इन्भेष्टमेन्ट बैंकको नयाँ सेयर फागुनमा, बोनस सेयर २०७३ जेठमा मात्र

  २०७२ पुष २३ गते १२:१०     विकासन्युज

काठमाडौं, २३ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी फागुन पहिलो सातासम्ममा ८० लाख कित्ता साधारण सेयर निश्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता ६०१ रुपैयाँ मूल्य तोकेर नयाँ सेयर निश्काशन गर्ने भएको छ । बैंकले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको सेयरमा प्रिमियम मूल्य ५०१ रुपैयाँ जोडेर बिक्री गर्न लागेको हो ।

बैंकले प्रिमियम मूल्यबाट ४ अर्ब ८० लाख रुपैयाँ अतिरिक्त आम्दानी गर्नेछ । हाल बैंकको संचित कोषमा ३ अर्ब ९० करोड रुपैयाँ छ । प्रिमियम मूल्यमा सेयर निश्काशन गरेपछि बैंकसँग शून्य लागत पर्ने र लाभांश वितरण गर्नु नपर्ने पुँजी ८ अर्ब ७० करोड रुपैयाँ हुनेछ । यसले बैंकको नाफा वृद्धिमा उल्लेख्य सहयोग गर्नेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले नयाँ साधारण सेयर निश्काशन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुले कुल सेयरको कम्तिमा ३० प्रतिशत सेयर सर्बसाधारणलाई दिनुपर्ने व्यवस्था गरेको थियो । हाल यस बैंकको २० प्रतिशत सेयर मात्र सर्वसाधारणलाई बिक्री गरिएको छ ।

नयाँ सेयर निश्काशनपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १४ करोड रुपैयाँ हुनेछ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

बोनस सेयर वितरण २०७३ सालमा मात्र
Investment-bank-agm
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको उक्त प्रस्तावलाई राष्ट्र बैंकले शर्तसहित स्वीकृत दिएको थियो । उक्त निर्णय साधारणसभाबाट पनि अनुमोदन भईसकेको छ । तर सेयरधनीले तत्काल लाभांश पाउने छैनन् ।

२०७२ मसान्तसम्ममा नियमअनुसार सर्बसाधारण सेयरको हिस्सा ३० प्रतिशत बनाउन दिएको निर्देशन पालना नभएको भन्दै राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकको लाभांश वितरणमा रोक लगाएको छ । सर्बसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशत बनाएपछि मात्र घोषित लाभांश वितरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंकले सेयरधनीलाई ८ करोड २८ लाख ६८ हजार २७२ रुपैयाँ नगद र १ अर्ब ५७ करोड ४४ लाख ९७ हजार १५५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय साधारणसभाबाट समेत अनुमोदन गरिसकेको छ ।

नयाँ सेयर निश्काशन कार्य सम्पन्न नभएसम्म पुराना सेयरधनीले बोनस सेयर पाउने छैनन् । कम्पनी सचिव सुधीर श्रेष्ठका अनुसार फागुनको पहिलो सातासम्म साधारण सेयर निश्काशन हुनेछ । उक्त सेयर बाँडफाँड गर्न करिव ३ महिना लाग्ने भएकोले पुराना सेयरधनीले २०७३ जेठ महिनामा मात्र बोनस सेयर पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.