सुनको मूल्य र माटोको मूल्य एउटै हुन सक्दैन- नूर प्रताप राणा

  २०७२ माघ ३ गते १०:५३     विकासन्युज

bikashnews.com

नूर प्रताप राणा, पूर्व अध्यक्ष, कुमारी बैंक लिमिटेड

तपाईले कुमारी बैंकको अध्यक्ष पदबाट किन राजीनामा दिनुभयो ?

राजीनामा पत्रमा मैले आफ्नो अन्य व्यवसायमा काम गर्नुपर्ने भएकोले फुर्सद नभएर राजीनामा दिएको उल्लेख गरेको छु। वास्तवमा म काम गर्ने मान्छे । केही न केही गरिरहनुपर्छ । तर त्यहाँ काम गर्ने वातावरण बनेन । कस्तो भयो भन्नुहुन्छ भने ‘हातो समाउने तर जाँतो नघुमाउने’ काम भयो । बैंकमा रहेका विभिन्न उपसमितिहरुले काम गरेनन् । यसै विषयलाई राष्ट्र बैंकले नोट गरिदियो । काम ढिला भयो भन्दा पनि भएन । म काम गर्छु भन्दा पनि सहयोग भएन । मैले नचाहिने काम केही पनि गरेको छैन । तर केही साथीहरुले मलाई असहयोग गर्नुभयो । काम गर्ने वातावरण भएपछि पद ओगटेर बसिरहन मिलेन ।

काम गर्ने वातावरण भएन कि काम गर्न सक्नु भएन ?

काम गर्न नसक्ने भन्ने कुरै भएन । शुरुका वर्षहरुमा पनि मैले नेतृत्व गर्दा बैंकको पर्फमेन्स राम्रो थियो । बीचमा म बैंकको नेतृत्वभन्दा बाहिर बसे । शिवरतन शारदा र मिनबहादुर गुरुङले बैंकको नेतृत्व गर्नुभयो । तर बैंकको प्रर्फमेन्स कमजोर रह्यो । ६ प्रतिशतभन्दा माथि खराव कर्जा पुगेको थियो । साथीहरुले फेरी मलाई अध्यक्षको जिम्मवारी दिनुभयो । खराव कर्जा २ प्रतिशतमा झर्यो । नियतबस कर्जा नतिर्ने नतिर्नेहरुलाई तिराउन हामीले उपलब्धि हासिल गर्दै आएका थियौ । एकदुई जना सञ्चालकसँग राय लिएर गरेका काममा पछि असहमति जनाउनु भयो । केही ऋणीले नियतबस कर्जा तिरेनन् । उनीहरुबाट कर्जा उठाउनै पर्छ भनेर म लागे । साथीहरु बीचमा पुगेपछि अन्तै मोडिनुभयो । काम गर्ने बातावरण बिग्रियो । त्यसपछि मैले छोड्ने निर्णय गरेँ ।

वास्तवमा मलाई कुमारी बैंकको धेरै माया छ । म आफैंले जन्माएको बैंक हो । यसमा मेरो सेयर लगानी पनि ठूलो छ । यो बैंकमा मेरो धेरै मिहेनत लागेको छ । निक्षेपकर्ताको निक्षेपको सुरक्षा गर्नुछ । लगानीकर्ताको लगानीको सुरक्षासँग  प्रतिफल चाहिएको छ । तर बैंकको नेतृत्वको जिम्मेवारी लिएर कामै नगरि बस्नु त ठिक भएन । एउटाले काम नगरे अर्कोले गर्छ, तर बैंक चलाउनुपर्छ ।

तपाईले राजीनामा गरे लगत्तै एनसीसी बैंकमा मर्ज हुने सम्झौता बैंकले गर्यो, त्यसमा तपाईको भूमिका के हो, तपाईको विचार के हो ?

