सगरमाथामा सुरङ रेलमार्ग बनाउनु हुन्न-रामेश्वर खनाल

  २०७२ वैशाख ८ गते ९:५१     विकासन्युज

रामेश्वर खनाल

रामेश्वर खनाल

नेपाल सरकारले ल्हासादेखि काठमाडौंसम्म रेलमार्ग बनाउन सहयोगको प्रस्ताव औपचारिक रुपमा नै चीनसमक्ष गरिसकेको छ । औपचारिक घोषणा नभएता पनि चीनले ल्हासाबाट नेपालसम्म रेलवे विस्तार गर्ने योजना बनाएको खबर सञ्चार माध्यममा आएका छन् । सन् २०२० सम्म नेपालको भूभागसम्म रेलसेवा विस्तार गर्ने भनिएको छ । २०२० सालको टार्गेट त अलि सोचेरै गरेका हुन् । चिनियाँहरुले चाहे भने त्यो भन्दा पहिले नै काठमाडौंसम्म रेल ल्याउन सक्छन् ।

यो योजना चीनका लागि खासै चुनौतिपूर्ण होईन । चीनले कुनै पनि ठूला परियोजनाको परिकल्पना ग¥यो भने त्यो साकार गराएरै छाड्छ । चीनले ल्हासासम्म रेलवे सेवा विस्तार गर्ने घोषणा गर्दा अन्तराष्ट्रिय समूदायले विश्वास गरेको थिएन् । प्राविधिक रुपमा सम्भव छैन भन्ने टिप्पणी गरेका थिए । तर चीनले ज्यादै कठिन भू–बनौट रहेको, निरन्तर रुपमा काम गर्न अक्सिजनको समेत अभाव हुने क्षेत्रमा, समूद्री सतहबाट सबैभन्दा माथि ल्हासासम्म रेल सेवा सञ्चालन गरेरै छाड्यो । चीनले ल्हासासम्म रेलवे मार्ग निर्माण गरेपछि उनीहरुको मनोबल उच्च भएको छ । प्राविधिक रुपले पनि चिनियाँहरुको अब्बल सावित भैसकेका छन् ।

ल्हासासम्म रेलवे विस्तार गर्ने योजना निकै चुनौतिपूर्ण थियो जसलाई उनीहरुले सहजै किनारा लगाए । चीनियाँहरुका लागि काठमाडौंसम्म रेलवे विस्तार खासै चुनौतिपूर्ण होइन । भौगोलिक रुपले पनि जोखिम कम छ । अधिकांश ठाउँमा भिरालो र होचो जमिन छ । समथर ठाउँहरु पनि धेरै छन् । त्यसो त नेपालको जुनसुकै सीमाबाट पनि रेलवे विस्तार गर्नु चीनका लागि त्यति ठूलो चनौतिको बिषय होईन् ।

प्रविधिमा पनि चीनको फड्को
रेलवे सेवा विकासमा अमेरिकी प्रविधि त्यति लोकप्रिय छैन । अमेरिकामा गाडी उत्पादक कम्पनीहरु ठूला छन् । उनीले आफ्नो बजार घट्ने भन्दै सिनेटमै रेलवे प्रविधिका विरुद्ध जनमत बनाउँदै आएका छन् । ठूला रेलवे प्रविधिका बारेमा सिनेटमा प्रस्ताव जानेवित्तिकै त्यसको धुरन्धर विरोध हुने गरेको छ । अमेरिकामा रेलवे सेवा विस्तार गर्ने सरकारी योजना पनि देखिँदैन । र त्यहाँ उच्चस्तरको रेलवे प्रविधि विकास पनि भएन ।
विश्वको रेलवे प्रविधिमा यूरोप अगाडि छ । जापानले द्रुत गतिको रेल सेवा विस्तार गर्यो भने जर्मनी र फ्रान्सले पनि उच्च प्रविधिका रेलवे सेवा विस्तार गरेका छन् ।

