शसक्त र एकतावद्ध क्यानको नाराले मेरो जित सुनिश्चित भैसक्यो

  २०७१ फागुन १४ गते १२:०८     विकासन्युज

कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान महासंघ)को प्रथम साधारण सभा फागुन १६ गते राजधानीमा सम्पन्न हुँदैछ । आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएपछि वर्तमान कार्यसमितीमा उपाध्यक्ष रहेका नारायण न्यौपाने प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
लुम्बिनीको रुपन्देही स्थायी घर भएका ३२ बर्षिय न्यौपानेले पुर्वाञ्चल विश्वविद्यालयबाट आईटीमा स्नातक गरेका छन् भने सिक्किम मणिपाल युनिभर्सिटीबाट सन २००९ मा आईटीमै स्नातकोत्तर गरेका थिए ।
उनी सुचना प्रबिधी समाजका संस्थापक अध्यक्ष हुन् भने विज्ञान मन्त्रालयको सुचना प्रबिधी बिकास समितीमा निजी क्षेत्रका तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । एच एण्ड बी डेभलपमेन्ट बैंकमा तीन बर्षसम्म आईटी प्रमुखका रुपमा काम गरेका न्यौपानेले विज्ञान मन्त्रालय पुनसंरचना सुझाव समितीमा समेत आईटी क्षेत्रको प्रतिनिधत्व गरिसकेका छन् । हलमार्क इन्फोसिसका प्रबन्ध निर्देशक रहेका न्यौपानेकै अगुवाईमा डिजिटल सिग्नेचरको कारोबार गर्ने नेपाल सर्टिफाईङ कम्पनी सुरु भएको छ । कम्पनीमा उनी प्रमुख सञ्चालक अधिकृतका रुपमा काम गरिरहेका छन् । नेपालमा सुचना प्रबिधीका क्षेत्रमा आईपर्ने जोखिम न्युनिकरणका लागि भर्खरै गठन भएको आईटीसर्ट एनपीका समेत उनी संस्थापक महासचिव हुन् ।
क्यानमा कार्यसमिती सदस्य हुँदै सचिव, महासचिव र उपाध्यक्षको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिसकेका न्यौपाने क्यान महासंघको प्रथम अध्यक्ष बन्न तम्सिएका छन् । उनै न्यौपानेसँग बिकासन्युज डटकमले गरेको कुराकानी /
तपाईको उम्मेदवारी किन ?
मैले आफ्नो उम्मेदवारी दिँदा दुई तीनवटा कुरालाई बढि जोड दिएको छु । क्यान भर्खर महासंघ बनेको छ । काम गर्ने तौरतरिका पुरानै छ । पुरानालाई सम्मान गर्दै नयाँ पुस्ताको उर्जालाई सदुपयोग गर्ने योजना बनाएको छु । नयाँ र पुराना व्यवसायीहरुको साझा सहभागीतामा नेपालमा सुचना सञ्चार प्रबिधीको बिकास गर्नका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । सूचना प्रबिधीलाई उद्योगका रुपमा बिकास गराउने योजना पनि छ । पुरानाको योगदानको उच्च कदर गर्दै नयाँ पुस्ताको उर्जालाई अधिकतम सदुपयोग मार्फत शसक्त र एकतावद्ध क्यान महासंघको निर्माणका लागि मैले उम्मेदवारी दिएको हुँ ।
क्यान महासंघका मतदाताले तपाईलाई किन अध्यक्ष बनाउने ?