हामी मर्जरमा जाने नै हो । मर्जरको विषयमा कुमरी बैंकमा धेरै वर्ष पहिलेदेखि छलफल भएको हो । एनसीसीसँग मर्जको विषयमा अढाई महिनादेखि कुरा हुँदै आएको हो । त्यसबीचमा धेरै कुरा भए । तर सुनको पनि मुल्य हुन्छ । माटोको पनि मूल्य हुन्छ । सुनको मूल्य सुनकै सरह हुनुपर्यो, माटोको मूल्य माटोकै सरह हुनुपर्यो । दुबैको मूल्य एउटै हुन सक्दैन ।

डीडीए गरेर मूल्याङकन गरिन्छ । विज्ञ राखेर विभिन्न पक्षबार मूल्याङकन हुन्छ । सेयर मूल्य निर्धारणपछि, त्यसमा दुबै पक्ष मञ्जुर भएपछि मर्जर प्रक्रिया अगाडि बढ्छ । मजर्रपछि पनि धेरै कुरा हुन्छ । त्यसका लागि पहिला आफ्ना कुरा मिलाऊ भनेर भने । तर साथीहरुबीच कुरा मिलेन । मर्जपछिको माहौल मैले राम्रो देखिन । त्यहाँ पनि आफ्नै खालका समस्या छन् ।

मर्जरप्रक्रियामा तपाईको सहमति हो कि असहमति ?

६ वटा मर्जको विपक्षमा म छैन । कुमारी बैंकका सेयरधनीको पक्षमा कति निर्णय हुन्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो ।मैले अघिनै भने कि कुमारी बैंकले मर्जरको विषयमा धेरै पहिलेदेखि कुरा गर्दै आएको हो । डा. युवराज खतिवडा गभर्नर हुँदै मर्जको धेरै प्रयास भए । त्यतिखेरा मर्ज गर्न सकेको भए अहिले स्थिति अर्कै हुन्थ्यो ।

साउनमा राष्ट्र बैंकले पुँजी वृद्धि गराउने निर्णय गर्यो । दुई वर्षमा राष्ट्र बैंकले ८ अर्ब पुँजी बनाउन भन्यो । मिडियामा विरोध भयो । तर मैले राष्ट्र बैंकमा गएर ‘ठीक गर्नुभयो’ भने । दुई वर्षको समय थोरै भयो भन्ने विचारमा पनि मेरो सहमति छैन । बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएकै हो । त्यसलाई घटाउन मर्जमा जानै पर्ने थियो ।

एनसीसीमा मर्ज गर्नु ठीक हो कि होइन त ?

साधारणसभाले निर्णय गर्छ । यो वर्ष साधारणसभा भएको छैन । छिट्टै हुन्छ । साधारणसभाले जे निर्णय गर्छ त्यहि ठिक हुन्छ । व्यक्तिगत रुपमा मलाई नराम्रो लागेको छैन । केही साथीहरु गुनासो गर्छन । एनसीसीमा पनि धेरै समस्या छ भन्छन् । तर आफू पनि नगर्ने अरुले गरेको पनि चित्त नबुझाउने कार्य ठिक होइन । मर्जरको सन्दर्भमा हामीले गरिखान नसकेकै हो । आफूले गर्न नसकेपछि अरुले जे गर्छ त्यही स्वीकार गर्ने हो । आफूले नसकेपछि अरुले दिएको खाने हो मिठो भए पनि, नमिठो भए पनि ।

जसरी एभरेष्ट बैंकसँग मर्जको प्रक्रिया साधारणसभाबाट विथोलियो त्यसरी नै एनसीसी बैंकसँग मर्जरको प्रक्रिया विथोलिने सम्भावना कति छ ?

साधारणसभामा गईसकेपछि यस्तो कुरा आउलान् । यो अप्ठ्यारो विषय हो । तर आफू पनि काम नगर्ने, अरुलाई पनि काम गर्न नदिने त गर्नु भएन नि । एभेरेष्ट बैंकसँग मर्जको सन्दर्भमा के भनेको थिए भने काम गर्दै गर्दा अप्ठ्यारो पर्न सक्छ । तर गरेर सिक्दै जानुपर्छ । मर्जरमा जाँदैमा निर्मूल हुइन्न भन्ने मेरो भनाई थियो । तर साथीहरुले यो सबै प्रोक्सीको खेल हो, साधारणसभामा देख्नु हुन्छ भनेर धम्की दिए । त्यस्ता साथीहरुलाई मैले बोलाए कुरा गर्न खोजे तर उनीहरु मौन बसे । मैले चुनौतिलाई स्वीकार गरे । साधारणसभामा त्यस्तै भयो । साधारणसभामा एउटा व्यक्तिले मात्र चाहेर हुँदैन ।