शुरुमा चीनले रेलवे प्रविधि यूरोपबाटै ल्याएको हो । खासगरि जर्मन र फ्रान्सबाट प्रविधि र कम्पनी ल्याएर चीनले काम गरेको थियो । पछि चीनले आफै पनि रेलवे प्रविधिको विकासमा लगानी ग¥यो । चिनियाँहरु अहिले रेलवे प्रविधिमा यूरोपसँग आश्रित छैनन् । उनीहरुसँग आफ्नै प्रविधि छ, जनशक्ति पनि छ । चीनबाट अमेरिकासम्म समुन्द्री मार्गबाट पानी रेलवे सेवा विस्तार गर्न सकिन्छ भनेर चिनियाँहरुले आफ्नो धारणा व्यक्त गरिसकेका छन् । वेलायत र फ्रान्सका बीचमा, स्विडेन र डेनमार्कका बीचमा समुद्री सतह मुनिबाट रेलवे सेवा सञ्चालन भएको देखेका चिनियाँहरुले आफ्नो मुलुकमा पनि त्यसको अभ्यास गरिसकेका छन् । समुद्र मुनिबाट सडक र रेलवे उनीहरुले बनाईसकेका छन् ।

समथर ठाउँमा मात्रै होइन, पहाडी भू–भागमा पनि रेलवे बनाउन सकिन्छ भन्ने विषय प्राविधिक रुपमा विकास मात्र भएको छैन कि बरु प्रयोगसिद्ध भैसकेको छ । आम मानिसको धारणमा पनि भिरालो र उकालेमा पनि रेल जान्छ भन्ने चिन्तन विकास भईसकेको छ । नेपालका पहाडहरुमा पनि रेल सेवा विस्तार गर्न सकिन्छ । प्राविधिक रुपले पनि त्यो सम्भव देखिएको छ । जापानकै जस्तो बुलेट रेल नेपालमा पनि सम्भव छ ।

काठमाडौं–निजगढ दु्रत मार्गको जस्तो उकालो ओरालो जमिनमा रेल राम्रोसँग गुडाउन सकिन्छ भन्ने पुष्टि भैसकेको छ । बीरगञ्जबाट काठमाडौंमा रेल सेवा चलाउन सकिन्छ र काठमाडौंबाट रसुवागढीसम्म पनि सहजै रेल सेवा सञ्चालन गर्न सकिन्छ । चीनले चाहेको खण्डमा रसुवागढी नाका मात्रै होइन, तातोपानी र किमाथांका वा सगरमाथाको बेसक्याम्पबाट पनि रेल सेवा सञ्चालन गर्न सकिन्छ ।

नेपालसम्म रेल ल्याउने चीनियाँ रणनीति

चीनले नेपालसम्म रेलवे विस्तार गर्नुको तीन कारण छन् । पहिलो, चीनले यसरी रेलसेवा विस्तार गर्नुको अर्थ भनेको दक्षिण एसियाको बजार प्रवेशका मार्ग खोज्नु हो । भारत, बंगलादेश, नेपाल लगायतको बजारसम्म सीधा रेलसेवा विस्तार गरेर ल्हासाबाट रक्सौलसम्म रेलमा समान ढुवानी गर्दा जहाजबाट भन्दा ढुवानी खर्च कम हुन्छ, समयको पनि बचत हुन्छ । चीनले रेलवे बनाउनु भनेको नेपालको आर्थिक कल्याण गर्न भन्दा पनि दक्षिण एसियाको बजारसम्मको पहुँचलाई सहज बनाउनु हो । सँगै भारतरले पनि मध्य एसियाको बजारमा आफ्नो बजार विस्तार गर्न सक्छ ।