मैले क्यानको कार्यसमितीको सदस्य हुँदै सचिव महासचिव र उपाध्यक्षसम्मको जिम्मेवारी कुशलता पुर्वक पुरा गरिसकेको छु । मेरो भूमिका र योगदानलाई हेरेर साथीहरुले उम्मेदवार बन्न आग्रह गरेका हुन् ।
क्यानको शाखलाई जोगाउन साथीहरुले उम्मेदवार बनन अनुरोध गरेपछि उम्मेदवार बनेको हुँ । पछिल्लो समयमा क्यानको मुल नेतृत्व प्रति सदस्यहरुको धारणा खासै राम्रो देखिन्न । क्यानलाई सुचना सञ्चार प्रबिधीमा संलग्न सदस्यहरुको साझा संस्थाका रुपमा स्थापित गराउनु छ । आईसीटीको बिकासमा क्यानको भुमिका चाहने र यसलाई उद्योगको मान्यता दिलाउन चाहनेहरुले मलाई अध्यक्ष बनाउने हो । अर्काे महत्वपुर्ण कुरा भनेको क्यानमा नेतृत्व परिवर्तनका पक्षमा पनि बुलन्द आवाज उठेको छ । आफ्नो क्षमताले भ्याए जति काम एक कार्यकालमा गर्न सकिन्छ । दोश्रो कार्यकालमा नयाँ योगदानको सम्भावना रहँदैन् । नयाँ मान्छेबाट नयाँ क्षमता र योगदानको अपेक्षा गर्ने हो । नेतृत्व जाम गराउने कुरा पनि न्याय संगत हुँदैन् ।
क्यानका मेलाहरुप्रति सर्वसाधारणहरुको आकर्षण घटेको छ, त्यसलाई कसरी बढाउनु हुन्छ ?
क्यानको मुल नेतृत्वले क्यानलाई इन्फोटेक र सफ्टेक आयोजकका रुपमा मात्रै चित्रित गर्दै आएको छ । त्यसलाई पनि सफल बनाउन सकेको छैन् । पछिल्लो समय अवलोकन कर्ताहरुको संख्या पनि घटिरहेको छ । आईसीटीलाई उद्योगका रुपमा बिकास गराउने, नीति नियमका परिमार्जन, व्यवसायीकताको बिकास, व्यवसायीक एकता, आईसीटीको बिकासमा क्यानको मुख्य भुमिका हुनुपर्छ ।
पर्यटन, कृषि, शिक्षा क्षेत्रमा पनि आईसीटीको भुमिका खोज्नु पर्छ । क्यान अहिले केहि व्यक्तिहरुको स्वेच्छाचारितामा चलेको छ । म अध्यक्ष भएँ भने सदस्यहरुकोबिचमा अपनत्व महशुस गराउने छु । क्यानलाई ब्राण्डिङ गराउने छु ।
सुदुर पुर्वदेखि सुदुर पश्चिमसम्म क्यानको विस्तार तथा आईसीटीको बिकासका योजना के के छन् ?
क्यान महासंघको गठन नै त्यसकै लागि भएको हो । क्यानका जिल्ला शाखाहरुको शसक्तिकरण मार्फत नै देशमा आईसीटीको बिकास सम्भव हुन्छ । त्यो मेरो महत्वपुर्ण प्राथमिकताको बिषय हो । त्यसैले पनि जिल्ला शाखाहरुले मलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
तपाईले जित्ने आधारहरु के के छन् ?
मसँग जिल्ला शाखाहरुको राम्रो साथ छ । क्यानका संस्थापकहरुको मलाई सहयोग छ । क्यानका संस्थापक सिएन उपाध्याय, पुर्व अध्यक्ष बिप्लवमान सिंह लगायतको सहभागीताले मेरो टिमलाई बलियो बनाएको छ । आईर्टीस नेपालका सभापति चन्द्र बिलाश भुर्तेल, टेलिकमका प्रतिनिधी पनि मेरो टिममा छन् । प्राइम कलेजका नरेश श्रेष्ठ लगायतको उम्मेदवारीले मलाई झन बलियो बनाएको छ । मुख्य कुरा एजेण्डा नै हुन् । क्यान महासंघको प्रगतिका लागि मसँग ठोस योजना छन् । त्यसकारण मेरो जित सुनिश्चित छ ।
फर्जि सदस्यताको चर्चा पनि चलेको छ नी ?
क्यानको सत्तामा बसेर शक्तिको दुरुपयोग भैरहेको छ । अन्तिम समयमा आएर अबैधानिक रुपमा सदस्यता थपिएको देखिन्छ । तर पनि मेरो जित सुनिश्चित छ । उनीहरुले भर्ति गरेका सदस्यहरुले समेत मलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आईसीटीमा लागेका मान्छेहरु प्रलोभनमा पर्दैनन् । विवेकको अधिकतम प्रयोग गर्छन् । त्यसैले पनि म अत्तालिएको छैन् । क्यान महासंघलाई एकतावद्ध बनाउन पनि नारायण न्यौपाने चाहिन्छ भन्नेमा मतदाताहरु सचेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.