गरेर पनि व्यवसाय गर्न सक्ने हुनुपर्छ । प्रत्येक नागरिकको आय क्षमता वृद्धि गरियो भने आर्थिक वृद्धिदर स्वत वृद्धि हुन्छ । नागरिक स्तरमा हुन नसक्ने काम राज्यले गर्ने हो । जस्तो अहिले जस्तो एउटै देशसँगको निर्भरताबाट देशलाई मुक्ति दिने काम राज्यबाट मात्र सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.