दोस्रो, रणनैतिक उदेश्य हो । चीनले खाली आर्थिक दृष्टिकोणले मात्रै यो रेलमार्गको परिकल्पना गरेको हो भनेर मानियो भने त्यो बच्पना मात्रै हुन्छ । चीनले दीर्घकालिन रणनीति अनुुसार यो काम गरिरहेको छ । यसको अन्तरनिहित बिषय भनेको चीनको सुरक्षाको रणनीति पनि हो । कुनै पनि देशले कुनै पनि देशसँग सधैं राम्रो सम्बन्ध हुन्छ भनेर परिकल्पना गरेको हुँदैन । कुनै पनि बेला कुनै पनि विषयलाई लिएर दुई देशबीचको सम्बन्धमा दरार आउनसक्छ । त्यतिबेला युद्ध वा शक्ति प्रदर्शन गर्नुपर्ने हुन्छ । चीनले सम्भावित त्यस्तो जोखिमलाई टार्न रेलवे सेवा विस्तारको योजना ल्याएको हो । भृकुटी र अरनिको पालादेखिको सम्बन्ध छ भन्दै चीनले नेपालबाट खतरा छैन भनेर सोच्दैन । चीनको नेपाल, भारत र पाकिस्तानसँग नै सीमामा केहि न केहि विवाद कायमै छ । सीमा क्षेत्रमा सामरिक गतिविधि बढाउने, सामान ओसार पसार गर्ने, रणनीतिक गतिविधि गर्ने, सैन्य गतिविधि बढाउने जस्ता प्रयोजनका लागि चीनले रेलसेवा विस्तार गर्दैछ । ठूलो युद्ध लड्नु पर्यो भने जहाज वा ट्रकबाट सेना ओसार्न सकिन्न । तिब्बतको त्यत्रो ठूलो भु–भाग पार गरेर नेपाली सीमासम्म सेना र रासनपानी ओसार्न गाह्रो हुन्छ । त्यसका लागि जहाज वा ट्रकको तुलनामा रेलमार्ग अत्याधिक सहज हुन्छ ।

तेस्रो, त्यसको पर्यटकीय महत्व छ । दक्षिण एसिया भनेको वौद्धमार्गीहरुको पवित्र भूमि हो । बुद्ध धर्मका पवित्र तीर्थस्थलहरु नेपाल भारत र श्रीलंकामा छन् । चिनियाँहरुमा धार्मिक सोच बढेको छ । त्यस्ता बौद्धमार्गी चीनियाँ पर्यटकका लागि पनि यो मार्ग निर्माणको योजना अघि बढेको हुनसक्छ । एक अर्ब ३३ करोड चिनियाँ मध्ये वर्षमा २० करोड चिनियाँ विदेश घुम्छन् । उनीहरु वुद्धका जीवनसँग जोडिएका कुराहरु हेर्न चाहान्छन् । चिनियाँहरु अध्ययन र अनुसन्धानका लागि पनि नेपाल हुँदै भारत गएको इतिहास पनि छ । तीनै सम्भावित बौद्धमार्गी चीनियाँ पर्यटकका लागि पनि रेल सेवा विस्तार प्राथमिकतामा परेको हुनसक्छ ।

नेपाललाई हुने लाभ
यो रेलवे बनेकै भरमा नेपालले ज्यादै ठूलो आर्थिक लाभ लिन सक्छ भन्ने छैन । तर त्यसबाट लाभ लिन सक्ने गरी बाटोहरु खोल्न सकिन्छ । ठूला अर्थतन्त्रका रुपमा रहेका चीन र भारतको बजार हात लाग्न सक्छ । नेपालमा जलविद्युतको सम्भावना धेरै छ । सस्तोमा विद्युत दिन सकियो भने चीन र भारतको बजारका कारण ठूला विदेशी लगानी भित्र्याउन सकिन्छ । भारतमा उत्पादन गरेर चीनमा बेच्ने र चीनमा उत्पादन गरेर भारतमा बेच्नु भन्दा बीचमा उत्पादन गरेर दुबैतिर बेच्न सकिन्छ भनेर लगानी आकर्षित गर्न सकिन्छ । त्यसका लागि नेपालले पनि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ । रेलवेका नजिकमा औद्योगीक पूर्वाधार विकास गर्नुपर्छ । भारतको कच्चा पदार्थ ल्याएर नेपालमा प्रशोधन गरेर चीनमा बेच्ने र चीनको कच्चा पदार्थ ल्याएर यहाँ प्रशोधन गरेर भारतमा बेच्न सकिन्छ ।