कुमारी र एनसीसी दुबै बैंक झगडिया लगानीकर्ताहरुको बैंक हो, दुबैलाई मर्ज गर्दा ठूला लगानीकर्ता साइजमा आउँछन् र सिष्टमले काम गर्छ भनेर राष्ट्र बैंकले बलजफ्ती मर्ज गराउन खोजेको देखियो नि ?

तपाईले भनेको कुरा ठीक हो । यहि कुराले गर्दा मैले राजीनामा दिए । यस्तो जोखिम भएकैले मैले पहिला घरभित्रको समस्या हल गरौ भने । हामी एक मुख भएर जाऊ भने ।

तपाईलाई अध्यक्षको प्रस्ताव आएको थियो रे, मिलाएर लैजानु भएको भए हुन्थ्यो नि ?

नाम तोकिएको थिएन । तर एनसीसीले कुमारी बैंकलाई अध्यक्ष र थप दुई सञ्चालक दिने प्रस्ताव गर्यो । बैंकको नाम कुमारी क्रेडिट राख्ने सहमति भएको हो । तर यताका मान्छेले उता, उताका मान्छे यता कुरा काट्न थाले । त्यसले समस्या समाधान गर्दैन ।

राष्ट्र बैंकले बलजफ्जी मर्जरमा लगेको हो ?
राष्ट्र बैंकले दवाव दिँदैमा हुने कुरा होइन । दोस्रो एनसीसीमा राष्ट्र बैंकको अवधि सकिँदैछ । उनीहरु आफ्नो भूमिका देखाउन खोजेका छन् । उनीहरु गलत छैनन् । उनीहरु जस लिन आतुर छन् । मर्जपछि त फेरि राष्ट्र बैंकले लगानीकर्तालाई नै हस्तान्तरण गर्ने हो नि । त्यसमा हामीले आपत्ति जनाउनु पर्दैन ।

कुमारीमा विवादको गुदी कुरा के हो ?

अरुको आलोचना गरेर मात्र हुँदैन । अरुले बिगारेका छन् भने आफूले सुधार गर्ने हो । मुख्य कुरा कर्जाको ब्याज, साँवाको बारेमा कुरा उठ्छ । विलफूल डिफल्टरलाई झेल्ने विषयमा विवाद हुन्छ । यस्तोमा प्रक्रियामा जाने कुरा हो । मत मतान्तर हुनु समस्या होइन । काम नै नगर्नु मुख्य समस्या हो ।

मर्जपछिको परिणाम के हुन सक्छ ?

यस विषयमा पूर्वअनुमान गर्न कठिन छ । मलाई के विश्वास थियो भने हामी मिलेर जान सकेको भए स्थिति राम्रो हुन्थ्यो । हाम्रो घरमा समस्या छ, अर्काको घरमा पनि समस्या छ । यो अवस्थामा अर्काको घरभित्रको झगडा मिलाउन प्रयास गर्यो भने उसले आफ्नै घरको समस्या देखाउन थाल्छ । भोलिको यो परिस्थिति झेल्न गाह्रो ।

आफैले ८ अर्ब बनाउने सम्भावना कत्तिको थियो ?
त्यो थिएन । केही साथीहरु हकप्रद सेयर राख्ने पक्षमा थिए । म चाहीँ राष्ट्र बैंकले भनेजस्तो बैंक तथा वित्तीय संस्थाको संख्या कम हुनुपर्छ भन्ने पक्षमा थिए ।

मर्जपछि कुमारीका सेयरधनीले मर्जपूर्वको जति लाभांश पाउँलान् ?
स्थिति बिग्रेन भने अर्को आर्थिक वर्षमा पनि १० प्रतिशत लाभांश दिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.