डेढ अर्बको डिभिडेन्ड लिन आएनन् सेयरधनी

  २०७२ पुष २ गते ८:२१     विकासन्युज

काठमाडौं, २ पुस । बाणिज्य बैंकहरुको सेयरमा लगानी गर्नुको एक प्रमुख कारण त्यसले दिने प्रतिफलवाट आफ्नो गुजारा चलाउनु पनि हो । तर केहि सेयरधनी यस्ता पनि छन् जसले बर्षाैदेखि बैंकहरुले प्रदान गरेको प्रतिफल लिएकै छैनन् ।

बैंकले दिएका तर सेयरधनीले नलिएको डिभिडेन्ड साढे १ अर्ब रुपैयाँभन्दा बढीको भैसकेको छ । यो तथ्यांक गत आर्थिक बर्षसम्मको हो ।

बाणिज्य बैंकहरुले घोषणा गरेका तर सेयरधनीले नलिएको डिभिडेन्ड १ अर्ब ५१ करोड ६९ लाख रुपैयाँ बराबरको पुगेको छ । यो बाँकी रकम विगतदेखिकै हो ।

बैंकहरुले घोषणा गरेको डिभिडेन्डको बारेमा थाहा नपाएर तथा संकलन गर्नको लागि बढी खर्चिलो हुने हुदा यसरी रकम थन्किएको सेयर विश्लेषक रविन्द्र भट्टराईको भनाइ छ ।

‘दार्चुलाको मान्छेले केहि हजारको सेयर लगानी गरेको हुन्छ, हाम्रा बैंकले काठमाडौंमा दिने केहि सय रुपैयाँ डिभिडेन्ड लिनको लागि हजारौं रकम खर्च गरेर त्यहाँको मान्छे काठमाडौंसम्म आउदैन, यसैकारण बैंकमै थन्किएको हो,’ भट्टराईले भने ।

यस्तै केही सेयरधनीलाई आफूले डिभिडेन्ड पाएको बारेमा जानकारी नै नहुदा पनि यस्तो भएको हुन सक्ने उनको भनाइ छ । कुनै सेयरधनीले ५ बर्षसम्म आफूले पाएको प्रतिफल लिएन भने त्यस्तो रकम सोही कम्पनीले सेयरधनी कल्याणकारी कोषमा पठाउने र त्यस्तो रकमले पूँजी बजारको विकासमा सघाउने भन्ने छलफल चलेको थियो । तर यसरी रकम खर्च गर्ने सम्बन्धि प्रष्ट कानुनी ब्यवस्था नहुदा अन्योल भएको धितोपत्र वोर्डका अधिकारीको भनाइ छ ।

सेयर विज्ञ भट्टराई भने सेयरधनीले अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने र उसले प्राप्त गर्ने डिभिडेन्ड सम्बन्धित कम्पनीले स्वतः बैंक खातामा जम्मा पार्ने ब्यवस्था मिलाउनु पर्ने बताउछन् ।

सरकारको समेत लगानी रहेको कृषि विकास बैंकले दिएको २६ करोड ६ लाख रुपैयाँ बराबरको डिभिडेन्ड बैंकमै थन्किएको छ । यस्तै बैंक अफ काठमाडौंको ३ करोड १९ लाख, सिभिल बैंकको २ करोड ५५ लाख, सिटिजन्स बैंकको ५ करोड ८० लाख र एभरेष्ट बैंकको ५ करोड २१ लाख रुपैयाँ बराबरको डिभिडेन्ड बैंकमै थन्किएको छ ।

ग्लोबल आइएमइ बैंकमा २ करोड ७९ लाख, ग्राण्ड बैंकमा १ करोड ७५ लाख, हिमालयन बैंकमा ३ करोड ५८ लाख, जनता बैंकमा १ करोड ८१ लाख, कुमारी बैंकमा ९९ लाख ८५ हजार, लक्ष्मी बैंकमा १ करोड १७ लाख, माछापुच्छ«े बैंकमा ८ लाख ८८ हजार र मेगा बैंकमा २ करोड ५२ लाख रुपैयाँ बराबरको डिभिडेन्ड सम्बन्धित बैंकमै थन्किएर बसेको छ ।

नविल बैंकमा भने सवैभन्दा बढी डिभिडेन्ड त्यसै बसेको छ । सो बैंकमा ५३ करोड ४८ लाख रुपैयाँ बराबरको डिभिडेन्ड लिन सेयरधनी आएका छैनन् । यस्तै नेपाल बंगलादेश बैंकमा १२ लाख ८८ हजार, नेपाल बैंकमा २० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकमा ३ करोड ३३ लाख, एनआइसी एशियामा १४ करोड ७३ लाख, एनएमबी बैंकमा ३ करोड २४ लाख र प्राइम कमर्शिलय बैंकमा ५ करोड १४ लाख रुपैयाँ बराबरको डिभिडेन्ड त्यसै बसेको छ ।

यस्तै प्रभु बैंकमा ९६ लाख ८७ हजार, सानिमा बैंकमा ८४ लाख ८२ हजार, नेपाल एसविआइ बैंकमा २ करोड २ लाख, सिद्धार्थ बैंकमा २ करोड १९ लाख, स्टाण्डर्ड चार्टर्ड बैंकमा ४ करोड ९१ लाख र सनराईज बैंकमा २ करोड ८९ लाख रुपैयाँ बराबरको डिभिडेन्ड सेयरधनीले लिन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.