त्यस्तै, कम खर्चमा विदेश घुम्ने पर्यटकका लागि नेपाल उपयुक्त गन्तब्य हो । नेपालले उपयुक्त पूर्वाधार विकास गरेर रेलमार्ग हुँदै चीन भारत यात्रा गर्ने पर्यटकलाई नेपालमै रोक्न सक्नुपर्छ । भारतबाट आएकालाई चीन जानबाट रोक्नुपर्छ र चीनबाट आएकालाई भारत जानबाट नेपालमै रोक्नुपर्छ । अहिले लुम्बिनीमा दुई हजार पर्यटक गए भने बस्ने होटल छैन् । चिनियाँहरु आउँदा एकै पटक दशौं हजार आउँछन् । त्यसका लागि नेपालले पूर्वाधार विकास गरिसक्नुपर्छ । सरकारले बाटोघाटो, बत्तिको व्यवस्था गरिदिने हो भने निजी क्षेत्रले लगानी गर्छन ।

सगरमाथामा सुरुङ मार्ग बनाउनु हुन्न

सगरमाथाको मुनिबाट रेल सेवा विस्तार गर्ने भनेर समाचार प्रकाशित भएको छ । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको मुनिबाट रेल गुड्छ भनियो भने ग्ल्यामर त होला, प्रचार प्रसारका लागि मसला पनि हुन्छ । सगरमाथाको सुरुङमार्गमा रेल यात्रा गर्नैको लागि पनि मानिसहरु आकर्षित हुन्छन् । त्यसबाट अतिरिक्त केही आर्थिक लाभा पनि हुनसक्छ । तर सगरमाथाको मुनिबाट सुरुङमार्ग बनाउनु नेपालको हितमा हुँदैन । सगरमाथा भनेको पहाड मात्रै होइन । त्यो प्राकृतिक सम्पति हो । त्यसको यथोचित संरक्षण आवश्यक छ । सगरमाथा मुनिबाट भन्दा तिब्बतबाट नेपाल हुँदै भारत जाने नदीको किनारबाट रेलसेवा विकास गर्दा राम्रो हुन्छ । रसुवागढी, किमाथान्का र तातोपानीमध्ये एउटा नाकाबाट रेलसेवा विस्तार गर्न सकिन्छ ।

नेपालले सिक्ने पर्ने पाठ

चीनले ठूला पूर्वाधार निर्माणमा सफलता पाउनुको पछाडि चिनियाँ उच्च राजनीतिक नेतृत्वको दृढ इच्छा शक्तिले ठुलो काम गरेको छ । चीनले ठूलो पूर्वाधार निर्माणको परिकल्पना गरेपछि त्यसको कार्यन्वयन गर्ने जिम्मा प्राविधिक तथा प्रशासनिक तहमा सुँम्पिदैन् । उच्चस्तरीय राजनीतिक नेतृत्वले नै परियोजनाको मुख्य जिम्मवारी लिएको हुन्छ । ल्हासासम्मको रेलवे सेवा विस्तार परियोजनाको नेतृत्व पनि उच्चस्तरीय नेताले गरेका थिए । त्यो परियोजना सम्पन्न गरिसकेपछि उनलाई चीनको संसदमा सभामुख बनाईएको थियो ।

राजनीतिक नेतृत्वले काम गरेर आफूलाई प्रमाणित गर्नु पर्ने हुन्छ । त्यसकारण पनि उनीहरुले जिम्मेवारीलाई कुशलता पूर्वक पूरा गर्छन । प्राविधिक र प्रशासनिक व्यक्तिलाई त्यस्तो बाध्यता हुँदैन् । अह्राएको काम मात्रै गर्छन । हाम्रा विकास योजनाहरु असफल हुनुको पछाडीको कारण पनि प्रशासक र प्राविधिकलाई जिम्मेवारी दिएर नै हो ।
नेपालमा त राजनीतिक नेतृत्वले पनि त्यस्ता विकास परियोजनाहरुको नेतृत्व लिने तत्परता देखाएका छैनन् । राजनीतिज्ञहरु मन्त्री बन्न तम्सिन्छन् तर विकासे परियोजनाको नेतृत्व लिन तयार देखिँदैनन् । निजगढ विमानस्थल निर्माणको नेतृत्व गर्ने हिम्मत छ कुनै नेतामा ?

(पूर्वअर्थ सचिव खनालसँगको कुराकानीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.